प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी रणनीतिक योजना सार्वजनिकीकरण

२०८३-०२-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरीको रणनीतिक योजना २०८३-०८५ सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।

समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भ गर्नुका साथै प्रहरी वरिष्ठ नायव निरीक्षक श्रीहरी केसीद्वारा लिखित ‘मिसन’ नामक पुस्तक विमोचन समेत गर्नुभयो ।

नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर नेपाल प्रहरीले आगामी तीन वर्षका लागि तयार गरेको रणनीतिक योजना २०८३-०८५ तयार गरेको छ । रणनीतिक विषय (Strategic Theme) “नवप्रवर्तन, इमानदारिता र तत्परता मार्फत प्रहरी सेवाको रूपान्तरण (Transformation of Policing through innovation, integrity & responsiveness)’ तय गरिएको यस रणनीतिक योजनाको कार्यान्वयनको माध्यमबाट नागरिक केन्द्रित प्रहरी सेवा, प्रविधिमैत्री रूपान्तरण, मानव अधिकारप्रति प्रतिबद्धता र उच्च व्यावसायिकता मार्फत नेपाल प्रहरीलाई अझ सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । 

समुदायसँगको साझेदारीलाई मजबुत बनाउँदै प्रविधिको अधिकतम् प्रयोगमार्फत प्रहरी सेवालाई समयसापेक्ष, पारदर्शी र परिणाममुखी बनाउन यस योजनाले जोड दिएको छ । यस रणनीतिक योजनाद्वारा कुल ७ वटा रणनीतिक क्षेत्रहरू अन्तर्गत रहेर ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्यक्रमहरू सम्पन्न गरिनेछ । यस रणनीतिक योजनाको कार्यान्वयनद्वारा नीतिगत र कानुनी सुधार, समुदाय प्रहरी सहकार्य संस्थागत र सुदृढ, समस्या र पुर्वानुमानमा आधारित अपराध रोकथाम र नियन्त्रण प्रणाली, जनशक्तिको सेवा विशिष्टीकृत कार्य विवरण र कार्य सम्पादनमा आधारित वृत्ति विकास, अपराध अनुसन्धान र प्रहरी कार्यका विशिष्टीकरण र आधारभुत क्षमता स्थापना, प्रहरी प्रशासन र सेवा प्रवाहका प्रणालीहरूको कार्यदक्षता र कार्य प्रभावकारितामा सुधार, सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कनका वैज्ञानिक मापदण्डहरूको विकास र कार्यान्वयन लगायतका लक्ष्यहरू हासिल गर्ने अपेक्षा गरिएको छ । नीति, योजना र अन्तर्राष्ट्रिय समन्वय, शान्ति सुरक्षा, प्रहरी कारबाही र विपद् व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, मानवस्रोत विकास, भौतिक पूर्वाधार, स्रोत साधन तथा सहायता सेवाहरू, सूचना प्रविधि लगायतमा रणनीतिक योजनाका कार्यक्षेत्र रहेको छ ।  

