अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-११-०३
- A
- A-
- A+
सुनसरी, इनरूवा नगरपालिका-१ स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ३३ वर्षीय कपिल मेहता र २८ वर्षीय पंकज कुमार पासवान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले बिआर ३८ एके ०२११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, गौरीगंगा नगरपालिका-८ चमारीपुर बस्ने ५३ वर्षीया बेलमती देवी बोहरालाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ६ सय ६५ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले बेलमतीको गौरीगंगा नगरपालिका-८ बढैपुरस्थित नास्ता पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ आदर्शनगर बस्ने गैडहवा गाउँपालिका-६ घर भएका २५ वर्षीय जीवन मल्लाहलाई अवैध लागूऔषध गाँजा १० किलोग्राम, चरेश जस्तो देखिने पदार्थ ७९ ग्राम र पोल्याण्ड जस्तो देखिने पदार्थ ८४ ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा तिलोत्तमा नगरपालिका-१५ कोटीहवा डेरा गरी बस्ने स्याङ्जा गल्याङ नगरपालिका-१ घर भएका ३८ वर्षीय जीवनाथ पाण्डे र रूपन्देही तिलोत्तमा नगरपालिका-१४ घर भएका २३ वर्षीय दिलिप केवट समेतको कोठाबाट लागूऔषध गाँजा ११ किलोग्राम फेला पारी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णाली पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ बस्ने २० वर्षीय करन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, राप्ती गाउँपालिका-४ सुन्दरपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ६ सय ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय श्याम चौधरी र गढवा गाउँपालिका-३ बस्ने ५३ वर्षीय बसन्त योगी रहेका छन् । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले लु.१४ प ४४६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।