प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाईन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नलाई पक्राउ गर्न नेपाल प्रहरी थप सक्रिय

२०८३-०५-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, १७ करोड ७९ लाख रूपैयाँ भन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय Zhu Yi Feng गत चैत १९ गते काठमाडौं ठमेलबाट पक्राउ परे । यस्तै ३० लाख ४९ हजार ७ सय ३६ रूपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बंगलादेशी नागरिक २९ वर्षीय MD Shehabul Islam गत चैत ११ गते पक्राउ परे । यसैगरी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न काठमाडौं नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद धिताल गत चैत २ गते पक्राउ परे ।  

पक्राउ परेका व्यक्तिहरू प्रतिनिधि पात्र मात्रै हुन् । प्रविधिको तीव्र विकास एवम् सहज पहुँच सँगै यसको दुरूपयोगबाट हुने आपराधिक घटनाहरू पनि दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय अनलाईन बेटिङ र क्रिप्टोकरेन्सीका कारोबारहरू बढिरहेको हुँदा त्यस्ता किसिमका गतिविधि नियन्त्रण गरी संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी थप सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ । 

आर्थिक वर्ष २०८२/०८३ मा अनलाईन बेटिङमा संलग्न ४८ जना पक्राउ परे । जसमध्ये २६ जना विदेशी नागरिकहरू र २२ जना स्वदेशी नागरिकहरू रहेका छन् । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा अनलाईन बेटिङमा संलग्न ९३ विदेशी नागरिकहरू समेत गरी जम्मा १ सय ४८ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा अनलाईन बेटिङमा संलग्न १३ जना विदेशी नागरिकहरू समेत जम्मा ६२ जना पक्राउ परेका थिए । 

यसैगरी आर्थिक वर्ष २०८२/०८३ मा क्रिप्टोकरेन्सीमा संलग्न ४२ जना पक्राउ परे । जसमध्ये ७ जना विदेशी नागरिकहरू र ३५ जना स्वदेशी नागरिकहरू रहेका छन् । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा क्रिप्टोकरेन्सीमा संलग्न ४५ विदेशी नागरिकहरू समेत गरी जम्मा १ सय १७ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा क्रिप्टोकरेन्सीमा संलग्न ५ जना विदेशी नागरिकहरू समेत जम्मा १० जना पक्राउ परेका थिए ।

विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको अवस्थामा विभिन्न अनलाईन बेटिङ प्लेटफर्महरू धेरै सक्रिय हुने गरेको देखिन्छ । अनलाईन बेटिङ र क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणमा प्रहरीको भूमिका बारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘प्रहरीले यस्ता अनलाईन बेटिङ नेटवर्कहरू एवम् क्रिप्टोकरेन्सी कारोबार नियन्त्रण गर्नको लागि सूचना संकलन र निगरानीलाई विशेष प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । सट्टाबाजी हुने सम्भावित स्थान, गिरोह र व्यक्तिहरूको बारेमा गोप्य सूचना संकलन, अनलाईन सट्टाबाजी (विशेष गरी खेलकुद बेटिङ) मा संलग्न नेटवर्कको डिजिटल निगरानी एवम् बैंकिङ तथा डिजिटल वालेट मार्फत हुने कारोबारको निगरानीमा समेत प्रहरीले थप संवेदनशील भई कार्य गर्दै आइरहेको छ ।’   

अनलाईन बेटिङ साइबर अपराध, ठगी र हुण्डीसँग पनि जोडिएको हुन्छ । यस्तो कसुरमा मानिसलाई Grooming (उत्सुक/ तयारी) गर्न सामाजिक सञ्जालको प्रयोग गरिन्छ र यसकै माध्यमबाट ठगी गर्ने तथा हुण्डी कारोबारलाई पनि बढवा दिने गरेको भेटिएको छ । मुलुकी अपराध संहिता, २०७४, भाग २ को परिच्छेद ५ दफा १२५ को उपदफा ४ मा भएको व्यवस्था बमोजिम सट्टाबाजी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई १ वर्ष सम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । यदि ठगी आकर्षित भएमा मुलुकी अपराध संहिता, २०७४, भाग २ को परिच्छेद २० दफा २४९ उपदफा १ अनुसार सजाय हुन्छ । जसअनुसार भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा १० वर्ष सम्म कैद र १ लाख रूपैयाँसम्म जरिवाना हुन्छ भने आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना तथा सो बाहेकको अन्य किसिमले गरेको ठगीको हकमा ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुन्छ । साथै यदि साइबर अपराध आकर्षित भएमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम सजाय हुन्छ । 

