प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रसुवा बाढी : हालसम्म १ सय जनाको मृत्यु

२०८३-०५-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०: ३० बजे सम्म १ सय जनाको मृत्यु भएको छ । 

जसमध्ये रसुवामा १ जना, नुवाकोटमा ११ जना, धादिङमा १८ जना, चितवनमा ३३ जना, गोरखामा १९ जना, तनहुँमा ७ जना र नवलपरासी पूर्वमा ११ जना गरी १ सय जनाको शव फेला परेको छ । 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

सम्बन्धित समाचार
रसुवा बाढी : प्रहरी नायव महानिरीक्षक सहितको विभिन्न टोली परिचालन
२०८३-०५-१०

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा नेपाल प्रहरीले तत्काल उद्दार तथा खोजी कार्यलाई प्राथमिकतामा राखेर जनशक्ति परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन, मुचुल्का लेखन तथा कानुनी सहायता एवम् प्रभावकारी समन्वयको लागि प्रहरी नायव महानिरीक्षक सुदर्शन कोईराला (९८५१२८०४००) सहितको विभिन्न टोली परिचालन गरिएको छ ।  रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको समग्र गतिविधि लगायत वस्तुस्थिती सम्बन्धमा जाहेर गर्न आपतकालीन समन्वय केन्द्र स्थापनार्थ नेपाल प्रहरी प्रधान कार्यालयमा वेश रहने गरी प्रहरी नायव महानिरीक्षक कोईराला सहितको टोली परिचालन गरिएको छ । यसैगरी काठमाडौं उपत्यकास्थित विभिन्न अस्पतालहरूका समन्वय अधिकृतहरूसँग समन्वय गर्नुका साथै समग्र प्रहरी परिचालन गर्ने गरी शिक्षण अस्पताल महाराजगंजमा कमाण्ड पोष्टमा रहने गरी प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना (९८५१२८०६००) को कमाण्डमा टोली परिचालन गरिएको छ । यसैगरी विभिन्न स्थानमा भएको घटनास्थलमा उद्दार एवम् राहत कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबरा (९८५१२८०७८९) को कमाण्डमा केनाईन (तालिम प्राप्त कुकुर) सहितको टोली परिचालन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनी (९८५१२८१३३०) को कमाण्डमा ४ जनाको टोली कानुनी सहायताको लागि परिचालन गरिएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराई (९८५१२८१३२१) को कमाण्डमा ५ जनाको टोली सम्पर्कविहीन भएका प्रहरी कर्मचारीहरूको खोजतलासको लागि सम्बन्धित प्रहरी कर्मचारी तथा निजको परिवारसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक योग बहादुर पाल (९८५१२८०४७५) को संयोजकत्वमा ६ जनाको टोली शव व्यवस्थापनको लागि परिचालन गरिएको छ भने प्रहरी उपरीक्षक निर्मल बुढाथोकी (९८५१२८१३४०) को संयोजकत्वमा १५ जनाको टोली घटनास्थलमा राहत वितरण सहायताको लागि परिचालन गरिएको छ । प्रहरी उपरीक्षक राजकुमार सिलवाल (९८५१०८७४७८) को कमाण्डमा ४ जनाको टोली मृत्यु भएका स्वदेशी तथा विदेशी नागरिकहरूको शव विमानस्थलमा प्राप्त हुन आउने अवस्थामा शवको सुरक्षित व्यवस्थापन, पहिचान, सम्बन्धित निकाय तथा मृतकका आफन्तसँग आवश्यक समन्वय एवम् अन्य आवश्यक कार्यको लागि हेल्प डेक्स स्थापना गरी कार्य संचालन गर्न परिचालन गरिएको छ । प्रहरी उपरीक्षक रबिन श्रेष्ठ (९८५१०५८०३३) र प्रहरी नायव उपरीक्षक कमल बेल्वासे (९८५१२८१९२२) लाई समन्वय अधिकृत तथा प्रहरी नायव उपरीक्षक अनिल ठाकुर (९८५१२८२८५९) लाई अन्य सुरक्षा निकायसँग समन्वय गर्नको लागि समन्वय अधिकृतको रूपमा खटाईएको छ ।