अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०९-२८
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा १५ किलो ७ सय ग्राम सहित मनहरी गाउँपालिका-३ सिद्दकाली बस्ने ४० वर्षीय बाबु बल समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले नारायणगढबाट बारातर्फ जाँदै गरेको ना.५ ख ५१२९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सिराहा, लहान नगरपालिका-१ पानीटंकीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३० एम्पुल, फेनारगन ३० एम्पुल र बुप्रेनोर्फिन ३० एम्पुल सहित सोही नगरपालिका-१ बस्ने ४५ वर्षीय दयाराम ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-७ बस्ने २२ वर्षीय विवश राई र २७ वर्षीय निरज चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।