अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०१-१६
- A
- A-
- A+
सुनसरी, बर्जु गाउँपालिका-३ नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ९९ किलो ३ सय ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका-९ बस्ने ३३ वर्षीय उद्धव भण्डारी र ३० वर्षीय कबिराज राई रहेका छन् । इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरीले भीमपुरबाट अमडुवातर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५१२६ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाडीको ढालामा लुकाई छिपाई ल्याएको ६ वटा बोरा भित्र उक्त परिमाणको गाँजा फेला पारी चालक उद्धव र सहचालक कबिराजलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित सुकुम्बासी टोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ३ किलो ८ सय ६० ग्राम सहित बारा निजगढ नगरपालिका-१२ बस्ने ५७ वर्षीय ठाकुर सिंह मोक्तानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्राम सहित सोही महानगरपालिका-१२ बस्ने ४७ वर्षीय अनिश क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
जाजरकोट, भेरी नगरपालिका-१ रिम्ना बजार चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो ५ सय ग्राम सहित नलगाड नगरपालिका-३ बस्ने ५३ वर्षीय बिष्णु बहादुर घर्तीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले बारेकोटबाट नेपालगंजतर्फ जाँदै गरेको लु.१ ज ३९२६ नम्बरको बोलेरोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर घर भएका २४ वर्षीय सन्त बहादुर लामा र २२ वर्षीय मिलन परियार रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.९ प ९८४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, लहान नगरपालिका-३ बस्ने २६ वर्षीय सुरज महतोलाई नियन्त्रित लागूऔषध डाईजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १५ एम्पुल, प्रोमेथाजाइन १५ एम्पुल, स्यामपेक्स ८ क्याप्सुल र नाइट्राजेपाम २० ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले सुरजको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।