अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८१-१२-०७
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा औरही गाउँपालिका-२ बस्ने २३ वर्षीय सितेस कुमार महतो र २० वर्षीय बिष्णु कुमार कामत रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५०८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१२ कालिझोडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम, नगद ३ हजार २ सय ६० रूपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय संजय ठटाल, अर्जुनधारा नगरपालिका-१० बस्ने २८ वर्षीय सनम भन्ने साईमन लिम्बु र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले संजयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-१० चौराहाबाट नियन्त्रित लागूऔषध फेनारगन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल र नोर्फिन ५० एम्पुल सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ बेलबास बस्ने २३ वर्षीय सुदिप गुरूङ र २७ वर्षीय किशोर गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, कैलारी गाउँपालिका-४ भितरिया बस्ने २४ वर्षीय अर्जुन परियारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।