यसैगरी प्रहरी नायव उपरीक्षक हिरेन्द्र बहादुर रोकाया (९८५८४९०१७४) को कमाण्डमा १२ जनाको टोलीलाई नुवाकोटतर्फ र प्रहरी निरीक्षक काशिराज थापा (९८४१५१३१५६) को कमाण्डमा ९ जनाको टोलीलाई चितवनतर्फ घटना सम्बन्धी मुचुल्का तयार गर्न परिचालन गरिएको छ ।  बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पतालबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बहादुर बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा २२ जना चिकित्सक टोली रसुवातर्फ पठाइएको छ । विपद् व्यवस्थापन तालिम केन्द्र सामाखुसीबाट ३४ जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडाबाट १५ जना दक्ष प्रहरी कर्मचारीहरू परिचालन गरिएको  छ । साथै बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजी कार्यका लागि ४ वटा ड्रोन परिचालन गरिएको छ । शव सनाखतको लागि नेपाल प्रहरीको वेवसाइट पेजबाट आवश्यक जानकारी लिन सकिने छ । नेपाल प्रहरीले बाढी तथा विपद् प्रभावित जिल्लाहरूमा उद्दार, खोज तथा राहत कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सिनियर प्रहरी अधिकृतहरूलाई Focal Person को रूपमा थप परिचालन गरेको छ । जसअनुसार  प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरे (९८५६०६२२५५) जिल्ला प्रहरी कार्यालय तनहुँ, प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल (९८५१२२९८६०) जिल्ला प्रहरी कार्यालय धादिङ, प्रहरी नायव उपरीक्षक अनिल पण्डित (९८५७०८७५५५) जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व,  प्रहरी नायव उपरीक्षक राज कुमार श्रेष्ठ (९८५६०६११९०) जिल्ला प्रहरी कार्यालय गोरखा, प्रहरी निरीक्षक मनिष श्रेष्ठ  (९८५७०९०५५४) जिल्ला प्रहरी कार्यालय चितवन,  प्रहरी निरीक्षक डिल्ली राज सापकोटा (९८५१२९४९०९) जिल्ला प्रहरी कार्यालय रसुवा र  प्रहरी निरीक्षक वीर बहादुर बुढा ऐर (९८५१२९८८००) लाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा थप खटाइएको छ । रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी हालसम्म सम्पर्कविहीन रहेका छन् । नेपाल प्रहरीले सम्पर्कविहीन प्रहरी तथा बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको खोजी तथा उद्दार कार्यलाई निरन्तरता दिइरहेको छ । अहिलेको अवस्थामा नागरिकहरूलाई नदी तथा खोलाको किनार, बाढी प्रभावित क्षेत्र र जोखिमयुक्त स्थानमा नजान तथा नेपाल सरकार तथा सुरक्षा निकायबाट जारी सूचना र निर्देशन पालना गर्नुहुन विशेष अनुरोध गर्दछ ।

