प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” शुभारम्भ

२०८२-१०-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुई दिवसीय “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” शुभारम्भ भएको छ । गृहमन्त्री अर्यालले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्‍घाटन गर्नुभएको हो ।

समारोहमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयद्वारा शोध अनुसन्धान गरी प्रकाशित गरिएका नेपालमा सामाजिक संजालको प्रयोग र साइबर अपराधबीच अन्तर सम्बन्ध सम्बन्धी अध्ययन, नेपाल प्रहरीमा विद्यमान पोशाकको प्रयोग तथा परिमार्जन सम्बन्धी अध्ययन तथा ट्राफिक प्रहरी कर्मचारीको कार्यबोझ, सेवा प्रवाह, आचरण एवम् व्यवहार सम्बन्धी अध्ययन गरी तीन वटा अध्ययन प्रतिवेदनहरू सार्वजनीकिकरण गर्नुभयो । 

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपाल प्रहरीले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयमहरूको बारेमा नागरिक समाजका प्रभुत्व व्यक्तिहरू, सुरक्षा विज्ञहरू लगायत समाजका विभिन्न तप्काका प्रतिनिधिहरूसँग रणनीतिक अन्तरक्रिया गर्नुलाई अत्यन्तै सकारात्मक पहलको रूपमा लिएको चर्चा गर्दै यस सम्मेलनको पूर्ण सफलताको कामना समेत गर्नुभयो । प्रहरी सेवाका नीति निर्माणका प्रक्रिया एवम् जनअपेक्षा अनुरूपको प्रहरी सेवाको स्वरूप र भविष्य कस्तो हुनुपर्छ भन्ने विषयमा नागरिक तहको सार्थक सहभागिता र अपनत्व भएमा मात्र त्यस्ता योजनाहरू स्वीकार्य र व्यवहारिक कार्यान्वयन हुन सक्ने उहाँले बताउनुभयो । 

गृहमन्त्री अर्यालले यस सम्मेलनमा हुने अन्तरक्रिया र बहसहरूले आम जनताले अपेक्षा गरे अनुरूप प्रहरी संगठन बनाउने, सेवा प्रवाहका सन्दर्भमा मूल्यवान तथा ठोस् सुझाव प्राप्त हुने र प्राप्त सुझाव, निष्कर्ष एवम् मार्गदर्शनहरूले नेपाल प्रहरीको रणनीतिक रूपान्तरणमा ठोस् योगदान पुर्‍याउने एवम् नेपाल प्रहरीले प्रदान गर्ने सेवा अझ प्रभावकारी, पारदर्शी र विश्वासिलो हुने विश्वास व्यक्त गर्नुभयो । सांगठनिक क्षमताहरूको पुनर्स्थापना र अपराधका नवीनतम् चुनौतीहरूको सम्बोधन गर्न सक्षम एवम् सुदृढ संगठन निर्माणका लागि यस सम्मेलन अत्यन्तै उपयोगी हुने तथा सम्मेलनका निष्कर्षहरू र तत्पश्चात्‌का नेपाल प्रहरीका रणनीति एवम् योजनाहरू कार्यान्वयनमा नीतिगत रूपमा गृहमन्त्रालय र नेपाल सरकारको उच्च समर्थन र सहयोग रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । 

समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले प्रहरी व्यवस्थापन र परिचालनमा देखा परेका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न यस सम्मेलन महत्वपूर्ण हुने उल्लेख गर्दै सम्मेलनको पूर्ण सफलताको कामना समेत गर्नुभयो । विद्यमान अवस्थामा साइबर अपराध, आर्थिक अपराध जटिल रूपमा देखा पर्दै आइरहेको तथा परम्परागत अपराधका प्रवृत्तिहरूमा समेत परिवर्तन हुँदै आएको बताउँदै यस्ता अपराधहरू नियन्त्रण एवम् न्यूनीकरण गर्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण हुने र यस भूमिका निर्वाहमा सबै प्रहरी कर्मचारीहरू केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आधुनिक प्रविधिको प्रयोग गरी प्रहरीले काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने उल्लेख गर्दै आगामी दिनमा नेपाल प्रहरीको व्यावसायिक क्षमता र दक्षता अभिवृद्धि गर्नको लागि यस सम्मेलनले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै नेपालको संविधान, प्रहरी ऐन तथा प्रचलित कानुन अनुरूप शान्ति सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी एवम् व्यावसायिक प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको बताउनुभयो । संघीय शासन प्रणालीको कार्यान्वयन सँगै नेपाल प्रहरीको भूमिका, दायित्व र कार्यक्षेत्र बहुआयामिक बन्दै गएको तथा यस्तो परिवर्तित समय सन्दर्भमा संगठनात्मक क्षमता, रणनीतिक सोच, प्रविधिको प्रयोग र अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउनु अहिलेको आवश्यकता र प्राथमिकता रहेको उहाँले बताउनुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको तीव्र विकास, डिजिटल सुरक्षा जोखिम, जलवायु परिवर्तन जन्य विपद तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूले प्रहरी सेवाको नीति र कार्यशैलीमा नवीन, व्यवहारिक र उत्तरदायी दृष्टिकोण अपनाउनु पर्ने आवश्यकता देखिएको उल्लेख गर्दै त्यसका लागि प्रहरीले हेर्ने दृष्टिकोण मात्र पर्याप्त नभई विषय विज्ञ, आम जनसमुदायहरूको परामर्श र दृष्टिकोण समेत आवश्यक रहेकोले यो सम्मेलनको आयोजना गरिएको बताउनुभयो । सम्मेलनको अवधिमा हुने बहुआयामिक छलफल, अनुभवको आदानप्रदान, बौद्धिक तथा तार्किक बहस, विचार, विमर्श तथा राय सुझावले नेपाल प्रहरीको दीर्घकालीन योजना, रणनीतिक लक्ष्य र समय सापेक्ष कार्ययोजना निर्माणमा मूर्त आधार तयार गरी नेपाल प्रहरीको रणनीतिक योजना र कार्ययोजनाहरू निर्माणमा स्पष्ट मार्गदर्शन गर्ने उहाँले बताउनुभयो । 

समारोहमा नेपाल प्रहरी रणनीतिक सम्मेलन संयोजन तथा व्यवस्थापन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य तथा सम्मेलन सम्बन्धी जानकारी दिनुभएको थियो । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल एसबीआई बैंकका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, विभिन्न क्षेत्रका विज्ञ लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीहरूको समग्र मुल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयन योग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गर्नु, विद्यमान संगठन संचालनको अवस्था र सुधारका उपायहरू समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपायहरू पहिचान गर्नु एवम् नेपाल प्रहरी प्रतिको दृष्टिकोण र जनअपेक्षाको सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रहरूमा सुधारका उपायहरू पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।     

दुई दिवसीय उक्त सम्मेलनमा नेपाल प्रहरीको संचालन, सुपरीवेक्षण र समन्वय : क्षेत्र, विद्यमान अवस्था र सुधारका उपायहरू, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम् प्रवृत्तिहरू : पहिचान, रोकथाम र अनुसन्धानका प्रहरी रणनीतिहरू, विरोध प्रदर्शन व्यवस्थापन : नागरिकको संवैधानिक अधिकारको संरक्षण र राज्यको अनिवार्य दायित्व निर्वाहको सन्दर्भमा प्रहरी परिचालन र शान्ति सुव्यवस्थाको दृष्टिकोण, विश्वास, सहकार्य र सुधार : नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरण, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन : दक्ष, उच्च मनोबल र उत्प्रेरित जनशक्ति सुनिश्चित गर्ने रणनीतिहरू, नेपाल प्रहरीमा सूचना प्रविधि, संचार र कृत्रिम बुद्धिमत्ता : सेवा प्रवाह, आन्तरिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र अपराध अनुसन्धानमा सम्भावना र चुनौतीहरू, विपद व्यवस्थापनमा प्रथम उद्धारकका रूपमा नेपाल प्रहरी : क्षमता अभिवृद्धि, समन्वय, समुदाय सहकार्य र भावी आवश्यकताहरू एवम् सडक सुरक्षा प्रवर्द्धनमा प्रहरी भूमिका : सचेतना, प्रवर्तन र क्षति न्यूनीकरणको योजना सम्बन्धी विषयहरूमा वृहत रूपमा छलफल एवम् अन्तरक्रिया हुनेछ ।     