साथै नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको शुभारम्भले नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ, सहज र पारदर्शी बनाउन महत्वपूर्ण योगदान पुग्ने एवम् सेवाग्राहीको निवेदन, उजुरी लिएन भन्ने गुनासोको अन्त्य हुने अपेक्षा गरिएको छ । नेपाल प्रहरीमा प्राप्त निवेदन, उजुरी तथा गुनासो व्यवस्थापन प्रक्रियालाई पारदर्शी र उत्तरदायी बनाउँदै सेवाग्राहीमैत्री सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउनुका साथै प्रहरी कार्यालयहरूबीच सूचना आदानप्रदानलाई एकीकृत गर्ने, तथ्याङ्क विश्लेषण तथा प्रतिवेदन प्रणाली विकास गर्ने एवम् डिजिटल अभिलेख व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित बनाउनु यस प्रणालीको मुख्य उद्देश्य रहेको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले योजनाबद्ध विकासको माध्यमबाट नेपाल प्रहरीलाई पेशागत रूपमा उत्कृष्ट, व्यावसायिक, समयसापेक्ष एवम् आमनागरिकको अपेक्षा बमोजिमको सेवा प्रवाह गर्ने सक्षम संस्थाका रूपमा विकास गर्न नेपाल प्रहरी रणनीतिक योजना तयार गरिएको बताउनुभयो । विगतको कार्ययोजनाको प्रमुख उपलब्धिहरू तथा कार्यान्वयन पक्षमा देखिएका मूलभूत समस्याहरूलाई विश्लेषण गरी त्यस्ता समस्याहरूलाई यथोचित सम्बोधन गर्न रणनीतिक योजना तयार गरिएको उल्लेख गर्दै यस योजनालाई मूर्तरूप दिन सम्पूर्ण प्रहरी कर्मचारीहरूको सामुहिक भावना र चाहना जरूरी रहेको उहाँले बताउनुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले परम्परागत अपराधहरू रूपान्तरण भएर संगठित स्वरूपमा गइरहेको साथै आर्थिक अपराधहरूको संख्यामा समेत वृद्धि भइरहेको अवस्थामा त्यसलाई सम्बोधन गर्न यो रणनीतिक योजना प्रभावकारी हुने उल्लेख गर्दै यसका लागि भौतिक पूर्वाधार तथा मानवस्रोतको विकास, आधुनिक प्रविधिको प्रयोग, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायहरूको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणाली मार्फत सेवाग्राहीहरूलाई प्रहरी सेवामा सरल र सहज पहुँच स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारी तथा आमनागरिकहरूलाई नेपाल प्रहरीको ‘मोबाइल एप’ प्रयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले प्रहरीको व्यस्त जीवनशैलीमा रहेर समेत साहित्यिक कृति सृजना गर्ने प्रहरी वरिष्ठ नायब निरीक्षक केसीले दुई दशक भन्दा लामो निरन्तर प्रहरी जीवनका आरोह अवरोहहरूलाई समेटी कलात्मक ढंगले सृजना गरेको यात्रा-संस्मरणात्मक कृतिले प्रहरी संगठनभित्र ज्ञान, अनुभव र अध्ययन संस्कृतिको विकासमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरीको रणनीतिक योजना २०८३-०८५ को पृष्ठभूमि, रणनीतिक योजना तर्जुमाका विधिहरू, नेपाल प्रहरी कार्ययोजना २०८०-०८२ को उपलब्धिहरू, रणनीतिक योजनाका लक्ष्यहरू (अल्पकालीन/दीर्घकालीन), रणनीतिक योजनाका क्षेत्रहरू, रणनीतिक योजनाको कार्यान्वयन, अनुगमन र मूल्याङ्कन लगायतका विषयहरूमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा टीका तथा प्रसाद प्रदान
२०८३-०७-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बडा दसैं २०८३ को अवसरमा बिहीबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कार्कीले टीका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि बिहान १० बजे देखि दिउँसो १३:०० बजेसम्मको समय तोकिएको थियो । टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो । टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट बडा दसैं मौलो पूजा सम्पन्न
२०८३-०७-०३

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बडा दसैंका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कार्कीले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कार्कीले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी हवल्दार राम कुमार कार्कीलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार पोषण राज बुढाथोकीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवम् महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमा समेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।   