रसुवा बाढी : नेपाल प्रहरी अस्पतालबाट चिकित्सक टोली त्यसतर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयारी हालतमा
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्री सहित रसुवातर्फ प्रस्थान गरिसकेको छ । साथै घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्ति सहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।   यसैगरी बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५: ४५ बजे सम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

अनलाईन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नलाई पक्राउ गर्न नेपाल प्रहरी थप सक्रिय
२०८३-०५-०३

काठमाडौं, १७ करोड ७९ लाख रूपैयाँ भन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय Zhu Yi Feng गत चैत १९ गते काठमाडौं ठमेलबाट पक्राउ परे । यस्तै ३० लाख ४९ हजार ७ सय ३६ रूपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बंगलादेशी नागरिक २९ वर्षीय MD Shehabul Islam गत चैत ११ गते पक्राउ परे । यसैगरी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न काठमाडौं नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद धिताल गत चैत २ गते पक्राउ परे ।   पक्राउ परेका व्यक्तिहरू प्रतिनिधि पात्र मात्रै हुन् । प्रविधिको तीव्र विकास एवम् सहज पहुँच सँगै यसको दुरूपयोगबाट हुने आपराधिक घटनाहरू पनि दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय अनलाईन बेटिङ र क्रिप्टोकरेन्सीका कारोबारहरू बढिरहेको हुँदा त्यस्ता किसिमका गतिविधि नियन्त्रण गरी संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी थप सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ ।  आर्थिक वर्ष २०८२/०८३ मा अनलाईन बेटिङमा संलग्न ४८ जना पक्राउ परे । जसमध्ये २६ जना विदेशी नागरिकहरू र २२ जना स्वदेशी नागरिकहरू रहेका छन् । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा अनलाईन बेटिङमा संलग्न ९३ विदेशी नागरिकहरू समेत गरी जम्मा १ सय ४८ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा अनलाईन बेटिङमा संलग्न १३ जना विदेशी नागरिकहरू समेत जम्मा ६२ जना पक्राउ परेका थिए । यसैगरी आर्थिक वर्ष २०८२/०८३ मा क्रिप्टोकरेन्सीमा संलग्न ४२ जना पक्राउ परे । जसमध्ये ७ जना विदेशी नागरिकहरू र ३५ जना स्वदेशी नागरिकहरू रहेका छन् । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा क्रिप्टोकरेन्सीमा संलग्न ४५ विदेशी नागरिकहरू समेत गरी जम्मा १ सय १७ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा क्रिप्टोकरेन्सीमा संलग्न ५ जना विदेशी नागरिकहरू समेत जम्मा १० जना पक्राउ परेका थिए ।विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको अवस्थामा विभिन्न अनलाईन बेटिङ प्लेटफर्महरू धेरै सक्रिय हुने गरेको देखिन्छ । अनलाईन बेटिङ र क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणमा प्रहरीको भूमिका बारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘प्रहरीले यस्ता अनलाईन बेटिङ नेटवर्कहरू एवम् क्रिप्टोकरेन्सी कारोबार नियन्त्रण गर्नको लागि सूचना संकलन र निगरानीलाई विशेष प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । सट्टाबाजी हुने सम्भावित स्थान, गिरोह र व्यक्तिहरूको बारेमा गोप्य सूचना संकलन, अनलाईन सट्टाबाजी (विशेष गरी खेलकुद बेटिङ) मा संलग्न नेटवर्कको डिजिटल निगरानी एवम् बैंकिङ तथा डिजिटल वालेट मार्फत हुने कारोबारको निगरानीमा समेत प्रहरीले थप संवेदनशील भई कार्य गर्दै आइरहेको छ ।’   अनलाईन बेटिङ साइबर अपराध, ठगी र हुण्डीसँग पनि जोडिएको हुन्छ । यस्तो कसुरमा मानिसलाई Grooming (उत्सुक/ तयारी) गर्न सामाजिक सञ्जालको प्रयोग गरिन्छ र यसकै माध्यमबाट ठगी गर्ने तथा हुण्डी कारोबारलाई पनि बढवा दिने गरेको भेटिएको छ । मुलुकी अपराध संहिता, २०७४, भाग २ को परिच्छेद ५ दफा १२५ को उपदफा ४ मा भएको व्यवस्था बमोजिम सट्टाबाजी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई १ वर्ष सम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । यदि ठगी आकर्षित भएमा मुलुकी अपराध संहिता, २०७४, भाग २ को परिच्छेद २० दफा २४९ उपदफा १ अनुसार सजाय हुन्छ । जसअनुसार भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा १० वर्ष सम्म कैद र १ लाख रूपैयाँसम्म जरिवाना हुन्छ भने आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना तथा सो बाहेकको अन्य किसिमले गरेको ठगीको हकमा ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुन्छ । साथै यदि साइबर अपराध आकर्षित भएमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम सजाय हुन्छ । यस्तै क्रिप्टोकरेन्सी ‘ब्लकचेन’ भनिने प्रविधिमा आधारित हुन्छ । यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिने हुनाले यसको अस्तित्व अनलाईनमा मात्र सीमित रहन्छ । भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको  हुन्छ । यस भर्चुअल मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन । समग्र आर्थिक सन्तुलन कायम नहुने, वित्तीय स्थायित्व नहुने, मौद्रिक नीति कार्यान्वयन नहुने, विदेशी विनिमय सञ्चिती सम्बन्धी, वित्तीय ग्राहक संरक्षण, लगानी असुरक्षा र ठगी क्रिप्टोकरेन्सी प्रयोगका मुख्य जोखिमहरू हुन् । क्रिप्टोकरेन्सीमा संलग्नहरूलाई मुलुकी अपराध संहिता (संशोधन सहित), २०७४ को दफा २६२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसूर, बिगो र सो बाट बढे वा बढाएको सम्पत्ति समेत जफत गरी ५ वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना हुन्छ ।

