प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभार कार्यमा सहयोग पुर्‍याउने व्यक्तित्वहरू सम्मानित

२०८२-१२-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जेन-जी आन्दोलन पश्चात प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभार कार्यमा सहयोग पुर्‍याउने Rotary President Action Group का पदाधिकारीहरूलाई सम्मान गर्नुभएको छ । 

प्रहरी महानिरीक्षक कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित विशेष समारोहमा रोटरी क्लबका पदाधिकारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको हो । गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा क्षति पुगेका काठमाडौं र ललितपुर जिल्लाका ९ वटा प्रहरी कार्यालय भवनहरूको पुन:संभार कार्यमा Rotary President Action Group को तर्फबाट प्राप्त निस्वार्थ एवम् सह्रानीय सहयोगको कदर स्वरूप उक्त सम्मान गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो ।  

समारोहमा प्रहरी महानिरीक्षक कार्कीले रोटरी क्लबले समाजको विभिन्न क्षेत्रहरूमा गरेको योगदानको प्रशंसा गर्दै क्लबले प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभारमा पुर्‍याएको योगदानले प्रहरी कर्मचारीहरूलाई अझ जनसेवामा समर्पित भई कार्य गर्न थप प्रेरणा प्राप्त भएको बताउनुभयो । प्रहरी पेशा मात्र नभई स्वार्थ रहित सेवा समेत भएको चर्चा गर्दै नागरिकको दु:ख, पीडा एवम् समस्यालाई धैर्यतापूर्वक सम्बोधन गर्दै सबैलाई विभेद रहित सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरू दत्तचित्त हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सके मात्र गैर कानुनी क्रियाकलाप गरे ढिलो चाँडो कानुनी दायरामा पुगिन्छ भन्ने सन्देश समाजमा प्रवाह भई समाजलाई अपराधमुक्त बनाउनुका साथै शान्त एवम् समृद्ध समाज निर्माणमा समेत सहयोग पुग्ने बताउनुभयो । नागरिकको साथ र सहयोगबाट नै प्रहरी आफ्नो व्यक्तिगत समस्याहरू बिर्सिएर समाजको लागि समर्पित हुन प्रेरित हुने उल्लेख गर्दै आगामी दिनमा समेत यस किसिमको साथ र सहयोगको निरन्तर अपेक्षा लिएको उहाँले बताउनुभयो । 

 काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा Rotary President Action Group का संयोजक राजाराम फुयाँलले प्रहरी कार्यालय भवन पुन:संभारमा Rotary President Action Group ले पुर्‍याएको सहयोग सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो भने District Governor Elect Of Rotary District Nepal का विष्णु बहादुर कार्कीले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

कार्यक्रममा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, Rotary President Action Group का पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०५-०४

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समुदायस्तरमा चासोको विषय बन्न सक्ने कुनै पनि आपराधिक घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बिहीबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो ।प्रहरी महानिरीक्षक कार्कीले सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्ने बताउँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्यालाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । प्रविधिमैत्री प्रहरी सेवालाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक सञ्जालहरूबाट प्राप्त सूचना तथा जानकारीहरूलाई सक्रियताका साथ सम्बोधन गरी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले विपद् तथा प्रकोपको समयमा उच्च सतर्कता अपनाई उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै सरोकारवाला अन्य निकायहरूको समन्वयमा प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताउनुभयो । परिस्थितिको मूल्याङ्कन गरी बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी भीड नियन्त्रणमा अझ प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले समयसापेक्ष आफ्नो व्यवहारमा परिवर्तन गर्दै प्रविधिको उच्चतम प्रयोग गरी प्रभावकारी ट्राफिक व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरू सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताउनुभयो । आ-आफ्नो जिम्मेवारी क्षेत्रको सूचना संकलनलाई विशेष प्राथमिकतामा राखि शान्ति सुव्यवस्था कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीहरू कटिबद्ध भई जिम्मेवारी बहन गर्नुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक श्रीवृद्धि तथा उद्देश्य प्राप्तिका लागि विगतमा भएका कमी कमजोरीहरूलाई विश्‍लेषण गरी सामूहिक भावनाका साथ आवश्यक योजना तथा नीति बनाई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने उहाँले बताउनुभयो । सेवाग्राहीहरूको सुविधालाई ध्यान दिँदै कार्यालयको भौतिक संरचनाको उचित व्यवस्थापन, कार्यालय परिसरको नियमित सरसफाई तथा सवारी साधनहरूको उचित मर्मत संभारमा समेत विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

१० जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८३-०४-२१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका १० जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार गृहमन्त्रीस्तरको २०८३ साउन १८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८३ साउन १८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ४ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. दामोदर कंडेल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई. अमरेन्द्र प्रसाद सिंह, राम बाबु राना, अभय कुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू ई. निशा चौधरी, ई. सन्जिप दाहाल, ई. रमेश कुमार साह र ई. अञ्जन राज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मिन प्रसाद खत्री रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि गर्दै दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन एवम् शान्ति सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका प्रहरी कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन प्राविधिक समूहको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै सांगठनिक श्रीवृद्धिमा थप योगदान पुर्‍याउन उहाँले निर्देशन   दिनुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको प्रयोगबाट सिर्जित अपराधहरू दिनानुदिन वृद्धि हुँदै गइरहेको सन्दर्भमा त्यस्ता अपराधहरूलाई सम्बोधन गर्न एवम् बदलिदो परिवेशलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी उच्च व्यावसायिकता प्रदर्शनका साथै थप उत्तरदायी भई उत्कृष्ट कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।    समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. दामोदर कंडेलले प्रहरी संगठनको गरिमा, प्रतिष्ठा र संगठन प्रतिको विश्वासलाई अझ उच्च बनाउने कार्यमा सदैव इमानदार, निष्पक्ष, अनुशासित, व्यावसायिक, प्रविधिमैत्री र सेवामुखी रही आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू एवम् जवानहरूको समेत उपस्थिति रहेको थियो । 

मानव बेचबिखन नियन्त्रणका लागि सबैको एकीकृत र प्रभावकारी प्रयास अपरिहार्य - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०४-१२