यस्तै क्रिप्टोकरेन्सी ‘ब्लकचेन’ भनिने प्रविधिमा आधारित हुन्छ । यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिने हुनाले यसको अस्तित्व अनलाईनमा मात्र सीमित रहन्छ । भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको  हुन्छ । यस भर्चुअल मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन । समग्र आर्थिक सन्तुलन कायम नहुने, वित्तीय स्थायित्व नहुने, मौद्रिक नीति कार्यान्वयन नहुने, विदेशी विनिमय सञ्चिती सम्बन्धी, वित्तीय ग्राहक संरक्षण, लगानी असुरक्षा र ठगी क्रिप्टोकरेन्सी प्रयोगका मुख्य जोखिमहरू हुन् । क्रिप्टोकरेन्सीमा संलग्नहरूलाई मुलुकी अपराध संहिता (संशोधन सहित), २०७४ को दफा २६२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसूर, बिगो र सो बाट बढे वा बढाएको सम्पत्ति समेत जफत गरी ५ वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना हुन्छ ।




सम्बन्धित समाचार
सामाजिक सञ्जाल मार्फत अफवाह, त्रास फैलाउने विरूद्ध निर्मम रूपमा प्रस्तुत हुँदै नेपाल प्रहरी :
२०८३-०५-२२

काठमाडौं, सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्त भिडियो सामाग्री प्रशारण गर्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका-७ घर भएका २४ वर्षीय बिरेन्द्र मडै पक्राउ परे । उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो । बिरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रशारण गरेका    थिए । बिरेन्द्र त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दु:खद घडिमा विभिन्न व्यक्ति, समुह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा पीडा माथि थप पीडा हुने गरी त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ ।’  पछिल्लो तथ्याङ्क अनुसार सामाजिक सञ्जाल फेसबुकमा १ सय ६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १ सय ७३ वटा गलत सूचना र अफवाह सहितका समाचार सामाग्रीहरू प्रशारण भएको देखिन्छ । जसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ वटा र टिकटकबाट ४ गरी जम्मा ८३ वटा त्यस्ता सामाग्रीहरू सामाजिक सञ्जालबाट हटाइएको छ । यस प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य समेत भइरहेको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी कानुनी कारबाही गर्नेछ । समितिको काम कारबाहीका सम्बन्धमा प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्य भन्नुहुन्छ, ‘सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति अझ बढि क्रियाशील भई कार्य गरिरहेको छ । सामाजिक सञ्जाल मार्फत अनजानमा पोष्ट गरेका वा सेयर गरेका समाचारहरूको गाम्भिर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ ।’ विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न समेत नेपाल प्रहरी सक्रिय छ । सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध छ । 

सामुदायिक प्रहरीलाई समेत विपद् व्यवस्थापनमा परिचालन
२०८३-०५-२२

काठमाडौं,भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण लगायत विस्थापित नागरिकहरूको धनजनको सुरक्षालाई मध्येनजर गरी सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लाहरूमा परिपत्रहरू गरिएको छ ।  बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी बाढी प्रभावित क्षेत्रहरूमा नदी किनारा, भग्नावशेष लगायतका स्थानहरूमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ । प्रभावित नागरिकहरूलाई सम्झाई बुझाई, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, सवारी साधनमा चढाउन/ यातायातमा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माईकिङ समेत गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।विस्थापित नागरिकहरूको जनधनको सुरक्षाको लागि निरन्तर रूपमा गस्ती तथा निगरानी गर्न एवम् प्रभावित क्षेत्रहरूमा महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत अन्य संवेदनशील वर्गहरू विरूद्ध हुन सक्ने हिंसा तथा दुर्व्यवहार प्रति थप संवेदनशील भई कार्य गर्न समेत सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक प्रति थप संवेदनशील हुँदै नेपाल प्रहरी
२०८३-०५-१८