सम्बन्धित समाचार
गृहमन्त्री सुधन गुरूङद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-१२-१६

काठमाडौं, गृहमन्त्री सुधन गुरूङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयस्थित सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, Artificial Intelligence and Advanced Analytics Cell, डाटा सेन्टर र पोलीग्राफ सेक्सनको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमा समेत अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो । प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने समेत उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोतहरू नागरिकको सेवाको लागि उच्चतम प्रयोग गर्न समेत उहाँले जोड दिनुभयो । विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्रहरीलाई थप साधनस्रोत युक्त बनाउनुका साथै समयानुकुल आवश्यक तालिमहरूको समेत व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो । प्रहरी कर्मचारीहरूको वृत्ति विकास कार्यसम्पादन एवम् वैज्ञानिक प्रणालीको आधारमा हुने उल्लेख गर्दै सांगठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकुल प्रविधिमैत्री एवम् साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरीले विभिन्न कठिनाइहरूका बाबजुद प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ऐतिहासिक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न गराउन प्रत्येक प्रहरी कर्मचारीले निर्वाह गरेको व्यावसायिक भूमिकाको उच्च सम्मान गर्नुभयो । साथै निर्वाचनको समयमा नेपाल प्रहरीले प्रदर्शन गरेको सक्षमताले नेपाल प्रहरीले जस्तोसुकै परिवेशमा पनि कार्यसम्पदान गर्न सक्षम रहेको पुष्टि समेत गरेको उहाँले बताउनुभयो । विगतको भन्दा फरक शैलीमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ छिटिछरितो र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।    कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरेको अधिकार र मानव अधिकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डहरूको परिधिभित्र रहँदै सत्य, सेवा, सुरक्षणमको मर्मलाई निष्ठापूर्वक पालना गर्दै आइरहेको बताउनुभयो । प्रहरीको दक्षताबाट राज्यको प्रभावकारिता पुष्टि हुने र नागरिकका अपेक्षाहरू वास्तविक रूपमा सम्बोधन हुने उल्लेख गर्दै संगठन र संगठनमा आबद्ध जनशक्तिको क्षमता, दक्षता, मनोबल अभिवृद्धि सँगै साधनस्रोतको उपलब्धताका साथै गृहमन्त्रीज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समयसापेक्ष र व्यावसायिक निर्देशनले अत्यन्तै उत्साहित बनाएको बताउनुभयो । गृहमन्त्रीज्यूबाट व्यक्त भएका सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशनले नेपाल प्रहरी प्रधान कार्यालय तथा देश भरी छरिएर रहेका प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल र उत्साह वृद्धि हुनुका साथै आगामी कार्यदिशा थप प्रभावकारी र परिणाममूखी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउने सन्दर्भमा नेपाल प्रहरी संगठन र संगठनमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरू कटिबद्ध रहेको बताउनुभयो । प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, प्रविधिमैत्री, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव क्रियाशील रहेको बताउँदै नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा गृहमन्त्रीज्यूबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत व्यक्त गर्नुभयो । जस्तो सुकै कठिन परिस्थितिहरूका बीचपनि नेपाल प्रहरीका कर्मठ सदस्यहरूले आम जनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पुरा गर्दै आएको बताउनुभयो । निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री गुरूङ समक्ष प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, इन्टरपोल शाखाद्वारा सम्पदित कामहरू, प्राप्त वैदेशिक सहायता, चालु आर्थिक वर्षमा सम्पादित मुख्य कार्यहरू, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

