प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाल पुलिस क्लबको नवनिर्मित भवन उद्‍घाटन

२०८१-१०-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित नेपाल पुलिस क्लब ‘The Blue Pavilion’ भवनको शनिबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभएको छ । 

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको विकासक्रमसँग सम्बद्ध विभिन्न ऐतिहासिक तथ्य, दस्तावेज एवम् घटनाक्रमहरूको संकलन, अध्ययन एवम् विश्लेषण गरी तयार पारिएको ‘नेपाल प्रहरीको इतिहास भाग २’ पुस्तकको विमोचन गर्नुभयो । 

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि ७४ लाख रूपैयाँको चेक प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हस्तान्तरण गर्नुभयो । 

समारोहमा प्रधानमन्त्री ओलीले पुस्तक लेखनमा योगदान पुर्‍याउनुहुने प्रा.डा. द्वय शंकर थापा र धनश्याम भट्टराई तथा भवन निर्माणमा योगदान पुर्‍याउनुहुने प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरी लगायतलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।   

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवनिर्मित भवनले प्रहरीलाई शारीरिक र मानिसक हिसाबले स्वस्थ्य र सबल बनाउँदै प्रहरीले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रहरी सबल र सक्षम हुनुपर्ने बताउँदै नेपाल प्रहरीले जनताको अपेक्षा अनुरूप सेवा प्रवाह गर्नुपर्ने तथा कुनै प्रभाव, भनसुन र दबाबमा नपरी संविधान एवम् कानून बमोजिम प्रमाण र तथ्यमा आधारित भई न्यायसंगत ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । 

समारोहमा गृहमन्त्री रमेश लेखकले प्रहरी संगठन केवल कानून कार्यान्वयन गर्ने निकाय मात्र नभई मुलुकको स्थायित्व र शान्ति, सुरक्षा कायम राख्ने महत्वपूर्ण संगठन भएको चर्चा गर्दै प्रहरी कर्मचारीको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक क्रियाकलापहरू अभिवृद्धिका लागि नेपाल पुलिस क्लबले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । क्लबले प्रहरी संगठनका सदस्यहरूका लागि मात्र नभई आम नागरिकहरूलाई समेत खेलकुद र स्वास्थ्य सेवाका माध्यमबाट लाभान्वित गर्दै आएको बताउँदै नयाँ भवनबाट प्रहरी परिवार तथा सर्वसाधारणहरूलाई अझ स्तरीय सुविधा उपलब्ध हुने र प्रहरी संगठनभित्र सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास व्यक्त गर्नुभयो । 

गृहमन्त्री लेखकले लागूऔषध दुर्व्यसन, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध मुख्य चुनौतिको रूपमा देखिएको बताउँदै यसको न्यूनिकरण एवम् नियन्त्रणमा प्रहरी कर्मचारीहरू थप उर्जाशील, व्यवसायिक, मेहनती र परिश्रमी भई कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।   

सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको आन्तरिक सुरक्षा एवम् कानूनको परिपालना र शान्ति सुव्यवस्था कायम गर्ने राज्यको प्रमुख जिम्मेवारी वहन गर्ने नेपाल प्रहरी नागरिकको सुरक्षा, सेवा र भरोसाको महत्वपूर्ण केन्द्र रहेको उल्लेख गर्नुभयो । नेपाल प्रहरी संगठनले आफ्नो स्थापनाकाल देखिनै कानूनी राज्यको अवधारणालाई सर्वपरी रूपमा अंगिकार गर्दै समायानुकूल रूपमा आफूलाई परिस्कृत र परिमार्जन समेत गर्दै शान्ति सुव्यवस्था र सामाजिक सदभाव कायम राख्ने एवम् अपराध नियन्त्रण, रोकथाम तथा अनुसन्धान गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो । प्रहरीबाट प्रवाह हुने सेवाको प्रभावकारिता तथा कार्यसम्पादनको स्तरलाई प्रत्यक्ष रूपमा साधन स्रोत, सुविधा र संरचनाहरूले प्रभाव पर्ने भएकोले नेपाल प्रहरीको समग्र विकासको लागि संगठन आफैमा व्यवस्थित र पूर्वाधारले सुसज्जित हुनु अपरिहार्य रहेको र यसका लागि गृहमन्त्रालय सदैव चिन्तनशील र संवेदनशील रहेको उहाँले बताउनुभयो । 

समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरीले आफ्नो स्थापनकालदेखि नै राज्यले सुम्पेको जिम्मेवारीका साथै मुलुकको आन्तरिक सुरक्षा व्यवस्था कायम राख्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, शान्ति सुव्यवस्था कायम राखी सामाजिक सद्भाव र एकता कायम राख्दै अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने महत्वपूर्ण जिम्मेवारी निष्ठापूर्वक वहन गर्दै आएको उल्लेख गर्नुभयो । हालको विश्वव्यापी परिवेश, प्रविधिको उच्चतम विकास र प्रयोगसँगै हुने गरेको दुरूपयोग, बहिर्क्षेत्रीय सुरक्षा चुनौतिहरू साम्प्रदायिक अतिवाद लगायतका गतिविधिहरूलाई सम्बोधन गर्न नेपाल प्रहरी दृढतापूर्वक कटिवद्ध रहेको उहाँले बताउनुभयो । साथै नवनिर्मित भवनले अत्यन्त चुनौतिपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने प्रहरी कर्मचारीहरूलाई शारीरिक तन्दुरूस्ती एवम् मानसिक स्वास्थ्य कायम राख्न सहयोग पुग्ने समेत उहाँले बताउनुभयो । 

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल ७५ करोड ८७ लाख २९ हजार ८ सय ३० रूपैयाँ ४५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । 

समारोहमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक/ विकास सल्लाहकार युवराज खतिवडा, प्रतिनिधि सभा सदस्य तथा नेपाल सरकारका पूर्व मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधान, नेपाल सरकारका सचिवहरू, नायव महान्यायाधिवक्ता, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौं महानगरपालिकाका उपप्रमुख, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहसचिवहरू, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिश, जिल्ला न्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
११ बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ सम्पन्न
२०८२-०२-३१

