प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्घाटन
२०८३-०१-३०
- A
- A-
- A+
पर्सा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको समग्र क्षमता विकासमा भौतिक पूर्वाधारहरूको प्रमुख भूमिका रहने उल्लेख गर्दै भौतिक पुर्वाधार विकासमा UNOPS ले निर्वाह गरेको सहयोगी भूमिकाको प्रशंसा गर्नुका साथै नवनिर्मित भवनले सेवाग्राही र प्रहरीको सम्बन्धलाई अझ मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो । विशिष्टिकृत भवनको सञ्चालनसँगै महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको न्यायमा पहुँच स्थापित गर्न थप सहज भएको बताउँदै भवनबाट प्रवाह हुने सेवाहरू छिटोछरितोका साथै प्रविधिमैत्री, निष्पक्ष एवम् पारदर्शी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू अत्यन्त संवेदनशील वर्ग हुने भएकोले उनीहरूलाई प्रदान गर्ने सेवा, सुरक्षा, सहायताका साथै उनीहरूको समस्या सम्बोधनको लागि प्रहरी कर्मचारीहरू पनि त्यतिनै संवेदनशील हुन जरूरी रहेको बताउनुभयो । सभ्य र सुरक्षित समाज निर्माणमा सबैको सामुहिक प्रयास तथा सहकार्य आवश्यक रहेको चर्चा गर्दै नागरिकबाट प्राप्त साथ, सहयोग, समर्थन र सद्भावले प्रहरीलाई अझ उत्प्रेरित भई कार्य गर्न ऊर्जा प्राप्त भएको बताउनुभयो ।
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल २ करोड १ लाख ७४ हजार ४ सय ६ रूपैयाँ ५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा वीरगंज महानगरपालिकाका उपप्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।