गृहमन्त्री ओमप्रकश अर्यालद्वारा केन्द्रीय निर्वाचन सेलको निरीक्षण
२०८२-११-२०

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय निर्वाचन सेल र कमाण्ड सेन्टरको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।  निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले केन्द्रीय निर्वाचन सेलबाट सबै जिल्लास्थित निर्वाचन सेलबाट भइरहेको कामकारबाही एवम् गतिविधि बारेमा जानकारी समेत लिनुभयो । साथै उहाँले प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन नेपाल प्रहरीले प्रयोग गरेको विभिन्न प्रणाली सम्बन्धी जानकारी समेत लिनुभयो । सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन सेलबाट भइरहेको कामकारबाहीको प्रशंसा गर्दै आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गराउन थप सक्रिय भई कार्य गर्न निर्देशन दिनुभयो । साथै निर्वाचनको समयमा हुन सक्ने चुनौतीको सामना गर्न समेत अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाली सेनाका रथी प्रदिपजंग केसी, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक वरिष्ठ प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो । प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाउन नेपाल प्रहरीले Election Management Information System (EMIS) प्रणाली प्रयोगमा ल्याएको छ । उक्त प्रणालीमार्फत प्रदेश, जिल्ला र स्थानीय तह सम्म निर्वाचन प्रहरी, नेपाल प्रहरीको जनशक्ति visualization गर्न सकिन्छ । निर्वाचनसँग सम्बन्धित क्रियाकलापलाई Online Computerized Election Management System मार्फत छिटो छरितो ढंगबाट सम्पन्न गर्ने तथा आवश्यकता अनुसारको रिपोर्ट तयार गर्नु यस प्रणालीको मुख्य उद्देश्य रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘निर्वाचन सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित एवम् छिटो बनाउन नेपाल प्रहरीले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिरहेको छ । प्रविधिमैत्री सुरक्षा व्यवस्थापन अन्तर्गत EMIS प्रणालीको प्रयोगबाट देशभरका सबै मतदानस्थलको सुरक्षा व्यवस्थापन बारेमा नेपाल प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट नै निगरानी गर्न सकिने र आवश्यकता अनुसार कमाण्ड सेन्टरबाट नै आवश्यक निर्देशन दिन सकिनेछ । यसले निर्वाचनको समयमा मतदानस्थलको सुरक्षालाई थप मजबुत बनाउन सहयोग गरेको छ ।’ यसैगरी देशभर एआई फिचर सहित जडान भएका ७ सय ८६ वटा सिसिटिभिबाट निर्वाचन सुरक्षा व्यवस्थापन सम्बन्धी गतिविधिहरू कमाण्ड सेन्टरबाटै नै प्रत्यक्ष निगरानी हुनेछ । ७ वटा सीमा नाकाका २२ वटा, काठमाडौंभित्र मुख्य चेकप्वाइन्ट, चोक गरी ७ सय वटा तथा काठमाडौं बाहिर विराटनगर र वीरगंजमा ६४ वटा सिसिटिभि जडान गरिएको छ । सिसिटिभि क्यामेरामा एआई फिचर सहितको Face recognition, Automatic Number plate recognition, Behavior Analysis, Smart AI Feature लगायतको विशेषता रहेको छ ।  प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘प्रविधिमैत्री सुरक्षा योजना, सूचना संकलन प्रणालीको सुदृढीकरण र आकस्मिक परिस्थितिको द्रुत प्रतिकारको लागि सुरक्षा तयारीलाई प्राथमिकतामा राखिएको छ । देशभरका मतदानस्थल वरिपरि जडान गरिएका सिसिटिभि क्यामेराको कमाण्ड सेन्टरबाट नै प्रत्यक्ष निगरानी गरी मतदानस्थलको गतिविधि अवलोकन गर्नुका साथै मतदानस्थललाई सुरक्षित राख्न समेत आवश्यक सुरक्षा रणनीति तर्जुमा गरिएको छ ।’ यस्तै नेपाल प्रहरीले निर्वाचन सुरक्षा लक्षित Real Time Video Surveillance Camera सहितको रेडियो सेट संवेदनशील मतदानस्थलहरूमा वितरण गरेको छ । यसबाट पनि मतदानस्थलको गतिविधहरू सिधै कमाण्ड सेन्टरबाट प्रत्यक्ष निगरानी हुनेछ । सबै मतदानस्थलहरूमा संचार सम्पर्क हुने गरी संचार साधनको उचित व्यवस्थापन गरिएको छ । साथै कमाण्ड सेन्टरबाट नै प्रत्यक्ष निगरानी हुने गरी आवश्यकता अनुसार मतदानस्थल वरिपरि सुरक्षा व्यवस्थापनको अनुगमन गर्नको लागि ड्रोनको प्रयोग समेत गरिने छ । यस्तै नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC) सेलले सामाजिक सञ्जालमा गलत सूचना तथा मिथ्या सूचना (Misinformation/Disinformation) सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । सेल मार्फत काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयमा परिचालित साइबर प्रहरीबाट यस्ता गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन कार्य भइरहेको छ ।