काठमाडौं, अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको शुक्रबारदेखि काठमाडौंमा सुरू भएको दुई दिवसीय तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ शनिबार ११ बुँदे घोषणापत्र जारी गरी समाप्त भएको छ ।सम्मेलन समापनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले सम्मेलनले फौजदारी न्यायको विषयमा सहभागीहरूबीच सार्थक र साझा निष्कर्षमा पुग्न सहयोग गर्नुका साथै आगामी दिनहरूका लागि महत्वपूर्ण प्रतिबद्धता सहित मार्गनिर्देशन गर्न सफल भएको बताउनुभयो । समय र प्रविधिको विकाससँगै नयाँ-नयाँ चुनौति र फरक शैलीका अपराधहरू वृद्धि भइरहेको सन्दर्भमा त्यसलाई सामना गर्न नयाँ पद्दतिको अवलम्बन गरी बयानमूखी अनुसन्धान भन्दा वैज्ञानिक अनुसन्धान तथा अभियोजनमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री लेखकले प्रहरीको अनुसन्धान क्षेत्रको व्यापकता बढ्दै गएको तथा सीमित स्रोत र साधनबीच निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरी सेवालाई वर्गीकृत र विशिष्टिकृत गरी विशेष खालका तालिम, ज्ञान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका उदाहरणहरूको अवलम्बन गरी विज्ञ अनुसन्धानकर्ता तयार गर्नुपर्ने जरूरी रहेको बताउनुभयो ।   समारोहमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले कार्यसम्पादनका क्रममा आइपरेका समस्याहरूलाई सम्बोधन गर्न र भावी कार्यदिशा कोर्न तथा फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउन सम्मेलन सफल भएको विचार व्यक्त गर्नुभयो । सो अवसरमा महान्यायाधिवक्ता रमेश बडालले फौजदारी न्याय प्रणालीको क्षेत्रमा भइरहेका अभ्यासहरूलाई समायानुकुल परिवर्तन गर्न सम्मेलन प्रभावकारी भएको बताउनुभयो । विधिविज्ञान प्रयोगशालाबाट हुने परीक्षणमा सुधार, विकास र विस्तार गर्नुपर्ने जोड दिँदै उहाँले थप लगानी आवश्यक रहेको बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै अपराध अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग, नयाँ कानूनी व्यवस्था र अभ्यासका बारेमा अनुसन्धानकर्ता, अभियोजनकर्ता र सम्बन्धित विज्ञ तथा विशेषज्ञहरूबीच गहन अन्तर्क्रिया, ज्ञान र अनुभव आदानप्रदानका विषयमा सम्मेलन प्रभावकारी भएको बताउनुभयो । सम्मेलनमा भएका गहन छलफल र विषयगत मन्थन पश्चात पारित घोषणापत्रले आगामी दिनमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको लागि थप पेशागत मार्ग प्रशस्त हुनुका साथै फौजदारी न्याय प्रणाली अझ सुदृढ हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गर्दै समस्याहरूको पहिचान गर्न, सुधारका क्षेत्रहरू पहिल्याउन, एकआपसमा समन्वय र सहकार्यको संस्कृतीको निर्माण हुनुका साथै   अनुसन्धान र अभियोजनमा देखिएका समस्या र चुनौतिहरू सम्बोधन गर्न सम्मेलन कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।   नेपाल बार एशोसियसनका महासचिव केदार प्रसाद कोइरालाले सम्मेलनको महत्व र प्रभावकारिताबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल र प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले सम्मेलनमा पारित घोषणापत्रको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा सम्मेलनमा भएका छलफलका विषयको महत्व र प्रभावकारिताबारे सहभागी अभियोजनकर्ता सरकारी वकीलकोतर्फबाट उपन्यायाधिवक्ता मुना पौडेल र अनुसन्धानकर्ता प्रहरीकोतर्फबाट प्रहरी नायव उपरीक्षक हिमा थोकरले मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन पीडितको सम्मान’, भन्ने अवधारणा सहित २ दिनसम्म संचालन भएको उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू, अभियोजनकर्ता सरकारी वकीलहरू, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, मुद्दा चल्ने इकाईका प्रमुखहरू तथा सरकारी वकीलहरूको भर्चुअल सहभागिता रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन शुभारम्भ
२०८२-०२-३०

