अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०१-०४
- A
- A-
- A+
बाँके, कोहलपुर नगरपालिका-५ शान्तिनगरस्थित खाली घरबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ करिब १ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका-५ चिसापानी बस्ने २८ वर्षीया दिपिका पुन मगर र बाँके कोहलपुर नगरपालिका-५ बस्ने १९ वर्षीय अनुस परियार रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-८ नयाँबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सागर विक, २० वर्षीय रंजित बस्नेत र २० वर्षीय कृष्ण चदारा रहेका छन् । अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा कृष्ण चदाराको घरमा समेत लागूऔषध रहेको भन्ने खुल्न आएपश्चात कृष्णको घरबाट लुकाई छिपाई राखेको अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ ।
लमजुङ, बेसीशहर नगरपालिका-८ सेराकोबाट नियन्त्रित लागूऔषध फेनारागन ६ एम्पुल, डाईजेपाम ६ एम्पुल र ट्रामाडोल ६ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्स्याङदी गाउँपालिका-८ बस्ने २४ वर्षीय दिपक गुरूङ र १९ वर्षीय बिजय रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-१ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ५० ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भँगाहा नगरपालिका-७ बस्ने ३० वर्षीय पप्पु कुमार गिरी र १९ वर्षीय सुजित गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज.८प ३४०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल ६ एम्पुल, डाईजेपाम ६ एम्पुल, लुपिजेसिक ५ एम्पुल र फेनारगन ५ एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय पासाङ शेर्पा र २५ वर्षीय रबिन्द्र लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२ ०४७ प ७००५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम ४ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २२ वर्षीय जिवस तामाङ र ३८ वर्षीय भिम कुमार तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, हरिनगर गाउँपालिका-४ स्थित बजारबाट अवैध लागूऔषध गाँजा करिब ३५ किलोग्राम सहित बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टी बस्ने सप्तरी घर भएका २४ वर्षीय राजेश मुखियालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।