प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाईन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न पाँच जना पक्राउ

२०८३-०३-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, अनलाईन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्‍वर बस्ने महोत्तरी रामगोपालपुर नगरपालिका-९ घर भएका २१ वर्षीय सुभाष कुमार मण्डल तथा बंगलादेशी नागरिकहरू २५ वर्षीय MD JUBAYER AHAMED, २६ वर्षीय MD NUR ALOM, २४ वर्षीय MD NASIM MIA र २७ वर्षीय MD RANI KAMAL रहेका छन् । साईबर ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट बंगलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा आकर्षक रोजगारी सम्बन्धी विज्ञापन प्रकाशित गरी "कतारस्थित कम्पनीमा अन्तर्वार्ता बिना नै प्रत्यक्ष रोजगारी प्राप्त गर्न सकिने" भन्ने भ्रामक तथा प्रलोभनपूर्ण प्रचारमार्फत सेवाग्राहीलाई शङ्कास्पद मोबाइल एप डाउनलोड तथा प्रयोग गर्न लगाई विद्युतीय माध्यमबाट बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खाताहरूमा स्थानान्तरण गरी ठगी गरेको खुल्न आएको छ । साथै अनुसन्धानको क्रममा निजहरूले अनलाईन ठगी र अवैधानिक BINANCE मार्फत Crypto, USDT कारोबार समेत गर्ने गरेको खुल्न आएको छ । 

उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०४-२७

काठमाडौं, प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने पर्वत फलेवास नगरपालिका-१ घर भएका ४६ वर्षीय हरि बहादुर रसाईलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सहायक निरीक्षक पदमा खुल्ला तर्फ दरखास्त दिई लिखित लगायतका सबै परीक्षामा उतिर्ण भई अन्तर्वार्ता बाँकी रहेका आवेदकलाई आफ्नो गृहमन्त्रालयको विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध रहेको, अन्तर्वार्तामा नाम निकाली दिन्छु सेटिङ्ग मिलाउन १० लाख रकम लाग्ने भनि विश्वास दिलाई आफ्नो बैंक खातामा १० लाख रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-२७

ललितपुर, सुन तथा चाँदीका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा गोदावरी नगरपालिका-१४ टैब बस्ने ३३ वर्षीय सुरज महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।  ललितपुर महानगरपालिका-२८ हरिसिद्धीस्थित घरबाट सुन तथा चाँदीका गरगहना शुक्रबार चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई बा.९० प २०६४ को मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट सुन तथा चाँदीको जस्तो देखिने धातुका विभिन्न गरगहना समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धाको क्रममा उनले सोही दिन थप चार ठाउँ समेतमा चोरी गरेको खुल्न आएको छ । उनी उपर चोरी मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०४-२७

बागलुङ, ढोरपाटन नगरपालिका-७ बस्ने ४० वर्षीय अशोक खत्रीको हत्या गरेको अभियोगमा  सोही नगरपालिका-५ बस्ने २५ वर्षीय अर्जुन घर्तीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका-३ धम्जा माझकटेरामा अर्जुनले मादक पदार्थ सेवन गरी चक्कु प्रहार गरी अशोकको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।   लमजुङ, राईनास नगरपालिका-६ फुलबारी बस्ने ७५ वर्षीया काली सार्कीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय प्रेम अच्छामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काली आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा अवैध लागूऔषध गाँजा किन्ने क्रममा पैसाको विषयमा विवाद हुँदा प्रेमले हसियाँ प्रहार गरी कालीको हत्या गरेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०४-२७

काठमाडौं महानगरपालिका-१४ कुलेश्वर फलफुल मण्डीस्थित आँचल फ्रुट सेन्टर फलफुल पसलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार ५ सय रूपैयाँ सहित पसल संचालक सोही ठाउँ डेरा गरी बस्ने पर्सा छिपहरमाई गाउँपालिका-१ घर बताउने ३३ वर्षीय जितेन्द्र साह तुरहालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ६५ लाख ५६ हजार ८ सय नेपली रूपैयाँ र ३ लाख ४ हजार ३ सय भारतीय रूपैयाँ फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०४-२७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा Gatsby International कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने २९ वर्षीय प्रतिक बुढाथोकी, ललितपुर महानगरपालिका-२ बस्ने महालक्ष्मी नगरपालिका-१० घर भएका ३९ वर्षीय सन्त बहादुर लामा र काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने गोरखा आरूघाट गाउँपालिका-५ घर भएका ३१ वर्षीय रमेश धमला रहेका छन् ।  पक्राउ मध्ये प्रतिकले जापान पठाइदिन्छु भन्दै १ सय १५ जना पीडितहरूबाट २ करोड ८० लाख रूपैयाँ, सन्त बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र रमेशले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रतिकलाई रूपन्देही बुटवलबाट सोमबार, सन्त बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-१० बाट र रमेशलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।