प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिला पक्राउ

२०८२-०१-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा दैलेख घर भई ललितपुर महानगरपालिका-२५ बस्ने ४० वर्षीया जानकी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । 

जानकीले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई आफू कानून मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईलाई विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाई दिन्छु सो प्रयोजनको लागि राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी ७ लाख ६० हजार ८ सय रूपैयाँ लिएको र अन्य २ जना पीडितहरूलाई अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी केही रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

सम्बन्धित समाचार
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
२०८२-०१-२९

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने खोटाङ बराहपोखरी गाउँपालिका-२ घर भएका २३ वर्षीय बिजय कुमार राई र रामेछाप मन्थली नगरपालिका-६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन् ।  काठमाडौं महानगरपालिका-२२ न्यूरोड एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई हुण्डी कारोबारको लागि बोकेको ४२ लाख १० हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ
२०८२-०१-२९

काठमाडौं, गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-३ घर भएका ५० वर्षीय राज कुमार श्रेष्ठलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली गलौच, डरत्रास तथा धाक धम्की दिई दैनिक काम काजमा समेत बाधा अवरोध गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ तीनदोबाटोबाट पक्राउ गरेको हो ।  उनलाई राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

डाँका चोरीमा संलग्न आठ जना पक्राउ
२०८२-०१-२९

काठमाडौं, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-२ घर भएका २४ वर्षीय अनिष केसी, सोही नगरपालिका-११ हर्कपुर घर भएका २५ वर्षीय दिप्सन भन्ने विवेक मल्ल ठकुरी, देवचुली नगरपालिका-१६ घर भएका २३ वर्षीय सन्दिप परियार, चितवन भरतपुर महानगरपालिका-१८ घर भएका २५ वर्षीय अतित क्षेत्री, सोही महानगरपालिका-११ घर भएका २४ वर्षीय सन्दिप विक, सोही महानगरपालिका-१० घर भएका २२ वर्षीय बादल तामाङ, काठमाडौं टोखा बस्ने लमजुङ घर भएकी १९ वर्षीया सक्रिया खान र काठमाडौं कपन बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएकी २४ वर्षीया कबिता राई रहेका छन् ।  काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित होटल मेन्सको कोठा नम्बर ४०२ मा प्रवेश गरी आफू प्रहरी हुँ भनि पीडितहरूलाई डरत्रास देखाई बोले कराएमा मारी दिने तथा विभिन्न मुद्दामा समेत फसाई दिने जस्ता धाक धम्की दिई बैंक खाता र ईसेवामा रकम पठाउन लगाई तथा नगदै रकम ३ लाख ६३ हजार रूपैयाँ समेत डाँका चोरी गरेको भन्ने सूचनाको आधारमा  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५२ हजार रूपैयाँ र उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०२-०५३ प ९८७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न महिला पक्राउ
२०८२-०१-२९

पर्सा, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-१६ नगवा घर भएकी २० वर्षीया आलिया खातुनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  आलियाले विभिन्न प्रलोभनमा देखाई भारत विहार रक्सौलस्थित होटलमा यौन क्रियाकलापमा लगाएको भन्ने पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-५ घर भएकी ३३ वर्षीया दिपा कुमारी पोख्रेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । दिपाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका-५ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।