अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०३-०३
- A
- A-
- A+
कैलाली, कैलारी गाउँपालिका-५ बड्की पलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय निराजन चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-८ मालभंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका-५ र ६ को सिमानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-९ घैलाडुब्बा बस्ने २६ वर्षीय पवन कुमार चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-९ घोडामाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ७ सय ७ मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१४ बस्ने २४ वर्षीया सोनी खाती र झापा मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बस्ने ६० वर्षीया सिता राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय अविनय खतिवडालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले कलमडाँडाबाट लामसुरेतर्फ जाँदै गरेको ना.२ ह ३५७० नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक अविनयलाई पक्राउ गरेको हो
ललितपुर, गोदावरी नगरपालिका-११ शेराफाँटबाट अवैध लागूऔषध गाँजा करिब १ किलो २ सय ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२६ ढोललाहिटी बस्ने ओखलढुंगा घर भएका ३२ वर्षीय मिलन सापकोटा र बागलुङ घर भएका २८ वर्षीय मनिष पुन रहेका छन् । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले प्रदेश ३-०२-०१२ प ७४४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ लौकही भन्सार गेटबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय राजेश चौधरी, सोही उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय बिरेन्द्र कुमार चौधरी, धरान उपमहानगरपालिका-५ डेरा गरी बस्ने मोरङ लेटाङ नगरपालिका-३ घर भएका २८ वर्षीय अभिशेक विक र २८ वर्षीय संजिप विक, मोरङ उर्लाबारी नगरपालिका-१ बस्ने १९ वर्षीय बिकाश राई, १९ वर्षीय निसान सरदार, मोरङ कटहरी गाउँपालिका-५ बस्ने १९ वर्षीय निरज राम र सुनसरी बर्जु गाउँपालिका-५ बस्ने ३३ वर्षीय जितेन यादव रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले राजेश र बिरेन्द्रलाई ३ ग्राम ३ सय ६० मिलिग्राम, अभिशेक र संजिपलाई ९ ग्राम ८ सय २० मिलिग्राम, बिकाश र निसानलाई ५ सय ७० मिलिग्राम, निरजलाई १ ग्राम ७० मिलिग्राम र जितेनलाई ६ सय ८० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलो १ सय ८५ ग्राम सहित सोही महानगरपालिका-६ जरेबर बस्ने तनहुँ घर भएका २१ वर्षीय संगम गुरूङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले तनहुँबाट पोखरातर्फ आउँदै गरेको ग.८ प ४८४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-१४ कैलाश टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय ४३ एम्पुल, फेनारगन २ सय ३८ एम्पुल र बुप्रेनोर्फिन २ सय ३४ एम्पुल सहित सोही ठाउँ बस्ने ७३ वर्षीय अमर हमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।