प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण

२०८२-०६-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, ३१ असोज, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७०औं प्रहरी दिवस २०८२ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो ।

सोही अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले विशेष बढुवा प्राप्त गर्नुहुने प्रहरी वृत्त महाराजगंज काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक हेम बहादुर बिक र जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ दाङमा कार्यरत प्रहरी हवल्दार संगिता अधिकारीलाई दर्ज्यानी चिन्हद्वार सुशोभित गर्नुभयो । राष्ट्र र प्रहरी संगठनको मान, प्रतिष्ठा र गौरव बढाउनुका साथै कर्तव्य निर्वाहको क्रममा प्रदर्शन गरेको अदम्य साहस र उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गरी नीति निर्माण समितिको सिफारिसमा उनीहरूलाई १ तह विशेष बढुवा सिफारिस गरिएको थियो । साथै उहाँले प्रथम महिला प्रहरी सम्मेलन,२०८२ को सन्दर्भमा प्रकाशित " Coffee Table Book " को लोकार्पण समेत गर्नुभयो । 

सोही अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी निरीक्षक अच्युत गिरी, प्रहरी निरीक्षक रबि घिमिरे, प्रहरी निरीक्षक सरस्वती कार्की, प्रहरी वरिष्ठ नायव निरीक्षक लेखनाथ आचार्य, प्रहरी वरिष्ठ नायव निरीक्षक रमेश कार्की, प्रहरी नायव निरीक्षक पदम शेर्पा, प्रहरी सहायक निरीक्षक अमिर श्रेष्ठ र प्रहरी सहायक हवल्दार कुमार बस्नेतलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक राजेश सिलवाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी नायव निरीक्षक अशोक कार्की, उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ र प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर खड्का तथा उत्कृष्ट व्यावसायिक आचरणतर्फ प्रहरी उपरीक्षक बासुदेव पाठकलाई प्रशंसापत्र प्रदान गर्नुभयो । 

प्रहरी महानिरीक्षक खापुङ्ले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी निरीक्षक संजीब बोगटी, प्रहरी सहायक निरीक्षक उत्तम बहादुर भुजेल, प्रहरी सहायक निरीक्षक दिपक पुन, प्रहरी हवल्दार अख्तर मिया र प्रहरी जवान रोशना थापा, उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायव उपरीक्षक मधु कुमार थापा, प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्का, प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, प्रहरी निरीक्षक शेर बहादुर बस्नेत, प्रहरी निरीक्षक अजय जंग थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक विजय राज खनाल, प्रहरी नायव निरीक्षक गौरव कुमार दास र प्रहरी सहायक हवल्दार दिपक राईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 

यसैगरी प्रहरी महानिरीक्षक खापुङ्ले उत्कृष्ट आन्तरिक तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी निरीक्षक जमुना जोशी, प्रहरी जवान गणेश राना मगर र प्रहरी जवान दुर्गा थापा, उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कारतर्फ प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्त, प्रहरी उपरीक्षक हरि डंगोल, प्रहरी नायव उपरीक्षक मोहन सिंह धामी, प्रहरी निरीक्षक ई. रितोष राय, प्रहरी वरिष्ठ नायव निरीक्षक शान्ति शाक्य, प्रहरी नायव निरीक्षक सन्तोष लामा, प्रहरी सहायक निरीक्षक राम बहादुर परियार(दमाई), प्रहरी सहायक निरीक्षक विद्या घले, प्रहरी हवल्दार भरत कुँवर र प्रहरी सहायक हवल्दार सुजन कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी  उत्कृष्ट प्रहरी खेल प्रशिक्षक/खेलाडी पुरस्कारतर्फ प्रहरी जवान शान्तिकला तामाङ, उत्कृष्ट प्रहरी विद्यालय शिक्षक पुरस्कारतर्फ नेपाल प्रहरी विद्यालय धरान सुनसरीमा कार्यरत सागर कार्कीलाई सम्मानपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठिका २ जना आजीवन सदस्यहरूलाई उहाँले कदरपत्र प्रदान गर्नुभयो । 

