प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अभौतिक मुद्रा प्रयोग तथा जुवा वा सट्टावाजी गर्न नहुने कसुरमा संलग्न पाँच जना पक्राउ

२०८१-११-२६

  • A
  • A-
  • A+
Share

कास्की, अभौतिक मुद्रा प्रयोग तथा जुवा वा सट्टावाजी गर्न नहुने कसुरमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ बस्ने पर्वत जलजला गाउँपालिका-३ घर भएका ३१ वर्षीय रूपेन्द्र जिसी, म्याग्दी बेनी नगरपालिका-५ घर भएका ३३ वर्षीय बिक्रम बानियाँ, बेनी नगरपालिका-२ घर भएका २२ वर्षीय सज्जन घिमिरे, म्याग्दी रघुगंगा गाउँपालिका-२ घर भएका १९ वर्षीय रोजन केसी र २८ वर्षीय सन्दिप कटुवाल रहेका छन् । 

पोखरा महानगरपालिका-१४ अनुपम टोलस्थित घरमा शंकास्पद गतिविधी भइरहेको भन्ने सूचानाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई मोबाइल ३१ थान, कम्प्युटर मनिटर २ थान, सिपियु ३ थान, ल्याप्टप ४ थान, आई प्याड १ थान, किवोर्ड २ थान, माउस १ थान, राउटर ४ थान, पेनड्राईभ ३ थान, हार्डडिक्स १ थान, चार्जर ११ थान र नगद ७२ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको हो । साथै उनीहरूले हालसम्म ३० करोड रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

उनीहरू उपर अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टावाजी गर्न नहुने कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने काठमाडौं महानगरपालिका-२७ घर भएका ५१ वर्षीय मनोज कुमार सिंह भन्ने अनुप कुमार सिंह र भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखा मेलुङ गाउँपालिका-७ घर भएका ५१ वर्षीय नर बहादुर श्रेष्ठ भन्ने लड्डु बहादुर श्रेष्ठ रहेका छन् । उनीहरूले युके पठाइदिन्छु भन्दै ४८ जना पीडितहरूबाट ४ करोड ३९ लाख ५१ हजार ५ सय ५८ रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा मेचीनगर नगरपालिका-१० धुलाबारीबाट पक्राउ गरेको   हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्ष पछि पक्राउ
२०८२-०८-२७

पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका-२ बस्ने ५४ वर्षीय बिनोद पटेल भन्ने बिनोद प्रसाद कुर्मीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साविक लिपनी विर्ता गाविस-८ पटेलनगर बस्ने २३ वर्षीय सुरेश भन्ने राम प्रसाद पटेलको २०६३ असोज ५ गते हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-२१ बाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्यामा संलग्न दुई जना पक्राउ
२०८२-०८-२७

          कास्की, पोखरा महागनरपालिका-१० रामघाट बस्ने सोही महानगरपालिका-१६ घर भएका ६० वर्षीय रमेश सुनारको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-११ फूलबारी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ घर भएका ३२ वर्षीय हरिराम बुर्लाकोटी र पोखरा महानगरपालिका-१० बस्ने पाल्पा रामपुर नगरपालिका-४ घर भएका ३८ वर्षीय कृष्ण बहादुर थापा भन्ने कृष्ण बहादुर भुजेल रहेका छन् ।  पोखरा महानगरपालिका-१२ स्थित ढिकालेथर शिव मन्दिर नजिकै रमेशको शव बिहीबार बिहान फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये कृष्ण बहादुरलाई पोखरा महानगरपालिका-१० बाट बिहीबार र हरिरामलाई सोही महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो ।   उनीहरू उपर जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।