आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
२०८३-०३-१०
- A
- A-
- A+
काठमाडौं, “लागूऔषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस 26 June 2026” को अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ ।
आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती नबिना खत्री कार्कीले केन्द्रमा बुधबार आयोजित कार्यक्रममा खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबल, क्यारिम बोर्ड, बुसे, क्रिकेट, संगीत, नृत्य, लेख रचना, टेबल टेनिस र चेसतर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा केन्द्रकी अध्यक्ष कार्कीले केन्द्रमा उपचाररत सदस्यहरू बीच आपसी भाइचारा तथा सदभाव कायम गरी मनोबल उच्च राख्न स्वस्थ प्रतिस्पर्धा गराई संचालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो ।
केन्द्रकी अध्यक्ष कार्कीले ‘लागूऔषधको चुनौती चिनौं: सामाजिक समाधानको बाटो खोजौं’ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । साथै यस केन्द्रमा उपचाररत सदस्यहरूले केन्द्रको बसाईको क्रममा प्राप्त गरेका असल शिक्षा र ज्ञानलाई आत्मसात गरी आफ्नो श्रीवृद्धिमा खर्चिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
केन्द्रकी सचिव श्रीमती रोजी तुलाधर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवम् कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।