यसैगरी प्रहरी महानिरीक्षक खापुङ्ले  नेपाल प्रहरीको काम, कारवाही तथा अनुसन्धानमा सहयोग पुर्‍याउनुहुने काठमाडौं नरेफाँटका द्रोणजंग श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ भक्तपुर गठ्ठाघरका राजेश मान केसी र प्रहरी वरिष्ठ नायव निरीक्षक बिष्णु थापालाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने मोरङ विराटनगर महानगरपालिका-६ का तोरण कार्की र धनकुटा पाख्रिवास-८ का समन्त भद्र थापालाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले नेपाल प्रहरीलाई भौतिक संरचना लगायत निर्माणमा महत्वपूर्ण सहयोग गर्ने संस्था तथा सर्वसाधारणलाई समेत कदरपत्र प्रदान गर्नुभयो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले आफ्नो स्थापनाकाल देखि नै कानुनी राज्यको मान्यता अनुरूप जनमुखी प्रहरी सेवाको प्रवर्धन गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहँदै आएको बताउनुभयो । प्रहरी संगठन प्रति आम नागरिकको विश्वास प्रहरी संगठनको लागि उर्जा शक्ति र मनोबल समेतको स्रोत भएको चर्चा गर्दै नागरिक केन्द्रीत पारदर्शी, स्वच्छ, छिटो, छरितो, प्रभावकारी र सेवाग्राहीमैत्री सेवा प्रवाहबाट मात्र प्रहरी प्रतिको विश्वासमा अभिवृद्धि सम्भव रहेको हुँदा उहाँहरुको गुनासो र पिरमर्का सम्बोधनमा कुनै किसिमको विलम्ब नहोस् भन्नेतर्फ संगठनका सबै सदस्यहरू सजग हुनुपर्नेमा जोड दिनुभयो । 

प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रतिको नागरिकको विश्वास र स्नेह प्रगाढ रहेको तथ्य नेपाल प्रहरीको भौतिक विकासमा आम जनसमुदायबाट प्राप्त भएको सहयोगले पुष्टि गरेको चर्चा गर्दै यो स्नेह, विश्वास र भरोसाको जगेर्ना गर्दै सबै प्रहरी कर्मचारीहरू नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । साथै प्रचलित कानुनको कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र सम्बर्द्धनलाई उच्च प्राथमिकतामा राखी आम नागरिकका संविधान प्रदत्त हक अधिकारको संरक्षणमा सदैव सचेत रहन समेत उहाँले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   

सम्बन्धित समाचार
जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌बाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न
२०८३-०२-११

काठमाडौं, जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई आशीर्वचन समेत दिनुभयो ।  जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌लाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ रोपण समेत गर्नुभयो ।  अवलोकन पश्चात आयोजित कार्यक्रममा जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा निर्मित “शिव शम्भू” (भगवान शिवप्रति समर्पित) भजनको विमोचन गर्नुभयो ।  सो अवसरमा जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌ले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई आशीर्वचन समेत दिनुभयो । सो क्रममा उहाँले सत्य, सेवा, सुरक्षणम्‌को मूल मन्त्रलाई आत्मसात् गरी नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीलाई आगामी दिनमा नागरिकको जीउ धनको सुरक्षा दिने कार्यमा अझ पूर्णसफलताको कामना समेत व्यक्त गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌को नेपाल प्रहरी प्रधान कार्यालयमा शुभ आगमनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई आत्मिक शान्ति, दिव्य प्रेरणा र अनुपम गौरवको अनुभूति गराएको चर्चा गर्दै सम्पूर्ण प्रहरी परिवारको तर्फबाट हार्दिक स्वागत, अभिनन्दन तथा अनन्त कृतज्ञता व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌बाट प्राप्त आशीर्वचनले राष्ट्रिय सेवामा समर्पित प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शक्ति प्रदान गर्नुका साथै प्रहरी कर्मचारीहरूको सेवाभाव, आत्मबल र मनोबलमा समेत नवऊर्जा सञ्चालित गराएको बताउँदै उहाँको दिव्य आशीर्वचन र सनातन दर्शनले सम्पूर्ण नेपाल प्रहरी परिवारलाई गहिरो प्रेरणा समेत प्राप्त भएको बताउनुभयो । यस कार्यक्रम मार्फत प्राप्त आध्यात्मिक चेतना, आत्मिक अनुशासन र धार्मिक मर्मले प्रहरी पोशाकमा सुसज्जित कर्मचारीहरूलाई सहि मार्गमा स्थिर राख्न समेत मद्दत गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।     प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी कानुनी धर्मको पालकका साथसाथै राष्ट्र सेवा, न्याय र जनसुरक्षाको साधक समेत भएको उल्लेख गर्दै पेशागत त्रुटी र मानसिक दबाबका बीच आध्यात्मिक चिन्तनले हामीलाई धैर्य, संयम, सकारात्मकता र नैतिक शक्तिको दिव्य ऊर्जा प्राप्त हुने बताउनुभयो । नेपाल प्रहरीको आदर्श वाक्य सत्य, सेवा, सुरक्षणम्‌को दिव्य एवम् मूल मार्गलाई आत्मसात् गर्दै नेपाल प्रहरी सदैव सत्य, न्याय, अनुशासन र धर्मको मार्गमा अडिग रही राष्ट्र सेवामा प्रतिबद्ध रहने उहाँले बताउनुभयो । साथै प्रहरी महानिरीक्षक कार्कीले जगद्‌गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्‌निधानम्‌बाट विमोचित भजनले उहाँको आशीर्वादसँगै अझ दिव्यता र आध्यात्मिक गरिमा प्राप्त गरेको एवम् भजनले श्रद्धा, आत्मबोध र आध्यात्मिक चेतनातर्फ प्रेरित गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयका प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एवम् पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  

