प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर सहित भारतीय नागरिक पक्राउ

२०८२-०१-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ६० हजार १ सय सहित भारतीय नागरिक ४० वर्षीया सोनी गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-०२-०८

काठमाडौं, वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४  जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-४ बस्ने तनहुँ भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय बिकास गुरूङ, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३६ वर्षीया रन्जना अधिकारी, काठमाडौं महानगरपालिका-३१ बस्ने ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका-१ घर भएका ४० वर्षीय यादव प्रसाद घिमिरे र काठमाडौं महानगरपालिका-२ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-३ घर भएका ५२ वर्षीय लोकजन खड्का रहेका छन् । पक्राउ मध्ये बिकासले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ, रन्जनाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, यादव प्रसादले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ र लोकजनले थाईल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिकासलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार, रन्जनालाई काठमाडौं महानगरपालिका-१ बाट मंगलबार, यादव प्रसादलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार र लोकजनलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

राजश्व छली चोरी पैठारी गरी ल्याएका सामाग्री सहित ८ जना पक्राउ
२०८२-०२-०८

काठमाडौं, राजश्व छली चोरी पैठारी गरी ल्याएका विभिन्न सामाग्री सहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ च:मती बस्ने झापा गौरीगंज गाउँपालिका-१ देवीघाडा घर भएका २७ वर्षीय रोशन कुमार महतो, महोत्तरी भटिहानी नगरपालिका-६ घर भएका २१ वर्षीय सिकेन्दर रजा, ललितपुर महालक्ष्मी नगरपालिका-४ हात्तीवन बस्ने भारत चेन्नई घर भएका ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, ३० वर्षीय दिपक शेकर, ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, ४० वर्षीय सत्यनारायण कृष्णमुर्थी, भारत नयाँदिल्ली बस्ने ३१ वर्षीय मोहम्द रेहान र २४ वर्षीय रौनक ठाकुर रहेका छन् । काठमाडौं च:मती एरियामा सिकन्दर रजा समेतका व्यक्तिहरूले विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौं ल्याई विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जा सहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद १ लाख ८ हजार ५ सय रूपैयाँ, मोबाइलको डिस्प्ले ५ सय ८० थान, रेडमी कम्पनीको ट्याब १ थान, म्याकबुक १ थान, ल्यापटप १ थान, चार्जर १ हजार ४ सय थान, विभिन्न कम्पनीका मोबाइलका बट्टाहरूमा रहेको विद्युतिय उपकरण (फ्लेक्स) ८ सय थान, मोबाइलमा प्रयोग हुने ब्याट्री १ हजार १ सय ५० थान, मोबाइल ८ थान लगायतका सामाग्रीहरू बरामद भएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०२-०७

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने धनुषा घर भएका ४० वर्षीय विपलव कुमार कर्ण र काठमाडौं महानगरपालिका-३१ बस्ने रामेछाप घर भएका २७ वर्षीय सुजन घिसिङ तामाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका विपलवलाई ललितपुर इमाडोलबाट र सोही मुद्दामा फरार रहेका सुजनलाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ मध्ये विपलवलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने सुजनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको प्रहरी वृत्त महाराजगंज पठाइएको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा ९ जना पक्राउ
२०८२-०२-०७

भक्तपुर, स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ बस्ने ओखलढुङ्गा घर भएका १९ वर्षीय अबिन श्रेष्ठ, सोही नगरपालिका-९ बस्ने मकवानपुर घर भएका १९ वर्षीय पेम्बा मोक्तान, सोही नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक घर भएका १९ वर्षीय आयुष गोले तथा अन्य ६ जना १८ वर्षीय किशोरहरू रहेका छन् । भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बाट बा.५७ प ९९५७ नम्बरको स्कुटर शुक्रबार र सोही नगरपालिका-८ बोडेबाट बा.७७ प ३३५९ नम्बरको स्कुटर आइतबार चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई मध्यपुर थिमी नगरपालिका-९ बाट चोरी भएको स्कुटरहरू सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ठगीमा संलग्न व्यक्ति पक्राउ
२०८२-०२-०७

काठमाडौं, ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका संचालक काठमाडौं महानगरपालिका-२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले जर्मनीमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूको लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङ समेत गरी दिन्छु भनि नक्कली कागजातहरू बनाई ४ लाख ३० हजार रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८२-०२-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका-७ घर भएका ३२ वर्षीय रमेश कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।   रमेशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।