प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

२०८२-१२-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं,  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-२ बस्ने सल्यान कालीमाटी गाउँपालिका-७ घर भएका ५२ वर्षीय कर्ण बहादुर राउत, काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने तनहुँ भानु नगरपालिका-१२ घर भएका ४२ वर्षीय आनन्द थापा, नवलपरासी पूर्व कावासोती नगरपालिका-३ घर भएकी ३९ वर्षीया राधिका पाठक पौडेल र काठमाडौं महानगरपालिका-३१ बस्ने मोरङ सुन्दहरैँचा नगरपालिका-३ घर भएका ४७ वर्षीय तिलक परियार रहेका छन् ।  

पक्राउ मध्ये कर्ण बहादुरले फिनल्याण्ड पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट ५७ लाख रूपैयाँ, आनन्दले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ, राधिकाले फिनल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ र तिलकले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई काठमाडौं महानगरपालिका-११ बाट, आनन्दलाई काठमाडौं महानगरपालिका-२६ बाट, राधिकालाई काठमाडौं महानगरपालिका-१२ बाट र तिलकलाई काठमाडौं महानगरपालिका-२९ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
हत्यामा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-२४

सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-११ गन्जे डाँडा बस्ने ४६ वर्षीय तोई बहादुर कटवालको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-११ राम्पा बस्ने १९ वर्षीय रोशन भन्ने भुवन सिंह कार्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । तोई बहादुर आफ्नै घरमा शनिबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट खटिएको प्रहरीले भुवन सिंहलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा भुवन सिंहले आपसी वादविवादको क्रममा चक्कु प्रहार गरी तोई बहादुरको हत्या गरेको खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२३

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१ घर भएका ४८ वर्षीय अच्युत्तम भन्ने अच्चुत्तम प्रसाद रिसाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत महोत्तरीबाट २०८३ वैशाख २१ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-५ हाईविजन क्लोनीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी पठाइएको छ ।