करिब ३ सय ६५ किलोग्राम गाँजा सहित चार जना पक्राउ
२०८२-०१-०५
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनीबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५ किलोग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजन लामा, हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन र कैलाश गाउँपालिका-१० बस्ने २७ वर्षीय जिवन ठोकर रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख २५०४ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा १९ वटा पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजन, ट्रकमा सवार ईश्वर र ओसार पसारमा संलग्न जिवनलाई ना. ३३ प ७४६९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
यसैगरी बारा, पचरौता नगरपालिका-१ मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम सहित भारत बिहार प्रान्त मोतिहारी पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।