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित विशेष समारोहबीच अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ को शुभारम्भ भएको छ । सो अवसरमा प्रमुख अतिथि ज्यूले सम्मेलन विशेषाङ्कको विमोचन समेत गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धानको क्षेत्रलाई प्रविधिको प्रयोग सहित प्रभावकारी बनाई अभियोजनलाई प्रमाणका आधारमा अकाट्य ढंगले प्रस्तुत गरी अपराधीलाई कानुन बमोजिम कारवाही र पीडितलाई न्याय दिलाउन तथा सुशासन र सुव्यवस्था प्रभावकारी बनाउन यो सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले विभिन्न प्रविधिको प्रयोगबाट सिर्जित अपराधहरू चुनौतिको रूपमा देखिएको उल्लेख गर्दै  प्रहरीलाई यस्ता समस्याहरूसँग जुध्न आधुनिक प्रविधि जडित उपकरण उपलब्ध गराउन, स्रोत साधन सम्पन्न गराउन, उचित तालिमको व्यवस्था गरी क्षमतावान बनाउन र समयानुकुल पारिश्रमिकको व्यवस्था गरी प्रहरी सेवालाई निष्पक्ष बनाउन सरकार गम्भीर रहेको बताउनुभयो ।समारोहमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान र अभियोजन फौजदारी न्याय प्रणालीको महत्वपूर्ण आयाम रहेको चर्चा गर्दै व्यवहारिक र कानूनी जटिलताहरूलाई सम्बोधन गर्न यस सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । लोककल्याणकारी राज्यको पूर्वसर्त भनेको न्याय रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले फौजदारी न्यायको केन्द्रमा पीडित रहने हुँदा पीडितलाई न्यायको अनुभूति गराउन थप क्रियाशील भई अगाडि बढ्नुपर्ने बताउनुभयो । अपराधमा विज्ञान तथा प्रविधिको प्रयोग बढिरहेको उल्लेख गर्दै प्रविधिको सहि प्रयोग गरी प्रमाणमुखि अनुसन्धान एवम् अभियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले फौजदारी न्यायप्रणालीको सान्दर्भिकता र प्रभावकारीताका सन्दर्भमा नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयबीचको गहन तथा रचनात्मक सहकार्यले मात्र न्यायको प्रत्याभूति र कानुनी शासनको प्रत्याभूति हुने उल्लेख गर्नुभयो । साथै यस सम्मेलनबाट प्राप्त हुने निष्कर्षले आगामी दिनहरूमा अनुसन्धानकर्ता र अभियोजनकर्ताहरूका लागि थप पेशागत दक्षता अभिवृद्धि गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । महान्यायाधिवक्ता रमेश बडालले धन्यवाद तथा समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्र राज ढकाल, नेपाल बार एशोसियसनका अध्यक्ष प्रा.डा विजय मिश्रले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अनुसन्धानकर्ता र अभियोजनकर्ताहरू एकै स्थानमा जम्मा भई अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्न तथा नयाँ कानुनहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्नका लागि महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयद्वारा संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिताको संशोधन सम्बन्धी प्रस्तावित विधयेक तथा यसको सान्दर्भिकता, सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको वर्तमान अवस्था तथा सुधारका क्षेत्रहरू, नेपालमा साइबर अपराध, अनलाइन स्क्यामिङ लगायतका अपराधको प्रवृत्ति तथा देखिएका चुनौतिहरू, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान, अपराध अनुसन्धानमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, सरकारीवादी फौजदारी मुद्दामा न्यायिक दृष्टिकोण एवम् सुधारका क्षेत्र लगायतका विविध विषयमा सम्मेलनमा विस्तृत छलफल हुनेछ ।‘प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन पीडितको सम्मान, भन्ने अवधारणा सहित २ दिनसम्म संचालन हुने उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू, अभियोजनकर्ता सरकारी वकिलहरू, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, मुद्दा चल्ने इकाईका प्रमुखहरू तथा सरकारी वकीलहरूको भर्चुअल सहभागिता रहेको छ ।

गृहमन्त्री रमेश लेखकद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०२-२१

काठमाडौं, गृहमन्त्री रमेश लेखकले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team र विशिष्टिकृत उद्दारकर्ता समूहको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले नेपालको भूगोल अत्यन्त जोखिमपूर्ण रहेको र हरहमेसा विपद्को सम्भावना रहेको हुँदा नेपाल प्रहरी जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्‍ने, अपराधको नियन्त्रण तथा अनुसन्धानका साथै विपद् व्यवस्थापन पनि प्रहरीको महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्दै विपद्को समयमा कुनै पनि गुनासो नआउने गरी नागरिकको उद्दारमा अत्यन्त क्रियाशीलताका साथ खटिन उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले नेपाल प्रहरी विपद्को समयमा पहिलो पंक्तिमा रहेर उद्दारमा खटिने उल्लेख गर्दै विपद्‍मा आम नागरिकको उद्दार तथा राहतका लागि स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर नागरिकको विश्वास जित्ने गरी उच्च मनोबलका साथ खटिनुपर्ने बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले विपद्का सम्भावित चुनौतिहरूको सामना गर्न नेपाल प्रहरी चौकी स्तरसम्म अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा तत्काल परिचालन हुन सक्ने अवस्थामा रहेको बताउनुभयो । विपद्का घटनामा उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षक एवम् वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

विपद् व्यवस्थापनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने - गृहमन्त्री रमेश लेखक
२०८२-०२-२०

