औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-१२-२३
- A
- A-
- A+
काठमाडौं, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा संचालित “लागूऔषध विरूद्धको महाअभियान” अन्तर्गत नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशको सहकार्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ बीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले लागूऔषध रोकथाम तथा नियन्त्रण गर्नको लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा अन्य सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । लागूऔषध दुर्व्यसनको निराकरणको अभियान प्रहरीको एकल प्रयासले मात्र सम्भवन नहुने उल्लेख गर्दै यसका लागि सबै सरोकारवाला पक्ष तथा तहको संयुक्त प्रयास जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, बागमती प्रदेश नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ र ह्रदय रोग विशेषज्ञ डा.ओम मूर्ती अनिलले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गिकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान, औषधि व्यवसायीहरूको भूमिका र जिम्मेवारी लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रतिनिधि, नेपाल औषधि व्यवसायी संघ काठमाडौं, भक्तपुर र ललितपुरका अध्यक्ष तथा प्रतिनिधिहरू, औषधि व्यावसायीहरू, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।