प्रहरी महानिरीक्षक दान बहादुर कार्की र Asia Pacific Group on Money Laundering का प्रतिनिधी बीच शिष्टाचार भेटघाट
२०८३-०२-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की र Asia Pacific Group on Money Laundering (APG) का Deputy Executive Secretary David Shannon तथा Policy Officer Kiah Sassal बीच मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरू बीच सम्पत्ति शुद्धीकरण सम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई राखिएको अवस्थाबाट बाहिर निस्कन नेपालले प्रस्तुत गरेको कार्ययोजनाको सन्दर्भमा प्रमुख कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा अन्य सरोकारवाला निकायहरूसँगको प्रभावकारी समन्वयमा नेपाल प्रहरीले गरिरहेको काम कारबाहीको अवस्था, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा आगामी कार्यदिशा सम्बन्धमा वृहत छलफल भएको थियो । साथै सो अवसरमा वित्तीय अपराध नियन्त्रणमा सूचना आदान प्रदान, आपसी सहयोग तथा समन्वय लगायतका विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा वित्तीय जानकारी इकाईका प्रमुख तथा पदाधिकारीहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, नेपाल राष्ट्र बैंकका निर्देशक तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी रणनीतिक योजना सार्वजनिकीकरण
२०८३-०२-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरीको रणनीतिक योजना २०८३-०८५ सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भ गर्नुका साथै प्रहरी वरिष्ठ नायव निरीक्षक श्रीहरी केसीद्वारा लिखित ‘मिसन’ नामक पुस्तक विमोचन समेत गर्नुभयो ।नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर नेपाल प्रहरीले आगामी तीन वर्षका लागि तयार गरेको रणनीतिक योजना २०८३-०८५ तयार गरेको छ । रणनीतिक विषय (Strategic Theme) “नवप्रवर्तन, इमानदारिता र तत्परता मार्फत प्रहरी सेवाको रूपान्तरण (Transformation of Policing through innovation, integrity & responsiveness)’ तय गरिएको यस रणनीतिक योजनाको कार्यान्वयनको माध्यमबाट नागरिक केन्द्रित प्रहरी सेवा, प्रविधिमैत्री रूपान्तरण, मानव अधिकारप्रति प्रतिबद्धता र उच्च व्यावसायिकता मार्फत नेपाल प्रहरीलाई अझ सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । समुदायसँगको साझेदारीलाई मजबुत बनाउँदै प्रविधिको अधिकतम् प्रयोगमार्फत प्रहरी सेवालाई समयसापेक्ष, पारदर्शी र परिणाममुखी बनाउन यस योजनाले जोड दिएको छ । यस रणनीतिक योजनाद्वारा कुल ७ वटा रणनीतिक क्षेत्रहरू अन्तर्गत रहेर ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्यक्रमहरू सम्पन्न गरिनेछ । यस रणनीतिक योजनाको कार्यान्वयनद्वारा नीतिगत र कानुनी सुधार, समुदाय प्रहरी सहकार्य संस्थागत र सुदृढ, समस्या र पुर्वानुमानमा आधारित अपराध रोकथाम र नियन्त्रण प्रणाली, जनशक्तिको सेवा विशिष्टीकृत कार्य विवरण र कार्य सम्पादनमा आधारित वृत्ति विकास, अपराध अनुसन्धान र प्रहरी कार्यका विशिष्टीकरण र आधारभुत क्षमता स्थापना, प्रहरी प्रशासन र सेवा प्रवाहका प्रणालीहरूको कार्यदक्षता र कार्य प्रभावकारितामा सुधार, सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कनका वैज्ञानिक मापदण्डहरूको विकास र कार्यान्वयन लगायतका लक्ष्यहरू हासिल गर्ने अपेक्षा गरिएको छ । नीति, योजना र अन्तर्राष्ट्रिय समन्वय, शान्ति सुरक्षा, प्रहरी कारबाही र विपद् व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, मानवस्रोत विकास, भौतिक पूर्वाधार, स्रोत साधन तथा सहायता सेवाहरू, सूचना प्रविधि लगायतमा रणनीतिक योजनाका कार्यक्षेत्र रहेको छ ।  साथै नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भले नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ, सहज र पारदर्शी बनाउन महत्वपूर्ण योगदान पुग्ने एवम् सेवाग्राहीको निवेदन, उजुरी लिएन भन्ने गुनासोको अन्त्य हुने अपेक्षा गरिएको छ । नेपाल प्रहरीमा प्राप्त निवेदन, उजुरी तथा गुनासो व्यवस्थापन प्रक्रियालाई पारदर्शी र उत्तरदायी बनाउँदै सेवाग्राहीमैत्री सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउनुका साथै प्रहरी कार्यालयहरूबीच सूचना आदानप्रदानलाई एकीकृत गर्ने, तथ्याङ्क विश्लेषण तथा प्रतिवेदन प्रणाली विकास गर्ने एवम् डिजिटल अभिलेख व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउनु यस प्रणालीको मुख्य उद्देश्य रहेको छ ।समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले योजनाबद्ध विकासको माध्यमबाट नेपाल प्रहरीलाई पेशागत रूपमा उत्कृष्ट, व्यावसायिक, समयसापेक्ष एवम् आमनागरिकको अपेक्षा बमोजिमको सेवा प्रवाह गर्ने सक्षम संस्थाका रूपमा विकास गर्न नेपाल प्रहरी रणनीतिक योजना तयार गरिएको बताउनुभयो । विगतको कार्ययोजनाको प्रमुख उपलब्धिहरू तथा कार्यान्वयन पक्षमा देखिएका मूलभूत समस्याहरूलाई विश्लेषण गरी त्यस्ता समस्याहरूलाई यथोचित सम्बोधन गर्न रणनीतिक योजना तयार गरिएको उल्लेख गर्दै यस योजनालाई मूर्तरूप दिन सम्पूर्ण प्रहरी कर्मचारीहरूको सामुहिक भावना र चाहना जरूरी रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले परम्परागत अपराधहरू रूपान्तरण भएर संगठित स्वरूपमा गइरहेको साथै आर्थिक अपराधहरूको संख्यामा समेत वृद्धि भइरहेको अवस्थामा त्यसलाई सम्बोधन गर्न यो रणनीतिक योजना प्रभावकारी हुने उल्लेख गर्दै यसका लागि भौतिक पूर्वाधार तथा मानवस्रोतको विकास, आधुनिक प्रविधिको प्रयोग, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायहरूको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणाली मार्फत सेवाग्राहीहरूलाई प्रहरी सेवामा सरल र सहज पहुँच स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारी तथा आमनागरिकहरूलाई नेपाल प्रहरीको ‘मोबाइल एप’ प्रयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले प्रहरीको व्यस्त जीवनशैलीमा रहेर समेत साहित्यिक कृति सृजना गर्ने प्रहरी वरिष्ठ नायब निरीक्षक केसीले दुई दशक भन्दा लामो निरन्तर प्रहरी जीवनका आरोह अवरोहहरूलाई समेटी कलात्मक ढंगले सृजना गरेको यात्रा-संस्मरणात्मक कृतिले प्रहरी संगठनभित्र ज्ञान, अनुभव र अध्ययन संस्कृतिको विकासमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको रणनीतिक योजना २०८३-०८५ को पृष्ठभूमि, रणनीतिक योजना तर्जुमाका विधिहरू, नेपाल प्रहरी कार्ययोजना २०८०-०८२ को उपलब्धिहरू, रणनीतिक योजनाका लक्ष्यहरू (अल्पकालीन/दीर्घकालीन), रणनीतिक योजनाका क्षेत्रहरू, रणनीतिक योजनाको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन लगायतका विषयहरूमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०२-०४

