प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघबीच समझदारीपत्रमा हस्ताक्षर

२०८२-०१-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरी अस्पताल महाराजगंज र नेपाल नेत्रज्योति संघबीच आँखा उपचार सेवा प्रवाह, क्षमता अभिवृद्धि र जनशक्ति आदानप्रदानलाई सहज तथा प्रभावकारी बनाउन आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्यौजु र नेपाल नेत्रज्योति संघको तर्फबाट संघका महासचिव भरतबहादुर चन्दले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. ह्यौजु र संघका महासचिव चन्दले उक्त समझदारीपत्र आदानप्रदान समेत गर्नुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई यस समझदारीले थप हौसला मिल्ने उल्लेख गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति संघबीच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

सो अवसरमा नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले जनताको सेवामा खटिने प्रहरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको चर्चा गर्दै आगामी दिनमा समेत सेवा विस्तारको लागि संघ सदैव तयार रहेको बताउनुभयो ।

उक्त सम्झौता अनुसार नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघको सहकार्य र समन्वय मार्फत आँखा तथा कान उपचार सेवालाई सहज तथा प्रभावकारी बनाउने, गुणस्तरीय आँखा उपचार सेवा प्रवाह सुधार गर्न ‍जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू संचालन गर्ने, आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने, नेपाल नेत्रज्योति संघले नेपाल प्रहरी अस्तालबाट रिफर/सिफारिस भई आएका बहालवाला प्रहरी कर्मचारीहरूलाई आँखा सम्बन्धी सबै उपचार/शल्याक्रियाहरूमा शतप्रतिशत छुट प्रदान गरिने उल्लेख गरिएको छ । यस सम्झौता २०८२ वैशाख ९ गतेदेखि कार्यान्वयन भई ३ वर्ष अवधिको लागि लागू हुनेछ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत नेपाल नेत्रज्योति संघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने-प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०१-२३

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ ।  हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्र जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षकहरूलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी प्राप्त जिम्मेवारीलाई नविन ढंगले सम्पादन गर्न उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न उहाँले निर्देशन दिनुभयो । साथै आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बानई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक थापाले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखि जनपक्षीय काम गर्न उहाँले आग्रह समेत गर्नुभयो ।  आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।यसअघि नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्य, प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णहरि शर्मा पोखरेल, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवम् निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा Police Leadership and Staff Course समुद्‍घाटन
२०८२-०१-२१

काठमाडौं, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित समारोह बीच Masters of Police Sciences (MPS) कार्यक्रम समावेश भएको Police Leadership and Staff Course (PLSC Batch 01) को समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त Police Leadership and Staff Course को समुद्‍घाटन गर्नुभएको हो ।  समारोहमा गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको एवम् राष्ट्रको सेवामा समर्पित नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकामा आधुनिकीकरणको शुभारम्भ भएको उल्लेख गर्दै आजको क्षण प्रहरी संगठनको लागि एउटा ऐतिहासिक उपलब्धी भएको चर्चा गर्नुभयो । यस क्षणलाई मूर्त रूप दिन आ-आफ्नो ठाउँबाट योगदान पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूलाई बधाई व्यक्त गर्नुका साथै आगामी दिनका लागि शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो ।  गृहमन्त्री लेखकले नेतृत्व विकासका लागि क्षमता, सीप, व्यावसायिकता, इमानदारीता र प्रतिवद्धता आवश्यक रहेको चर्चा गर्दै अहिलेको विश्वव्यापीकरण र सामाजिक रूपान्तरणले विभिन्न चुनौति, जोखिम र खतराहरू थपिरहेको अवस्थामा परम्परागत पद्धतिले भन्दा पनि यस कोर्सले ती चुनौतिहरूको पहिचान गरी समाधान गर्न सक्षम हुने र प्रहरी संगठनलाई थप मजबुद बनाउन फलदायी हुने बताउनुभयो ।    कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले भावी नेतृत्व विकासमा महत्वपूर्ण कदम चालेको उल्लेख गर्दै यस कोर्स मार्फत समाजमा देखा परेका आधुनिक चुनौतिहरूको सामना गर्न दक्ष एवम् क्षमतावान् प्रहरी अधिकृतहरू तयार हुने विश्वास व्यक्त गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले विशेष गरी आर्टिफिसिएल इन्टिलिजेन्स र उन्नत प्रविधिहरूबाट प्रभावित चुनौतिहरूको सामना गरिरहेको उल्लेख गर्दै यस्ता चुनौतिको सामना गर्न हाम्रो नेतृत्व ज्ञान, सीप, निष्ठा र व्यावसायिकता पनि उच्चस्तरको हुनुपर्नेमा जोड दिनुभयो । साथै यस्ता चुनौतिको सामना गर्न सक्षम एवम् भावी नेतृत्व तयार गर्न यो कोर्स तयार गरिएको समेत उहाँले उल्लेख गर्नुभयो । भबिष्यमा सक्षम र नैतिकवान् प्रहरी नेतृत्वका लागि महत्वपूर्ण यात्राको सुरूवात भएको उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई पूर्ण समर्पण र अनुशासनका साथ यस कोर्स ग्रहण गर्न उहाँले आग्रह समेत गर्नुभयो । यस पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन गृहमन्त्रालयबाट निरन्तर सहयोग, मार्गनिर्देशन र साधनस्रोत प्राप्त हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा.महानन्द चालिसेले शुभकामना मन्तव्य तथा प्रहरी वरिष्ठ उपरीक्षक बेद विष्टले स्वागत मन्तव्य एवम् Police Leadership and Staff Course सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।  कार्यक्रममा प्रतिनिधि सभासदस्य एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकश प्राप्त प्रहरी महानिरीक्षकहरू, MPS का सल्लाहकार प्रा.डा राजिव बिक्रम राणा, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहसचिवहरू, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू तथा संचारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । 

नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०१-१९

काठमाडौं, खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६५ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।  २०८१ भदौ २८ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८२ वैशाख ७ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६५ र खुलातर्फ १२ जना गरी कुल ७७ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ११ गतेको निर्णयले वैशाख १४ गतेदेखि लागू हुने गरी उहाँहरू प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी निरीक्षक विरेन्द्र कुमार कोईरालालाई समेत दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक थापाले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदीय मर्यादालाई मनन गरी आगामी दिनमा अझ बढी अनुशासित थप परिष्कृत एवम् व्यावसायिक भई प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले वहन गर्न निर्देशन दिनुभयो । नवनियुक्त अधिकृतहरूबाट संगठनको श्रीवृद्धिका लागि अझ बढी उर्जा प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।   उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०८२-०१-१७

काठमाडौं, हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्स सि.सं.१३ का तालिमरत नेपाली सेनाका ३५ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ । सो क्रममा उहाँहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याब र प्रहरी सङ्ग्रहालय समेतको अवलोकन गर्नुभयो । अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको स्मरण गर्नुभयो ।  अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै प्रहरी महानिरीक्षक थापाले दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवम् आगामी दिनमा समेत अझ प्रभावकारी रूपमा एक आपसमा सहयोग र समन्वय हुने चर्चा गर्नुभयो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले अवलोकन भ्रमणमा सहभागी अधिकृतहरूलाई स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो । साथै सोही अवसरमा प्रहरी नायव महानिरीक्षक आचार्यले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा तालिमरत अधिकृतहरूको तर्फबाट महासेनानी विष्णु थापाले धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । 

आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई कार्यसम्पादन गर्नुपर्ने : प्रहरी महानिरीक्षक थापा
२०८२-०१-१७

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।हालै सरूवा तथा काज भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक थापाले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति विद्यमान सुरक्षा चुनौतिहरूको अध्ययन विश्लेषण गरी आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाई प्रभावकारी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक थापाले सेवा प्रवाहमा प्रहरी कर्मचारीहरू सहनशील भई आचरण, बोली, व्यवहार शिष्ट र सभ्य हुनुपर्ने बताउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्ग पीडित हुने मुद्दाहरूलाई प्राथमिकतामा राखि समाजमा चुनौतिको रूपमा देखा परेका साइबर क्राइम, बैंकिङ कसुर, आत्महत्या, लागूऔषध लगायतका अपराधहरूको नियन्त्रणमा विशेष कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्य गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितका साथै काठमाडौं उपत्यका बाहिर कार्यरत प्रहरी उपरीक्षकहरूको समेत भर्चुअल उपस्थिति रहेको थियो ।  

नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक समीक्षा सम्पन्न
२०८२-०१-१४

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी नेपाल प्रहरी कार्ययोजना तयार गरिएको उल्लेख गर्दै कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउनका साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्ने र प्रशासनिक काम कारबाही चुस्त र प्रभावकारी बनाउन कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको समीक्षाद्धारा आ-आफ्ना सुधारका क्षेत्रहरू पहिचान गरि आगामी दिनमा अझ उपलब्धीमूलक हुने विश्‍वास व्यक्त गर्नुभयो । कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका कार्यहरूमा मात्र सीमित नरही यसका अतिरिक्त प्रहरी संगठनको वृहत्तर हित र कर्मचारीहरूको वृत्ति विकासका निम्ति अन्य नविनतम्, सृजनशील र रचनात्मक कार्यहरू गर्ने तर्फ अग्रसर हुन सबै प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो । समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सात वटै प्रदेश प्रहरी कार्यालयहरूको समग्र कार्ययोजना तथा कार्यसम्पादन सम्झौता प्रगति समिक्षा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।