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण
२०८३-०६-३०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ७१औं प्रहरी दिवस २०८३ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो ।सोही अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा तयार पारिएको नेपाल प्रहरी प्रतिको सार्वजनिक धारणा सर्वेक्षण, भीड नियन्त्रणको क्रममा मानवीय तथा भौतिक क्षति कम गर्दै गैरघातक हतियार तथा उपकरणको प्रयोगको अवस्था एवम् सुधारका क्षेत्रहरू, नेपाल प्रहरीमा वित्तीय अपराध अनुसन्धानको वर्तमान अवस्था तथा सुधारका क्षेत्रहरू र प्रहरी जवानहरूको कार्यक्षेत्रमा कार्यसम्पादनको अवस्था र तालिमको प्रभावकारिता तथा ज्ञान, व्यवहारको मूल्याङ्कन सम्बन्धी अध्ययन प्रतिवेदनहरू सार्वजनिकीकरण गर्नुभयो । साथै उहाँले उत्कृष्ट कार्य गर्ने प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाह, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम कँडेल, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा र अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीलाई कदरपत्र प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी नायव उपरीक्षक सुवास भट्ट, प्रहरी नायव उपरीक्षक जिवन निरौला, प्रहरी नायव उपरीक्षक दान बहादुर थापा, प्रहरी निरीक्षक विशाल मल्ल, प्रहरी निरीक्षक गणेश पौडेल, प्रहरी निरीक्षक प्रकाश रेग्मी, प्रहरी निरीक्षक सुन्दर चौलागाई, प्रहरी नायव निरीक्षक भान बहादुर चन्द, प्रहरी नायव निरीक्षक सविना तामाङ र प्रहरी सहायक निरीक्षक सरोज मजाकोटीलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी जवान प्रमिला कार्की, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक होत बहादुर रोका, उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी उपरीक्षक विपिन रेग्मी, प्रहरी नायव उपरीक्षक अशोक थापा, प्रहरी निरीक्षक रमेश राय, प्रहरी निरीक्षक छत्र बहादुर रावत, प्रहरी नायव निरीक्षक कृष्ण प्रसाद भट्टराई, प्रहरी सहायक निरीक्षक पवन बस्नेत, प्रहरी सहायक निरीक्षक निशा खत्री, प्रहरी सहायक निरीक्षक अर्जुन पंजियार थारू, प्रहरी जवान लाल बहादुर कार्की, प्रहरी जवान सुरज लुहार र प्रहरी जवान निवस राईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी निरीक्षक देवेन्द्र दास र उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक राज कुमार चौधरी र प्रहरी हवल्दार ललिता खवासलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कारतर्फ प्राविधिक प्रहरी उपरीक्षक ई. ईश्वर थापा, प्राविधिक प्रहरी नायव उपरीक्षक डा. आज्ञा श्रेष्ठ, प्राविधिक प्रहरी नायव उपरीक्षक ई. मुकेश तिवारी, प्राविधिक प्रहरी नायव उपरीक्षक रविन भण्डारी, प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक मान बहादुर कार्की, प्राविधिक प्रहरी नायव निरीक्षक ई. नविन मंडल, प्राविधिक प्रहरी सहायक निरीक्षक कृष्ण सेन र प्राविधिक प्रहरी सहायक निरीक्षक भिमसेन थापालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले उत्कृष्ट प्रहरी खेल प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ हवल्दार चेतन घिमिरे, उत्कृष्ट प्रहरी खेलाडी पुरस्कारतर्फ प्रहरी जवान नागेश्वर अहिर, उत्कृष्ट प्रहरी विद्यालय शिक्षक पुरस्कारतर्फ नेपाल प्रहरी विद्यालय साँगा काभ्रेमा कार्यरत उद्धव कार्की एवम् उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दार सन्जु महर्जन र प्रहरी जवान सुरेन्द्र अवस्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठीमा आजीवन सदस्यता ग्रहण गर्नुहुने प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतका १० जना अधिकृतहरूलाई उहाँले कदरपत्र प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी दिवस २०८३ को अवसरमा नेपाल प्रहरीले आयोजना गरेको TikTok Awareness Competition मा भाग लिई उत्कृष्ट जनचेतनामुलक भिडियो बनाउनु हुने बुढानिलकण्ठ नगरपालिका-१४ चुनिखेलका रिषन श्रेष्ठ र तनहुँ व्यास नगरपालिका-२ का महम्मद गफ्फारलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ यशु श्रेष्ठ र प्रहरी निरीक्षक मन्दिप चौहानलाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने सिन्धुपाल्चोक मेलम्ची-४ की लालकुमारी राउत, नुवाकोट शिवपुरी गाउँपालिका-५ का चिरञ्जिवी कार्की, सल्यान कुमाख गाउँपालिका-२ का पैले बुढा र अछाम पञ्चदेवल विनायक नगरपालिका-९ की नैना देवी जोशीलाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले अमर प्रहरी स्मारक डिजाइनर काठमाडौं महानगरपालिका-८ पलेखु टोल बस्ने ९३ वर्षीय ठाकुर प्रसाद मैनालीलाई कदरपत्र प्रदान गर्नुका साथै नेपाल प्रहरीलाई भौतिक संरचना लगायत निर्माणमा महत्वपूर्ण सहयोग गर्ने संस्था तथा सर्वसाधारण एवम् नेपाल प्रहरीको विभिन्न कार्यमा सहयोग गर्ने व्यक्तिहरूलाई समेत कदरपत्र प्रदान गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई प्रहरी परिवारका सन्ततिको शिक्षा र उज्ज्वल भविष्य निर्माणका लागि प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोषको स्थापनार्थ ‘प्रहरी सहायक निरीक्षक, ११३ औं समूहको तर्फबाट प्रहरी निरीक्षक सुरेश हायुले चेक हस्तान्तरण गर्नुभयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कार्कीले प्रहरी ऐन, २०१२ जारी भएसँगै नेपाल प्रहरीले संस्थागत स्वरूप प्राप्त गरेको दिनको सम्झना, विभिन्न कालखण्डमा कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्नु भएका अमर प्रहरीहरू प्रति श्रद्धासुमन, वर्षभरि सम्पादन भए गरेका कार्यहरूको सिंहावलोकन गरी विविध विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा जवानहरू एवम् अमर प्रहरीका परिवारजनलाई सम्मान तथा पुरस्कृत गर्ने विशेष पर्वका रूपमा निरन्तर मनाउँदै आइरहेको आजको यस विशेष दिनमा विभिन्न जिम्मेवारीमा रही उल्लेखनीय तथा प्रशंसनीय कार्य गरी आज पुरस्कृत हुनु भएका प्रहरी कर्मचारीहरूलाई हार्दिक बधाई तथा अझ उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । साथै उहाँले नेपाल प्रहरीलाई निःशुल्क जग्गा उपलब्ध गराई प्रहरी संरचनाको विकासमा योगदान पुर्‍याउनुहुने जग्गादाताहरू तथा अपराध अनुसन्धान, भौतिक पूर्वाधार निर्माण र अन्य संस्थागत कार्यमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति नेपाल प्रहरीको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट कार्य गरी पुरस्कृत हुने प्रहरी कर्मचारीहरूले नेपाल प्रहरीको विविध क्षेत्रमा कार्यरत रही निर्वाह गरेको जिम्मेवारी र प्रदर्शन गरेको व्यावसायिकताले नेपाल प्रहरीले जनसेवामा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको उल्लेख गर्दै पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्दै पुरस्कृत हुनुभएका प्रहरी अधिकृतहरूलाई आगामी दिनमा अझ जिम्मेवार, निष्पक्ष, पारदर्शी र परिणाममुखी सेवा प्रदान गर्ने दायित्व समेत थपिएको बताउनुभयो । साथै आज पुरस्कृत हुने कर्मचारीहरूले प्रदर्शन गर्नु भएको अदम्य-साहस, जिम्मेवारी बोध, व्यावसायिक निष्ठा र कुशलताबाट अन्य प्रहरी कर्मचारीहरूले समेत प्रेरणा लिदै आ-आफ्नो कार्य क्षेत्रमा उत्कृष्ट कार्य गर्दै नेपाल प्रहरीको शिर उच्च बनाउने अपेक्षा लिएको समेत उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले मुलुकको बदलिँदो राजनीतिक तथा सामाजिक, आर्थिक परिवेश, विकसित हुँदै गएका सुरक्षा चुनौती, अपराधका नयाँ स्वरूप, प्रविधिको तीव्र विकाससँगै सिर्जित अवसर र चुनौतीहरूलाई मध्यनजर गर्दै आफ्नो कार्यशैली, क्षमता र कार्यसम्पादनमा समयानुकूल रूपान्तरण गर्दै अझ जिम्मेवार, व्यावसायिक, प्रविधिमैत्री र परिणाममुखी ढंगले नागरिक केन्द्रित सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । कानुनको कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र संवर्धनलाई उच्च प्राथमिकतामा राखी कर्तव्यपालनाको क्रममा त्यसतर्फ थप सचेत रहन समेत उहाँले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०६-२४