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न
२०८२-११-११

काठमाडौं, अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रमबीच केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवाला निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै एकिकृत रूपमा कार्य गर्नुपर्ने बताउनुभयो । यसअघिको बैठकमा गरिएका निर्णयहरू सक्रिय रूपमा कार्यान्वयन भइरहेको चर्चा गर्दै राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारको लागि गरिएका प्रयासहरूलाई समेत अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राजस्व चुहावट नियन्त्रण केवल आर्थिक विषय मात्र नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै राजस्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीले आफ्नो संस्थागत क्षमता अनुरूप सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । प्रविधि, जनशक्ति, कानूनी सुदृढिकरण र अन्तर निकाय समन्वयमा रणनीतिक सहयोग प्राप्त भएमा राजस्व चुहावट नियन्त्रणमा दीर्घकालीन र प्रभावकारी परिणाम हासिल गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।  प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीले राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिका सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीले राजस्व परिचालन र चुहावट सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । बैठकमा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् जिल्ला प्रहरी कार्यालयहरू मोरङ, बारा, चितवन, बाँके र कैलालीका प्रमुखहरूसँग राजस्व चुहावट तथा तस्करी नियन्त्रणका सम्बन्धमा गरिएका प्रयासहरूका बारेमा भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो । साथै बैठकमा सीमा नाकामा जडान भएका सिसिटिभिहरूबाट त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी समेत लिइएको थियो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृहसचिव, अर्थ मन्त्रालयका सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्यालबाट एआई सेलको उद्‍घाटन
२०८२-११-११

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC) सेलको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा गृहमन्त्री अर्यालले उक्त सेलको अवलोकन गर्नुका साथै त्यसबाट सम्पादन हुने काम, प्रयोग र उपयोगीता लगायतका विभिन्न गतिविधि बारेमा जानकारी समेत लिनुभयो ।  उद्‌घाटन समारोहमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।  वर्तमान समयमा बढ्दै गइरहेको साइबर अपराध, गलत सूचना तथा मिथ्या सूचना (Misinformation/Disinformation), संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध, सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियान जस्ता गतिविधिहरूले राष्ट्रिय सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा थप चुनौती थपिदै गइरहेको अवस्थामा Generative AI, Large Language Models (LLMs), Machine Learning, Predictive Analytics तथा Automation मा आधारित विश्लेषण प्रणालीको प्रयोग बिना अबको सुरक्षा व्यवस्थापन प्रभावकारी हुन नसक्ने परिप्रेक्ष्यमा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत उच्च प्रविधियुक्त, रणनीतिक तथा भविष्य उन्मुख संरचना “Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC)” स्थापना गरिएको हो । कृत्रिम बुद्धिमत्तको संस्थागत अवलम्बन तथा सुदृढीकरण, Proactive Intelligence तथा Early Warning प्रणाली विकास, Cognitive security तथा सूचना-हेरफेर नियन्त्रण, Cyber तथा Digital Crime Intelligence सुदृढीकरण, AI-Assisted Investigation तथा Judicial-Grade Digital Evidence प्रणाली विकास, AI Misused Detection तथा Defensive Capability विकास र Descriptive, Diagnostic, Predictive तथा Analytical प्रणाली विकास तथा विस्तार गर्नु यस सेल स्थापनाका मुख्य उद्देश्यहरू रहेका छन् ।  नेपाल प्रहरीले यस एआई सेलको प्रयोगबाट गलत तथा मिथ्या सूचना (Misinformation/Disinformation) सम्प्रेषण भएको ५ वटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट नियन्त्रणमा लिई कानूनी दायरामा ल्याइसकेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘आम नागरिकले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनु आवश्यक छ । सामाजिक सञ्जालको दुरूपयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव सक्रिय छ ।’ कानूनको पालना गरी असल नागरिकको परिचय दिन समेत उहाँले सबै आम नागरिकहरूलाई आग्रह गर्नुभयो ।  

