अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-१०-०९
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्राम सहित कैलाश गाउँपालिका- ४ कालिकाटार बस्ने २२ वर्षीय छेटुप थिङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले राक्सिराङ चैनपुरबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ च ००६२ नम्बरको बोलेरो गाडी तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक थिङलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर भन्सारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने २४ वर्षीय सन्दिप चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१० चुहा बस्ने ५० वर्षीया कमला रावतलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७ सय ग्राम र तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१३ अठारकठ्ठे बस्ने २५ वर्षीया लुबी कामाईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।