प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामाजिक संजालको प्रयोग गरी फिरौती रकम माग गर्ने व्यक्ति पक्राउ

२०८१-१२-२०

  • A
  • A-
  • A+
Share

बाँके, सामाजिक संजाल ह्वाट्स एपको प्रयोग गरी ५ करोड भारतीय रूपैयाँ फिरौती रकम माग गरेको अभियोगमा कोहलपुर नगरपालिका-५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका-७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । 

राम बहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफु लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी उक्त रकम माग गरेको र उक्त रकम नदिएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।       

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८१-१२-२८

काठमाडौं, सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।सामाजिक सञ्जाल मार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि प्रेमीको साथीले दुरूपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी मानसिक तनाव दिई हैरानी दिने तथा अमर्यादित कार्य गर्ने गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न अधिकारीलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२७

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी गोरखा, गोरखा नगरपालिका-११ घर भएका २१ वर्षीय निरज ढकाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र नगद २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा, गोरखा नगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२६

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्सा विन्दवासिनी गाउँपालिका-२ घर भएका ६२ वर्षीय लोकनाथ साह तेलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले उक्त मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पर्सा वीरगंजबाट पक्राउ गरेको हो । लोकनाथले पर्सा साविक बहुअर्वाभाठा गाबिस-५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्ने भनि बोलाई २०६४ वैशाख २५ गते गोली प्रहार गरी हत्या गरी फरार भएको घटनामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो । साथै उनी भारत चम्पारण पिपरियास्थित रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेष धारण गरी लुकिछिपी बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२६

काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भएका ४३ वर्षीय राम कुमार चौलागाईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौलागाईले पीडितलाई अरूको प्लटिङ गरेको जग्गा देखाई विभिन्न प्रलोभनमा पारी नगद ४५ लाख ५० हजार रूपैयाँ लिई वैना कागज गरेकोमा उक्त जग्गा मालपोत कार्यालयको अभिलेखमा समेत दर्ता नदेखिएकोले जिल्ला अदालत काठमाडौंबाट चैत २१ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट पक्राउ गरेको हो । साथै उनी विरूद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयहरूमा ठगी तथा बैंकिङ कसूर सम्बन्धी मुद्दाहरू दर्ता भई फरार रहेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।