प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३-०३-०१
- A
- A-
- A+
रूपन्देही, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सोमबार आयोजित आत्महत्या, लागूऔषध दुर्व्यसन, सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो । साथै उहाँले Hack4Safety, 2083 अन्तर्गत प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टोलीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सडक दुर्घटना, लागूपदार्थको दुर्व्यसन एवम् आत्महत्या नेपाली समाजमा गम्भीर समस्याको रूपमा देखा परेको उल्लेख गर्दै यसको न्यूनीकरणकको लागि आयोजना गरिएको यस कार्यक्रम उपलब्धीमुलक हुने विश्वास व्यक्त गर्नुभयो । प्रहरीको एकल प्रयासले समाजमा शान्ति सुव्यवस्था कायम राख्न पर्याप्त नहुने उल्लेख गर्दै त्यसका लागि सबै सरोकारवाला निकायको सामुहिक प्रयत्न र प्रतिबद्धता जरूरी रहेको बताउनुभयो । प्रविधिको प्रयोग मार्फत अपराधको न्यूनीकरण र सफल अनुसन्धानबाट सभ्य र शान्तिपूर्ण समाज निर्माणमा महत्वूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले स्वागत मन्तव्य एवम् कार्यक्रमको उद्देश्य तथा अवधारण प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक दयानिधी ज्ञवालीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल प्रहरी केन्द्रीय संगित विद्यालयबाट ब्याण्ड डिस्प्ले प्रस्तुत गरिएको उक्त कार्यक्रममा एसिड आक्रमण तथा जलन सम्बन्धी जनचेतनामूलक प्रस्तुती एवम् लागूऔषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या तथा बालबिवाह सम्बन्धमा नाटक प्रस्तुतीका साथै लागूऔषध दुर्व्यसनबाट पीडित भई समाजमा पुन:स्थापित भएका व्यक्तिबाट अनुभव सहितको प्रस्तुती गरिएको थियो । साथै सो अवसरमा Hack4Safety, 2083 को संक्षिप्त भिडियो समेत प्रस्तुत गरिएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकार्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिती रहेको थियो ।
विशेषगरी युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै बढ्दो साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा लगायतका विषयमा सचेतना अभिवृद्धि गर्ने जनचेतनामूलक कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।