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मानव बेचबिखन संगठित अपराध तथा अन्तर्राष्ट्रिय अपराधिक सञ्जालसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएको उल्लेख गर्दै यसको नियन्त्रणको लागि सुरक्षा तथा न्याय प्रणाली, स्थानीय तह, नागरिक समाज, संचारमाध्यम, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिकबीचको सचेतना, सूचना आदानप्रदान, समन्वयात्मक उद्धार तथा अनुसन्धान एवम् अन्तर्राष्ट्रिय सहकार्यमा आधारित एकीकृत र प्रभावकारी प्रयास अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस, २०२६ को अवसरमा ‘Trapped Behind the Scam’ भन्ने नाराका साथ नेपाल प्रहरीको आयोजना र माइती नेपालको सहकार्यमा उक्त अन्तरक्रिया आयोजना गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आगामी एक वर्षसम्म मानव बेचबिखन विरूद्धको राष्ट्रिय सचेतना अभियानमा आफ्नो कला, आवाज र लोकप्रियतालाई समर्पित गरी Anti Human Trafficking Awareness को राजदूतको रूपमा सहकार्य गर्नुहुने एवम् हास्यव्यङ्ग्यको माध्यमबाट गम्भीर सामाजिक विषयवस्तुहरूलाई जनमानसमा पुर्‍याउँदै मानव बेचबिखनको अभियानलाई थप सशक्त एवम् प्रभावकारी बनाउन अमुल्य योगदान पुर्‍याउनु हुने वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेठ र हरिवंश आचार्यलाई कदरपत्र  प्रदान गर्नुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले मानव बेचबिखनलाई परम्परागत दृष्टिकोणबाट मात्र नभई साइबर अपराध, आर्थिक अपराध र संगठित अन्तर्राष्ट्रिय अपराधको समग्र सन्दर्भमा हेर्नुपर्ने उल्लेख गर्दै बहुपक्षीय सहभागीतामा आयोजित यस अन्तरक्रिया कार्यक्रमले मानव बेचबिखनको बद्लिदो स्वरूपलाई सम्बोधन गर्न प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । विगतको भन्दा पछिल्ला दिनहरूमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको, तस्करहरूले पीडितको कानुनी कागजातहरू प्रयोग गरेर हुने गरेको अनलाइन ठगी तथा साइबर स्क्याम जस्ता गतिविधिहरू थप चुनौतीको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल प्रहरीले आफ्नो कार्यशैलीलाई समयसापेक्ष परिमार्जन गर्दै सूचना संकलन प्रणालीलाई थप विस्तार, सीमा क्षेत्रमा थप निगरानी, जोखिममा रहेका यात्रुहरूको प्रोफाइलिङ तथा ठगी गर्ने म्यानपावर कम्पनी र शैक्षिक कन्सलटेन्सीको आवरणमा मानव तस्करी गर्ने संस्थाहरू माथिको कारबाहीलाई उच्च प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले अन्तरक्रियाबाट प्राप्त सुझाव, निष्कर्ष एवम् पृष्ठपोषणले नेपाल प्रहरीलाई मानव बेचबिखनको बद्लिदो स्वरूप बुझ्न नयाँ दृष्टिकोण, अनुसन्धानका नयाँ आयाम तथा अझ प्रभावकारी कार्यदिशा प्रदान गर्ने उल्लेख गर्दै यसबाट प्रहरी कर्मचारीहरू थप सुसुचित हुने र आगामी दिनमा अझ सशक्त, उत्तरदायी र परिणामुखी अनुसन्धान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।  नेपाल प्रहरी मानव बेचबिखन नियन्त्रण, पीडितको संरक्षण, अपराधी माथि कठोर कारबाही तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउन सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । माइती नेपालका कार्यकारी निर्देशक विश्व राम खड्काले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायव महानिरीक्षक दिपक कुमार बस्नेतले स्वागत मन्तव्य तथा वरिष्ठ कलाकार हरि वंश आचार्यले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले आप्रवासन, मानव बेचबिखन तथा ओसारपसार र मानव तस्करीको अवधारणा, विद्यमान अवस्था, चुनौती र सुझावहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा माइती नेपाल र नेपाल प्रहरीले तयार पारेको छुट्टाछुट्टै मानव बेचबिखन सम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा मानव बेचबिखन नियन्त्रण, अनुसन्धान, पीडित संरक्षण, सुरक्षित वैदेशिक रोजगारी, डिजिटल सुरक्षा, अन्तर्राष्ट्रिय समन्वय, मानव बेचबिखन न्यूनीकरणमा देखिएका समस्या र चुनौती लगायतका विषयमा वृहत्त अन्तरक्रिया एवम् छलफल भएको थियो । डिजिटल तथा अनलाइन माध्यमबाट हुने बेचबिखनका जोखिमहरू बारे सचेतना अभिवृद्धि गर्नु, सुरक्षा निकाय, सरकारी तथा गैर सरकारी संस्था, सञ्चारमाध्यमहरू, निजी क्षेत्र र समुदायबीच समन्वय तथा सहकार्यलाई सुदृढ बनाउनुका साथै युवाहरू, अभिभावक, समुदाय तथा सरोकारवालाहरूलाई सुरक्षित डिजिटल व्यवहार र सचेत निर्णय गर्नका लागि प्रेरित गर्नु यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख, वरिष्ठ प्रहरी अधिकृतहरू, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय महिला आयोगका प्रतिनिधि, राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, माइती नेपालका पदाधिकारीहरू, संचारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, काठमाडौं, ललितपुर र भक्तपुरस्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०४-०९

