प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८१-१२-२२

  • A
  • A-
  • A+
Share

बाँके, कोहलपुर नगरपालिका-७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या गरेको अभियोगमा सोही नगरपालिका-७ सल्यानी टोल बस्ने २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

राजु समेत ५/६ जनाको समुहले कुटपिट गर्दा गम्भीर घाइते भएका दुर्गाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राजुलाई पक्राउ गरेको हो ।

प्रहरीले कुटपिटमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
युके र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-१२-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२९ बस्ने इलाम चुलाचुली गाउँपालिका-३ घर भएका ३५ वर्षीय ख्याम खड्का र काठमाडौं महानगरपालिका-३० बस्ने मोरङ ग्रामथान गाउँपालिका-६ घर भएका २३ वर्षीय इश्वर पोखरेल रहेका छन् । पक्राउ मध्ये ख्यामले युके पठाइदिछु भन्दै २ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ र इश्वरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ५१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ख्यामलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ बाट शनिबार र इश्वरलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये ख्यामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र इश्वरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
२०८१-१२-३०

काठमाडौं, विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी गोरखा, गोरखा नगरपालिका-६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु परियार शनिबार पक्राउ परेकी छिन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले मलेसियाबाट नेपाल आउने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।  विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० फागुन ७ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।  उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८१-१२-२८

काठमाडौं, सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।सामाजिक सञ्जाल मार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि प्रेमीको साथीले दुरूपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी मानसिक तनाव दिई हैरानी दिने तथा अमर्यादित कार्य गर्ने गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न अधिकारीलाई पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-१२-२७

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी गोरखा, गोरखा नगरपालिका-११ घर भएका २१ वर्षीय निरज ढकाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र नगद २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा, गोरखा नगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।