अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०१-२३
- A
- A-
- A+
काठमाडौं, गोकर्णश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध नोर्फिन १८ एम्पुल, फेनारगन १८ एम्पुल र डाईजेपाम १८ एम्पुल सहित सोही ठाउँ बस्ने ३८ वर्षीय फुर्पा लामालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-११ चिल्ड्रेन पार्क नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९७ ट्याब्लेट सहित काठमाडौं बालाजु बस्ने गोरखा भीमसेनथापा गाउँपालिका-७ घर भएका २८ वर्षीय राजेश भुषाल समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-१० रामनगरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, फेनारगन १९ एम्पुल र आइपिपिएल २० एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३२ तल्लो गगनगौडा बस्ने ४० वर्षीय सुनिल परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बर्दघाटबाट बुटवलतर्फ आउँदै गरेको लु.१ ख ९४५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, धनगढीमाई नगरपालिका-१ मेदनीपुर सरस्वती खोला नजिकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम र डिजिटल तराजु १ थान सहित लहान नगरपालिका-१३ गणेशपुर बस्ने २७ वर्षीय विशेश्वर पासवानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, माडी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ४ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२६ दिव्यनगर बस्ने २६ वर्षीय सुदिप गुरूङ र सोही महानगरपालिका-१७ बनगाई बस्ने २९ वर्षीय आयुष महतो रहेका छन् । प्रहरी चौकी सोमेश्वरबाट खटिएको प्रहरीले ठोरीबाट बसन्तपुरतर्फ जाँदै गरेको ना.६५ प ७८५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ हर्वासी डेरा गरी बस्ने ३५ वर्षीय घनश्याम अधिकारीलाई अवैध लागूऔषध गाँजा करिब २ सय ६६ ग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डण्डाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-५ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ट्याब्लेट र स्पास्पेन १ हजार ३ सय ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३५ वर्षीय हरी बहादुर बिक समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देउराली र अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली शिव मन्दिर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय गणेश थापालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी विट लाटिकोईलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।