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नजिकिँदै गरेको महान चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्वहरूको परिवेशमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता र समसामयिक विषयवस्तुका सम्बन्धमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले चाडपर्वहरूको समयमा हुने सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले विशेष गरी चाडपर्वहरूको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू संचालन गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा जोड दिनुभयो । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्नका लागि सूचना संकलन तथा विश्लेषणमा प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताउनुभयो । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्तीको लागि सबै प्रहरी कर्मचारीहरू प्रतिवद्ध हुनुपर्ने बताउँदै गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले बताउनुभयो । साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा विशेष योग शिविर कार्यक्रम सम्पन्न
२०८३-०६-१९

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा पतंजली योगपीठ नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय विशेष योग शिविर, २०८३ कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले योग शिविरको माध्यमबाट प्रहरी कर्मचारीहरूलाई योगको महत्व र योगाभ्यासका बारेमा सचेतना अभिवृद्धि गराई प्रत्यक्ष रूपमा लाभान्वित गराउनु भएकोमा पतंजली योगपीठ प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । स्वस्थ प्रहरी नै सक्षम प्रहरी र सक्षम प्रहरी नै नागरिकको भरोसा योग्य प्रहरी बन्न सक्ने चर्चा गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले योगलाई दैनिक अभ्यास र संस्कारको रूपमा स्थापित गरी सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रहरीको जीवन आमनागरिकको सुरक्षासँग जोडिएको र यसका लागि आवश्यक पर्ने शान्त मन, धैर्यता, संवेदनशीलता, अनुशासन र शारीरिक तन्दुरूस्तीको विकासमा योगले सहयोगी भूमिका खेल्ने समेत उहाँले बताउनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई पतंजली आयुर्वेद केन्द्र नेपालका अध्यक्ष बाबु काजी श्रेष्ठले कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो । पतंजली योग समिति नेपालका संरक्षक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले योग शिक्षाका बारेमा प्रकाश पार्नु भएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो ।   कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, पतंजली योगपीठ नेपालका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।

हाइटेराद्वारा नेपाल प्रहरीलाई विभिन्न उपकरणहरू हस्तान्तरण
२०८३-०६-१९

काठमाडौं, हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडद्वारा नेपाल प्रहरीलाई Hytera POC P50 pro device २० थान, Body Worn Camera २५ थान, Hytera E-Pack Unit २ थान लगायतका विभिन्न सञ्चार उपकरणहरू हस्तान्तरण गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बिच प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक Ning Ma ले उक्त उपकरणहरू हस्तान्तरण गर्नुभएको हो ।    कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाइटेराबाट प्राप्त सहयोगले प्रहरी संगठनलाई समय सापेक्ष प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अपराध अनुसन्धान, दैनिक प्रहरी कार्य लगायतका कार्यहरूलाई थप चुस्त बनाउनुका साथै प्राप्त उपकरणहरूले विपद्‍को कठिन समयमा भौगोलिक विकटतायुक्त क्षेत्रमा छिटो छरितो सञ्चार सम्बन्ध स्थापित गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।    हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक Ning Ma ले हस्तान्तरण गरिएका उपकरणहरूले प्रहरीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उल्लेख गर्नुभयो । आगामी दिनमा नेपाल प्रहरीसँग आपसी समन्वय गरिरहने विचार उहाँले व्यक्त गर्नुभयो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, हाइटेरा कम्युनिकेशन कर्पोरेशन लिमिटेडका प्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।