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न
२०८२-१०-१९

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १४औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री कार्कीले तालिममा सर्वप्रथम एवम् शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेतलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गर्नुभयो । साथै उहाँले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक तारा बहादुर तामाङ, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक ईश्वर महत, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक दिनेश प्रसाद रिमाल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक नविन कुमार शाही र मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक श्रीमान चाईलाई पुरस्कार प्रदान गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कठिन परिश्रम, अनुशासन र समर्पण भावका साथ प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापुर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । तालिमका क्रममा विकसित सामुहिक भावना, निर्णय क्षमताको विकास र संकटको सामना गर्ने अभ्यास पेशागत जीवनका आधार स्तम्भ भएको चर्चा गर्दै कुशल नेतृत्व क्षमता एवम् जिम्मेवारीबोध गराउँदै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्षम बनाउने समेत उहाँले बताउनुभयो ।  नेपाल प्रहरी मुलुकको कानुन कार्यान्वयन गर्ने एक प्रमुख संस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘एक जिम्मेवार प्रहरी अधिकृतको हैसियतले तपाईहरू आज राज्य र नागरिक बिचको पहिलो सम्पर्क बिन्दु बन्नुहुनेछ । नागरिकले आफ्नो सरकार तपाईको व्यवहार र आचरणमा देख्नेछन् । तपाईको निर्णय र आचरणले राज्य प्रतिको धारणा जनताले बनाउनेछन् । त्यसैले तपाईहरूले सधै सम्झिदिनु होला कानुन भन्दा माथि कोहि छैन तर कानुन कार्यान्वयन गर्ने जिम्मा पाएका अधिकृतहरूमा शिष्टता र मानवताको भावना पनि हुनुपर्छ । कानुनको सही कार्यान्वयन तब मात्र सम्भव हुन्छ जब अनुसन्धान स्पष्ट र व्यावसायिक हुन्छ । दुखी गरिब र कमजोरको आवाज सुन्ने, निमुखाको भावना बुझ्ने तथा पद, प्रभाव, लोभ र दबाबमा नझुक्ने, सत्यको पक्षमा दृढ रहन सक्ने प्रहरी नै न्याय प्रणालीको मेरूदण्ड हो ।’ परम्परागत अपराध सहित साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्दका नयाँ आयामहरू देखा परिरहेका र यस्तो अवस्थामा प्रहरीको भूमिका केवल आदेश पालनामा मात्रै सिमित नरही एक विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको र यस दायित्वमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने उल्लेख गर्दै कुनै राजनीतिक प्रभाव, पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्म अनुसार सबै प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो । कठिन परिस्थितिमा पनि संवेग, विवेक र न्यायको मार्ग पहिल्याउन सक्ने नै सक्षम प्रहरी हुने चर्चा गर्दै सही निर्णय गर्दा हुनसक्ने आलोचना र धम्कीबाट नडराई कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै समय अनुसार विकसित र सुदृढ प्रहरी नै राज्यको अपेक्षा र चाहना रहेकोले यसको निरन्तर सुधार र विकासको लागि नेपाल सरकार सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । उक्त अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रको आन्तरिक सुरक्षा जस्तो गहन जिम्मेवारी वहन गरेको नेपाल प्रहरीको काँधमा कानुन कार्यान्वयन, अपराध नियन्त्रण र अनुसन्धान, मानव अधिकारको संरक्षण, विपद व्यवस्थापन जस्ता संवेदनशील दायित्वहरू रहेको बताउनुभयो । आज दीक्षित हुने प्रहरी