नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक समीक्षा सम्पन्न
२०८२-०१-१४
- A
- A-
- A+

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी नेपाल प्रहरी कार्ययोजना तयार गरिएको उल्लेख गर्दै कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक थापाले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउनका साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्ने र प्रशासनिक काम कारबाही चुस्त र प्रभावकारी बनाउन कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको समीक्षाद्धारा आ-आफ्ना सुधारका क्षेत्रहरू पहिचान गरि आगामी दिनमा अझ उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्नुभयो । कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका कार्यहरूमा मात्र सीमित नरही यसका अतिरिक्त प्रहरी संगठनको वृहत्तर हित र कर्मचारीहरूको वृत्ति विकासका निम्ति अन्य नविनतम्, सृजनशील र रचनात्मक कार्यहरू गर्ने तर्फ अग्रसर हुन सबै प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो ।
समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सात वटै प्रदेश प्रहरी कार्यालयहरूको समग्र कार्ययोजना तथा कार्यसम्पादन सम्झौता प्रगति समिक्षा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।