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले परम्परागत पुलिसिङ भन्दा पनि नवीनतम सोच र कार्यशैली अपनाई नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी एवम् प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।  हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवम् इमानदार हुनुपर्ने उल्लेख गर्दै उत्कृष्ट व्यवहार, बोलीबचनलाई आत्मसात् गरी संगठनको छवि वृद्धि हुने गरी आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले बहन गर्न निर्देशन दिनुभयो । संगठनले अख्तियार गरेका नीतिनियम तथा मापदण्ड अनुरूप कार्य गर्दै व्यक्तिगत स्वार्थ भन्दा पनि भातृत्वभाव एवम् सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखेर कसैप्रति पूर्वाग्रह नराखी विभेदरहित एवम् कानुनसम्मत कार्य गर्न सरूवा भई कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रको सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी आवश्यकता अनुरूप सुरक्षा योजना एवम् रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सीमान्तकृत वर्ग प्रति थप संवेदनशील हुनुपर्ने र आपत्/विपद् एवम् दु:ख पीडामा प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीहरूको समस्यालाई उचित सम्बोधन गर्नेतर्फ उहाँले विशेष जोड दिनुभयो । प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने उल्लेख गर्दै गुनासो तथा उजुरीको लागि क्यूआर कोडको प्रयोग तथा एसएमएस मार्फत भए/गरेका प्रगतिहरू बारे जानकारी दिने व्यवस्था गर्नुपर्ने समेत उहाँले उल्लेख गर्नुभयो । हिरासत कक्षलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिनुपर्ने, प्रमाणमुखी एवम् वस्तुनिष्ठ अपराध अनुसन्धानमा जोड दिँदै अपराध न्यूनीकरणमा सचेतना सँगसँगै नागरिकसँग सहकार्य गर्नुपर्ने, सीमा अपराध, तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्नुपर्ने, दुर्घटना न्यूनीकरणमा थप सक्रिय हुनुपर्ने एवम् कनै पनि विपद्का घटनामा तत्काल खटिन सक्ने गरी पूर्व अभ्यासका साथ प्रहरी कर्मचारीहरू तयारी हालतमा रहनुपर्ने उहाँले बताउनुभयो ।    यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठ, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर विक र अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा  एवम् समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
२०८३-०२-०१

