प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रृङ्खलाबद्ध ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ

२०७८-१०-२५

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, आफूलाई भेडीगोठ बाख्रा फार्म प्रालि चित्लाङ मकवानपुर, कामधेनुगाई फार्म प्रालि खैरेनीपुर चितवन लगायत अन्य विभिन्न फर्मको प्रोपाईटर बताई ठगी कार्यमा संलग्न रहेको अभियोगमा प्युठान तोरवाङ गाउँपालिका-६ घर भई हाल झिमरुक गाउँपालिका-६ तोरवाङ बस्ने ५० वर्षीय ईश्वरी प्रसाद पोख्रेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

शिवराज नगरपालिका-५ स्थित चेक प्वाइन्टमा वडा प्रहरी कार्यालय चन्दौटाबाट खटिएको प्रहरीले उनलाई बाग्मती प्रदेश ०१-०२६ च ४००१ नम्बरको कार सहित फेला पारी पक्राउ गरेको हो । 

उनले कपिलवस्तु नगरपालिका-१ मालटोलस्थित केजिएन मार्ट पसलमा २०७८ आसार १८ गते ५० हजार बराबरको किराना र कस्मेटिक लगायतको समान किनी आफू कपिलवस्तु बिजयनगर गाउँपालिका-४ अन्तर्गत रहेको गौमुखी फीड ईण्डष्ट्रीज एण्ड ट्रेडलिंकको प्रोपाईटर भनी उक्त सामान खरिद गरे वापत दिनु पर्ने रकम माछापुच्छ्रे बैंकबाट भुक्तानी पाउने गरी चेक दिई गएकोमा सो चेक माछापुच्छ्रे बैंक तौलिहवा शाखामा क्लियरिङ गराउँदा निजको खातामा रकम नभएको पाईएपछि ठगी मुद्दा दर्ता भई अनुसन्धान भएको थियो । 

उनीउपर यस अघिसमेत विभिन्न मितिमा सार्वजनिक ऐन अन्तर्गतको मुद्दा, ठगी एवं बैंकिङ कसूरजन्य मुद्दा दर्ता भई अनुसन्धान भएको  थियो । साथै अनुसन्धानको क्रममा उनले विभिन्न मितिमा दाङ राप्ती गाउँपालिका-२ मा साइन्स कलेज स्थापना गर्ने भनि करिब १ करोड भन्दा बढी रुपैयाँ, कैलालीको धनगढीस्थित मेडिकल कलेज खोल्ने भन्दै लाखौँ रकम लिई ठगी गरेको खुल्न आएको छ । साथै उनले पर्सा वीरगञ्जस्थित जगदम्बा सेल्स ट्रेडिङ प्रालिबाट ४७ लाख रुपैयाँ बाराबरको रडहरु, भैरहवाको शिद्धार्थ हार्डवेयरबाट २३ लाख रुपैयाँ बराबरको हार्डवेयर सामग्री, चितवन टाडीस्थित रिजाल फुड एण्ड विभरेज प्रालिबाट २८ लाख रुपैयाँ बराबरको सामान, नवलपरासीस्थित समृद्धि स्टिल कम्पनीबाट २५ लाख बराबरको सामानहरु, प्युठान सिमेन्ट कारखानाबाट २० लाख रुपैयाँ बराबरको सामान, गोल्छा अर्गनाईजेसनबाट ३० लाख रुपैयाँ बराबरको सामग्रीहरू र काठमाडौं टेकुस्थित निर्मणी मेशिनरी सप्लायर्शबाट १ लाख २७ हजार रुपैयाँ बराबरको विभिन्न मेसिनरी सामानहरू लिई सबै ठाउँमा विभिन्न बैंकको खाताबाट भुक्तानी हुने गरी रकम नभएको चेक दिई फरार रहेका अनुसन्धानबाट खुल्न आएको छ । साथै निज प्रोपराईटर भएको भनि बताएका फर्महरु भौतिकरुपमा स्थापना र सञ्चालनमा समेत नरहेका खुल्न आएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।


सम्बन्धित समाचार
हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-२४

मोरङ, आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बस्ने ६९ वर्षीय टंक बहादुर बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंक बहादुरलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा टंक बहादुरले आपसी झै-झगडा तथा रिसिवीको कारण हसियाको बिड प्रहार गरी टिकामायाको हत्या गरेको खुल्न आएको छ ।  उनी उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चेक अनदार मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२४

काठमाडौं, चेक अनादर मुद्दाका २ जना फरार प्रतिवदीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-६ सुदर्शन हाइट बस्ने गोरखा शहिद लखन गाउँपालिका-१ घर भएका ४० वर्षीय रोलक भट्ट र गुल्मी मुसिकोट नगरपालिका-१ घर भएकी २९ वर्षीया कोपिला खत्री रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरको २०८१ वैशाख १८ गते उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका रोलक र सोही अदालतको २०८१ भदौ १६ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेकी कोपिलालाई काठमाडौं सुदर्शन हाइटबाट पक्राउ गरेको हो ।  उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने ४९ वर्षीय अमित लाल जोशी र काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने धादिङ धुनीबेशी नगरपालिका-२ घर भएका ४६ वर्षीय मधुकर लुईटेल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका अमितलाई काठमाडौं महानगरपालिका-२६ कपुरधाराबाट सोमबार पक्राउ गरेको       हो । साथै सोही मुद्दामा फरार रहेका मधुकरलाई काठमाडौं महानगरपालिका-२७ बाट आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये अमितलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त जनसेवा र मधुकरलाई प्रहरी वृत्त गौशाला पठाइएको छ । 

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-५ घर भएका ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-४ घर भएका ५४ वर्षीय स्वर्णिम कुमार बाँठा रहेका छन् ।   पक्राउ मध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४० लाख रूपैयाँ र स्वर्णिमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिङमाडुण्डुलाई काठमाडौं महानगरपालिका-६ बाट र स्वर्णमलाई दाङ तुलसीपुर उपमहानगरपालिका-५ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न दुई जना भारतीय नागरिक पक्राउ
२०८२-०३-२४

काठमाडौं, हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर,ललितपुर महानगरपालिका-२ सानेपा बस्ने भारत बिहार मोतिहारी घर भएका ४३ वर्षीय रूपेश कुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारण बिजबानी घर भएका २२ वर्षीय बिपिन कुमार रहेका छन् ।  ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको  भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँस्थित राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित बन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने वस्तु १ थान, नगद ८ लाख २० हजार नेपाली रूपैयाँ, १० हजार भारतीय रूपैयाँ र मोबाइल ५ थान समेत बरामद गरेको छ ।  उनीहरू उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूर र बन्यजन्तु सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।