अधिकृतहरू अब केवल निलो बर्दीधारी मात्र नभई राज्यको प्रतिनिधि, कानुनको संरक्षक र जनविश्वासका वाहक भएको बताउनुभयो । अपराधका स्वरूप जटिल बन्दै चुनौतीहरू बढिरहेको अहिलेको अवस्थामा पुरानो सोच र पुराना विधिबाट मात्र नयाँ समस्या समाधान नहुने हुँदा त्यसता समस्यालाई फरक ढंगबाट बुझेर सोही अनुरूप समाधान गर्नुपर्ने एवम् कानुनको गहिरो ज्ञानसँगै विवेक, संयमता, नैतिकता र व्यावसायिक निर्णय क्षमताको पनि आवश्यकता रहने उहाँले बताउनुभयो । आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय तवरबाट सम्पन्न गराउन नेपाल प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरी पूर्ण रूपमा तटस्थ, व्यावसायिक र कानुन अनुसार परिचालित भई विगतमा जस्तै यस पटकको निर्वाचन पनि सफलता पुर्वक सम्पन्न गरेर आफ्नो व्यावसायिक दक्षता प्रमाणित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ज्ञान, सिप र क्षमता विकासका लागि प्रशिक्षणका विभिन्न उतारचढाव, कठिनाई अनि चुनौतीहरू पार गर्दै झन्डै १९ महिना पश्चात आज दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई दिँदै सफल एवम् उपलब्धीपूर्ण सेवाकालको लागि शुभकामना सहित पवित्र गरिमामय र नागरिक सेवामा समर्पित नेपाल प्रहरी संगठनमा स्वागत समेत गर्नुभयो । प्रहरी आम नागरिकले सुखमा भन्दा दुखमा, हर्षमा भन्दा पिडामा, कुनै पनि आपतविपत र समस्या पर्दा तत्काल सम्झिने नागरिकका दैनिक कार्यसँग अन्योन्याश्रित रहेको निकाय भएको र यो संगठनको सदस्य हुन पाउनुमा जति गर्व र सम्मान जोडिएको छ यो सँगै गाँसिएर आउने जिम्मेवारी र चुनौतीहरूका दायराहरू पनि त्यत्तिकै बृहत्त हुने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले नागरिकका समस्या, पिडा र दुख राज्यको सम्बन्धित निकाय सम्म पुर्‍याइदिने संवाहक तथा राज्य उनीहरू सँगै रहेको अनुभूति दिलाउन सक्ने प्रतिनिधि पनि प्रहरी भएको चर्चा गर्दै नागरिकका अनगिन्ती समस्या, असीमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रथम पंक्तिमा उभिएर आफ्नो जिम्मेवारी वहन गर्दै आइरहेको बताउनुभयो । सात दशकको इतिहास बोकेको नेपाल प्रहरीले अनेकौं उतारचढाव वाबजुद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत रूपमा समर्पित रहेको उहाँले उल्लेख गर्नुभयो । समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । साथै उहाँले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८१ साउन २१ गतेबाट शुरू भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा ९ महिला सहित कुल ९२ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको जानकारी दिनुभयो ।प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगितिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।दीक्षान्त समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरिक्षक राजेन्द्र सिंह भण्डारी, प्रधानमन्त्री ज्यूका मुख्य सल्लाहकार, प्रधानमन्त्री ज्यूका प्रेस सल्लाहकार, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न
२०८२-१०-०७

काठमाडौं, निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ ।  कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउने लगायतका समसामयिक विषयमा वृहत छलफल भएको थियो । साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवम् सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरी कार्यसम्पदान गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।  कार्यक्रममा गृहमन्त्री ओम प्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायत निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।