देशभरबाट साइबर अपराध सम्बन्धी २० हजार ५२६ उजुरी
२०८३-०४-२८

काठमाडौं, इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गर्ने काठमाडौं कपन बस्ने नुवाकोट घर भएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल असार २६ गते पक्राउ परे । यस्तै सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्‍याई ठगी गर्ने काठमाडौं बालाजु बस्ने नुवाकोट घर भएका १९ वर्षीय विवेक सुनार असार २४ गते पक्राउ परे । यसैगरी ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहट घर भएका २२ वर्षीय शुभम साह असार २ गते पक्राउ परे । सुरेन्द्र, विवेक र शुभम त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई ब्ल्याकमेल गर्ने, ठगी गर्ने, अनलाईन स्क्यामिङ गर्ने, सफ्टवेयर कम्पनीको स्रोत संकेत (Source Code) मा अनाधिकृत पहुँच पुर्‍याउने लगायतका विद्युतीय कसुरमा संलग्न अभियुक्तहरूलाई सीमित स्रोत साधनका वावजूद उपलव्ध प्रविधिको उच्चतम प्रयोग गर्दै कानुनी दायरामा ल्याउन साइबर ब्यूरो सक्रिय छ । गत आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि असार मसान्तसम्म साइबर अपराध सम्बन्धी २० हजार ५ सय २६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । सो अवधिमा साइबर अपराधमा १ सय ६१ वटा मुद्दा दर्ता भएका थिए भने १ सय ५५ जना पक्राउ परेका थिए । दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक/म्यासेन्जरको दुरूपयोगका ७ हजार १२३ वटा, टिकटकका ६ हजार ७ सय ७६ वटा, ह्याट्सएपका ३ हजार १०५ वटा, टेलिग्रामका १ हजार ३१ वटा, इन्स्ट्राग्रामका ६ सय २८ वटा, इमेलका १ सय १४ वटा, भाइबरका २१ वटा, इमोका ३८ वटा, युट्यूवका ६४ वटा, वीईच्याटका १४ वटा, ट्वीटरका ११ वटा, गुगलका ११ वटा, इसेवा/खल्ती/ बैंक एकाउण्ट/ एसएमसिएसका ७ सय ४४ वटा र संस्थातर्फ ८ सय ४६ वटा रहेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा १८ हजार ९२६ वटा  र आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार ७३० वटा निवेदन प्रहरीमा दर्ता भएका थिए ।साइबर अपराधका हालको प्रवृत्तिको सम्बन्धमा साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी भन्नहुन्छ, ‘सामाजिक सञ्जालको प्रयोगसँगै यसको दुरूपयोग पनि बढेको छ । गत २ आर्थिक वर्षको उजुरीको प्रवृत्ति हेर्दा विशेष गरी बैंक तथा वालेट अफिसबाट बोलेको भन्दै पीडितको बैंक एकाउन्टमा पहुँच पुर्‍याई ठगी गर्ने, गिफ्ट/लोट्री/पार्सल पठाएको भनी ठगी गर्ने, प्रेम सम्बन्धमा पारी ठगी गर्ने, वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने, टेलिग्राम, ह्वाट्सएप, इन्स्टाग्रामहरूमा अनलाइन जबको प्रलोभन देखाएर ठगी गर्ने, अनलाइन सपिङ मार्फत ठगी गर्ने प्रवृत्तिमा वृद्धि भएको देखिन्छ  ।’प्रविधिको दुरूपयोगका कारण अपराधमा नयाँ शैली र प्रवृत्तिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ । यस्ता चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भई घट्न सक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयले साइबर ब्यूरो स्थापना भएको हो । ब्यूरोलाई थप प्रविधियुक्त बनाउँदै प्रहरी कर्मचारीमा साइबर अपराध तथा सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धिका साथै आम नागरिकहरू माझ साइबर सुरक्षा सम्बन्धी सचेतना फैलाउन विभिन्न कार्यक्रमहरू संचालन गरी प्रविधिको प्रयोग गरी हुने अपराध रोकथाम तथा अनुसन्धानको लागि नेपाल प्रहरी सदैव सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ । साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा कारबाही हुने गरेको छ ।

तीन महिनाको अवधिमा हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जना पक्राउ
२०८३-०४-१९

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट १० जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना पक्राउ परेका हुन् ।    पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल २ थान, पेस्तोल २ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल ९ थान, भरूवा बन्दुक ४१ थान,  बन्दुक ९ थान र एयरगन ३ थान गरी जम्मा ६७ थान हातहतियार बरामद भएको छ । साथै उनीहरूबाट चाईनिज पेस्तोलको गोली ४ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, कटुवा पेस्तोलको १४ राउण्ड र विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको छ ।अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याई अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले सदैव क्रियाशील छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी देशभरिनै विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ । अवैध हतियार कतै लुकाईराखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन समेत नेपाल प्रहरी अनुरोध गर्दछ ।