काठमाडौं,  प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ शुक्रबार सार्वजनिक भएको छ ।   गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ ।यस गीतमा दिपक शर्माको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गायक समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुबेदी र बेनिसा पौडेलको स्वर रहेको उक्त गीतको भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापा लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ । किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको उक्त गीतको भिडियोमा पवन सोस्लिङको छायांकन तथा सरोज ओलीको भिडियो परिकल्पना रहेको छ । साथै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचनामा यसअघि सार्वजनिक भएका “आमा म त खरानीबाट उठेर आए” (प्रहरी कर्मचारीहरूको जोखिमपूर्ण जिम्मेवारी र निस्वार्थ सेवाभावमा आधारित मर्मस्पर्शी गीत), “फूलको बास्ना सरी” (प्रहरीका दुःख, भावना र जनताप्रति खटिने चाहना समेटिएको गीत) लगायत दशैं, तिहार, बाल र कमर्सियल गीतहरू समेत सर्वसाधारणले निकै रूचाएका थिए । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०१-३०

बारा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय सिम्रौनगढको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुने विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनबाट प्रवाह हुने सेवाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्न सक्षम हुने उल्लेख गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू थप प्रविधिमैत्री, निष्पक्ष, पारदर्शी र कानुन सम्मत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै लागूऔषध कारोबार तथा सीमाजन्य अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन निर्मम रूपमा प्रस्तुत भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल २ करोड ५१ लाख ४२ हजार ५ सय ३४ रूपैयाँ २८ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।