काठमाडौं, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले सूचना संकलन एवम् पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्व तयारीको निरीक्षण र निर्देशन सम्बोधन कार्यक्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा उहाँले विपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन एवम् विपद् उद्दार सामाग्रीहरूको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताउनुभयो । विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्ने गरी उत्कृष्ट कार्य गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्वपूर्ण हुने चर्चा गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । आम नागरिकले संकटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो । विगतका अनुभवहरूलाई विश्लेषण गरी विपद् व्यवस्थापनमा थप प्रभावकारी रूपमा परिचालित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्न, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले आफ्नो क्षमता र उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गरी कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएको बताउनुभयो । सबै किसिमका आपतकालिन घटनामा अग्रपंक्तिमा रहेर प्रहरीले बहुआयामिक भूमिका निर्वाह गर्दै आएको र निरन्तर गरिरहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले विपद् व्यवस्थापनमा परिकल्पना भन्दा बाहिरका परिस्थिति र सुरक्षा चुनौति देखा पर्न सक्ने हुनाले पूर्व तयारीलाई पहिलो प्राथमिकतामा राखेर विपद्का सम्भावित चुनौतिहरूको पूर्व आकलन र ती चुनौतिहरूको सामना गर्न उपलब्ध जनशक्ति र स्रोतसाधनलाई तयारी हालतमा राखिएको बताउनुभयो । साथै विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरी उच्च मनोबलका साथ तयारी हालतमा रहन प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले विपद् व्यवस्थापन पूर्व तयारी सम्बन्धी आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा निमित्त सशस्त्र प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरू एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०२-०९

धनुषा, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रमबीच मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ धनुषामा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालय र गृह, संचार तथा कानून मन्त्रालय मधेश प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लेखकले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवम् चुनौतिलाई समाधान गर्न यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने उल्लेख गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन सबै सुरक्षा निकायहरूले विशेष ध्यान दिई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरूलाई नियन्त्रण गर्न सबै सरोकारवाला निकायहरू सक्रिय भएर अगाडि बढ्नुपर्ने बताउँदै सीमा क्षेत्रमा हुने चोरी निकासी पैठारी एवम् सीमावर्ती अपराधहरू नियन्त्रणमा थप सचेत भई काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताउँदै विपद्‍ व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्री राज कुमार लेखी, मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले खुला सीमाना भएको यस प्रदेशमा सीमा अपराध, तस्करी, लागूऔषध दुर्व्यसन तथा ओसारपसार, सवारी दुर्घटना र साईबर अपराध मुख्य चुनौतिको रूपमा रहेको उल्लेख गर्दै उपलब्ध स्रोत साधन, जनशक्ति तथा प्रविधिको अधिकतम प्रयोग गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न, अपराध नियन्त्रण एवम् अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न आवश्यक रणनीति तयार गरी सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय एवम् सहकार्य गरी अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी नागरिक केन्द्रित सेवा प्रवाहमा थप सक्रिय भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्रालयका सचिव विमल प्रसाद बराल लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेश प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०१-३०

मोरङ, ३१ वैशाख गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रम बीच कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लेखकले जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवम् चुनौतिलाई समाधान गर्न यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने उल्लेख गर्दै सुरक्षा व्यवस्था तथा आर्थिक अवस्था मजबुद बनाउन भन्सार चोरी निकासी, कालोबजारी, गुण्डागर्दी, भ्रष्टाचार, लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरूलाई नियन्त्रण तथा निरूत्साहित गर्न सबै सरोकारवाला निकायहरू एकजुट भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । संविधानको विरूद्धमा हुने कुनै पनि गतिविधि मान्य नहुने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताउँदै विपद्‍ व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी र कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुद बनाई व्यावसायिक तथा सक्षम प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले विधिको शासनलाई अझ सशक्त बनाउन, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउन, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्‍चित गर्न एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव रामचन्द्र तिवारी, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राम प्रसाद आचार्य लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको   थियो । गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।