अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०३-२५
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३२ नरेफाँट डेरा गरी बस्ने सिन्धुली घर भएकी ५० वर्षीया कोमल माया पाख्रिनलाई अवैध लागूऔषध गाँजा करिब २२ किलोग्राम र नगद ८ हजार ५ सय रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम १५ मिलिग्राम सहित सोही ठाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-६ घर भएका ४२ वर्षीय नरेन्द्र कुमार थापा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१८ सेदिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय हरि बहादुर घर्तीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१६ डेरा गरी बस्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका-१ मुसहरनिया टोल घर भएका २५ वर्षीय नविन कुमार यादवलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १४ हजार ४ सय ६५ रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-४ डेरा गरी बस्ने बेदकोट नगरपालिका-१ पिपलथला घर भएका २२ वर्षीय गोबिन्द बहादुर साउदलाई नियन्त्रित लागूऔषध डाईजेपाम २ एम्पुल, बुप्रेनोर्फिन ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित सोही ठाउँ बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ भगतपुर बस्ने २२ वर्षीय कमल दमाई समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले कमलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही नगरपालिका-५ सहजटोल बस्ने ४२ वर्षीय जगमन सिङ बुढा मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा समेतबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ ह ११२७ नम्बरको इ-रिक्सामा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रमममा प्रहरीले उनको घर तलासी गर्दा थप अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम समेत बरामद गरेको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ नयाँबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय ३० मिलिग्राम सहित सुर्खेत गुर्भाकोट नगरपालिका-१४ गुमी बस्ने २४ वर्षीय बिरेन्द्र परियारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१९ तिलावे पुलबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित सोही महानगरपालिका-१२ मुर्ली बस्ने २२ वर्षीय बिकाश मिया मंसुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका-८ हात्तीगौंडाबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ ४० ग्राम सहित काठमाडौं महानगरपालिका-१७ बस्ने २० वर्षीय आयुष पुजारी समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले बा.प्र ०२-०२० प १८८७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४९ ट्याब्लेट र नाइट्राजेपाम ८ ट्याब्लेट सहित सोही नगरपालिका-१ इमाडोल बस्ने मकवानपुर घर भएका २६ वर्षीय बिकेश शाह समेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिन्धुली, दुधौली नगरपालिका-११ माथिल्लो धनसरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ १ ग्राम १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-९ खिरयानी बस्ने ३५ वर्षीय जित नारायण साहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले प्र.२-०१-००२ प ०२७५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, पञ्चपुरी नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ तोक्मा बस्ने २९ वर्षीय निराजन चपाई र सोही नगरपालिका-२ पलैटे बस्ने ३० वर्षीय धनिराम रेग्मी रहेका छन् । अस्थायी प्रहरी पोष्ट तातापानीबाट खटिएको प्रहरीले कैलालीबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००३ प ४०४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-२ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सुनिल बुढाथोकी र २० वर्षीय बिजय सुनार रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने २२ वर्षीय कृष्णलाल जैसीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त स्थानबाट फरार रहेका कृष्णलाललाई खजुरा गाउँपालिका-५ खजुरा बजारबाट बुधबार राति पक्राउ गरेको छ ।
सर्लाही, लालबन्दी नगरपालिका-१ नवलपुर गोरूबजारबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २० ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय संजिव कुमार केसीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले बा.५२ प ३३०५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनले आफ्नै घर पछाडी खेतमा समेत लागूऔषध लुकाई छिपाई राखेको भन्ने खुल्न आएपश्चात प्रहरीले उक्त स्थानबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय १८ ट्याब्लेट र स्पास्मो १ सय ४४ ट्याब्लेट समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।