धनुषा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनहरूको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक प्रतिको हाम्रो दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार प्रदान गरेको उल्लेख गर्दै आगामी दिनमा यस केन्द्रले सहज, सुरक्षित र सम्मानजनक पहुँच स्थापित गरी पीडितमैत्री, पीडित केन्द्रीत, व्यवसायिक एवम् प्रविधिमैत्री सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू अत्यन्त संवेदनशील तथा जोखिममा रहेको वर्ग भएको उल्लेख गर्दै उनीहरू विरूद्ध हुने अपराधको न्यूनीकरण गर्दै न्यायको पहुँचको सुनिश्चितता गर्नु सबै सरोकारवाला निकायको दायित्व भएको उहाँले बताउनुभयो । साथै उहाँले भौतिक पुर्वाधार विकासमा UNOPS ले निर्वाह गरेको सहयोगी भूमिकाको प्रशंसा गर्नुका साथै नवनिर्मित भवनले सेवाग्राही र प्रहरीको सम्बन्धलाई अझ मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको   थियो । UNOPS को सहयोगमा कुल ३ करोड ९९ लाख ७६ हजार ५ सय ३ रूपैयाँ १६ पैसाको लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०४-०९

धनुषा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय सबैलाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार सिर्जना गरेको बताउनुभयो । नयाँ भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतिक भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु प्रहरी र नागरिक दुबैको दायित्व रहेको उहाँले बताउनुभयो । नागरिकको समस्या सम्बोधन गर्न थप क्रियाशील भई सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको  थियो । UNOPS को सहयोगमा कुल ३ करोड ३ लाख ५४ हजार ६ सय १ रूपैयाँ ७८ पैसाको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

मेट्रो ट्राफिक एफ.एम. को १४ औं वार्षिकोत्सव सम्पन्न
२०८३-०४-०८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रमबीच मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जको १४औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सहयोगी संस्था, विज्ञापनदाता र उत्कृष्ट सवारी चालकलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले ट्राफिक जनचेतनामूलक गीतको विमोचन समेत गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक एफएमले स्थापनाकाल देखिनै ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउँदै ट्राफिक सचेतना अभिवृद्धि गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, अपराध विरूद्ध जनचेतना फैलाउन तथा सुरक्षा सम्बन्धी सही र विश्वसनीय सूचना समयमै प्रवाह गर्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । ट्राफिक एफएमको सफल संचालनमा निरन्तर साथ, सहयोग र सहकार्य गर्नुहुने विभिन्न निकाय, स्थानीय तह, सञ्चारकर्मी एवम् प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने महानुभावहरू प्रति आभार व्यक्त गर्दै आगामी दिनमा एफएमको संस्थागत सम्वृद्धिको शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीले प्रविधिमैत्री सेवा प्रवाहलाई विशेष प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आइरहेको चर्चा गर्दै ट्राफिक एफएमले पनि आगामी दिनमा सामाजिक सञ्जालको प्रयोग मार्फत नागरिक समक्ष अझ छिटो, छरितो एवम् भरपर्दो सूचना प्रवाह गर्न थप क्रियाशील हुनुपर्ने बताउनुभयो । एफएमले आगामी दिनमा आफ्नो क्षमता विस्तार गरी सडक सुरक्षा तथा सुरक्षा सचेतनामा समयानुकूल, नवप्रवर्तनात्मक, गुणस्तरीय एवम् विश्वसनीय नागरिक केन्द्रीत कार्यक्रमहरू ल्याई अझ सशक्त एवम् प्रभावकारी रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै ट्राफिक सचेतनामूलक सामग्रीहरूको प्रभावकारिता अभिवृद्धि एवम् एफएमसँग आधुनिक स्रोतहरूलाई समेट्नको लागि समयानुकूल सामग्री तथा विधिलाई आफ्नो कार्यक्रममा समावेश गर्दै आगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका निमित्त नगरप्रमुख मञ्जली शाक्य बज्राचार्य, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, महानायक राजेश हमाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले आ-आफ्नो शुभकामन मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले स्वागत मन्तव्य एवम् एफ.एम. को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा ट्राफिक एफ.एम.को यात्रा तथा उपलब्धी,  एवम् ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सामग्रीहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका पदाधिकारीहरू, वरिष्ठ कलाकारहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।