अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८१-१२-१६
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय कुमार दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, देवदह नगरपालिका-२ ढेकावर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ८ मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी दशरथचन्द नगरपालिका-१० घर भई रूपन्देही बुटवल उपमहानगपालिका-१० कालिकानगर बस्ने २८ वर्षीय किरण बिष्ट र सोही उपमहानगरपालिका-९ ईट्टाभट्टी बस्ने २६ वर्षीय गुरू प्रसाद घिमिरे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय रूपन्देही र अस्थायी प्रहरी चौकी ढेकावरबाट खटिएको प्रहरीले नवलपरासी पश्चिमबाट ढेकावरतर्फ आउँदै गरेको लु.४७ प २९६४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ४ हजार ४ सय ५३ ट्याब्लेट सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-५ डेरा गरी बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका ४८ वर्षीय कृष्ण शर्मा, पोखरा महानगरपालिका-१ सिमपानी बस्ने तनुहँ शुक्ला गण्डकी नगरपालिका-१० घर भएकी ५३ वर्षीया सुनी माया थापा मगर, २३ वर्षीय सुसला परियार र १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले कृष्णलाई ३ हजार २ सय ट्याब्लेट, सुनी मायालाई १ हजार २ सय ट्याब्लेट तथा सुसला र १८ वर्षीय किशोरलाई ५३ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१० पितौजी बस्ने ३० वर्षीया बिनिता रोक्का मगरलाई नियन्त्रित लागूऔषध आईपिपिएल १२ एम्पुल, डाइजेपाम १२ एम्पुल, फेनारगन १२ एम्पुल, सिरिन्ज ६ थान र नगद ३ हजार ६ सय ४० रूपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट वेल्डिहाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।