गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०१-०५
- A
- A-
- A+

कास्की, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रम बीच गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।
उक्त अवसरमा गृहमन्त्री लेखकले वर्तमान संविधान ठूलो संघर्षबाट प्राप्त भएको तथा यसको रक्षाका लागि प्रत्येक निकायहरू सदैव तयार हुनुपर्ने उल्लेख गर्दै संविधान विरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताउनुभयो ।
गृहमन्त्री लेखकले लागूऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध र प्राकृतिक विपद् चुनौतिका रूपमा देखा परेको उल्लेख गर्दै त्यस्ता चुनौतिको समाधान गर्ने तर्फ सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । प्रभावकारी सेवा प्रवाह अपरिहार्य भएको बताउँदै उहाँले संघ, प्रदेश र स्थानीय तह बीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउन थप क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम बिष्टले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले न्यूनतम जनशक्ति एवम् साधनस्रोतका वावजुद प्रहरीले उच्च कार्यसम्पादन गरिरहेको बताउनुभयो । सुरक्षा र विकास योजना सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको पहिल्याउँदै बदलिँदो समयमा हुने गरेका प्रविधियुक्त अपराधको अनुसन्धान गर्न प्रहरीमा पनि समयानुकुल प्रविधिको विकास, स्रोतसाधन र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव रामचन्द्र तिवारी लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।