काठमाडौं, बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टर लगायत अन्य स्थानहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटना प्रति नेपाल प्रहरी थप संवेदनशील भई कार्य गरिरहेको छ । प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध कुनै पनि किसिमका अप्रिय घटनाहरू हुन नदिन रसुवामा १० जना, नुवाकोटमा २९ जना र धादिङमा ७ जना महिला प्रहरी कर्मचारीहरूको थप टोली केन्द्रबाट खटाइएको छ । पछिल्लो तथ्याङ्क अनुसार रसुवाको होल्डिङ सेन्टरमा महिला ६० जना, बालक ३७ जना र बालिका ३९ जना गरी जम्मा १ सय ३६ जना रहेका छन् । धादिङमा महिला १ सय २६ जना, बालक २४ जना र बालिका ३२ जना गरी १ सय ८२ जना रहेका छन् भने नुवाकोटमा महिला ९ सय २९ जना, बालक १ सय ९५ जना र बालिका १ सय ६८ जना गरी जम्मा १ हजार २ सय ९२ जना रहेका छन् । यसैगरी काठमाडौंको होल्डिङ सेन्टरमा महिला १ सय ९ जना, बालक ५३ जना र बालिका ४९ जना गरी जम्मा २ सय ११ जना रहेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध नियन्त्रणमा प्रहरी संवेदनशील भई कार्य गरिरहेको छ । होल्डिङ सेन्टरमा महिला तथा बालबालिका विरूद्ध कुनै पनि अप्रिय घटना हुन नदिन थप प्रहरी टोली परिचालित छन् । उनीहरूले महिला तथा बालबालिका सँग सम्बन्धित देखा परेका समस्या एवम् गुनासाहरू सम्बोधन गर्दै आवश्यक मनोपरामर्श समेत प्रदान गर्नेछन् ।’  बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टरमा नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक सहितको टोलीले पनि स्वास्थ्य जाँचका साथै मनोपरामर्श समेत दिँदै आइरहेका छन् ।    

सम्पर्कविहीनका आफन्तको डिएनए प्रोफाइलिङ नेपाल प्रहरी अस्पतालमा गर्न सकिने
२०८३-०५-१७

काठमाडौं, नेपाल प्रहरी अस्पतालले रसुवा भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ सुरू गरेको छ । बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारहरूले डिएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अंग एकिन गर्न सक्ने प्रक्रिया अघि बढाउनको लागि नेपाल प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ सुरू गरेको हो । नेपाल प्रहरी अस्पतालमा आज १७:०० बजेसम्म सम्पर्कविहीन भएका परिवारका ५ सय ३९ वटा डिएनए प्रोफाइलिङका लागि नमुना संकलन गरिएको छ । नेपाल प्रहरी अस्पतालका प्रहरी प्रवक्ता प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी भन्नुहुन्छ, ‘सम्पर्कविहीन आफन्तहरू आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र २ प्रति फोटो लिएर अस्पताल आई आफ्नो नमुना (Fresh Blood) दिन सक्नेछन् । उनीहरूले अस्पतालमा उपलब्ध फारम भर्नु पर्ने र फारम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गर्ने र तत् पश्चात विशेषज्ञ प्राविधिक टोलीबाट नमुना संकलन गरिने छ । संकलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाउँछौं ।’   नेपाल प्रहरीको Scene of Crime Officer (SOCO)  सहितको टोलीले बाढी प्रभावित क्षेत्रहरूमा बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पुरा गर्दै शव व्यवस्थापनमा कार्य गरिरहेको छ । फेला परेका शव तथा शवका अवशेषहरू सावधानीपूर्वक संकलन गरिएको छ । शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा Dead Body Bag मा राख्ने, फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने, सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गरिएको छ । पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत/कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचान जन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा वैज्ञानिक रूपमा शवको पहिचान गर्न सकिने गरी डिएनए नमूना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको छ ।   फेला परेका शव वा शरीरका अंगको डिएनए परीक्षण मार्फत पहिचान गर्न नजिकको रगतको नाता बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एक जनाको रगतको नमुना आवश्यक पर्नेछ । नमुना दिने व्यक्तिले पासपोर्ट साइजको फोटो २ प्रति सहित नेपाल प्रहरी अस्पताल महाराजगंजस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । यसैगरी हराइरहेका विदेशी नागरिकको हकमा उक्त व्यक्तिको विदेशमै रहेका बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एक जनाले विदेशमा नै डिएनए प्रोफाइलिङ गरी तुलनाको लागि डिएनए प्रोफाइलको सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सक्नेछन् ।

एउटै घरमा २४ वटा शव फेला, मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको
२०८३-०५-१६

नुवाकोट, भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम गरिरहेको थियो । प्रहरीले ड्रोनको क्यामेरामा १ वटा शव देख्यो ।ड्रोनको क्यामेरामा कैद भएको विवरणको आधारमा प्रहरीको उद्दार तथा खोज टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्‍यो । उक्त शव फेला परेको स्थान विदुर नगरपालिका-१० बेत्रावती स्थित बच्चुराम अवस्थीको घर भएको खुल्न आयो । घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलोले घेरेका कारण देखिएको शव सम्म पुग्न निकै नै कठिन देखियो । नजिकै भग्नावशेषबाट प्रहरीले जस्ताको पाता, काठ, डोरी लगायतको सामाग्री एकजुट गर्‍यो । दलदले हिलो माथि उक्त सामाग्रीहरू प्रयोग गरी प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोली शव भएको उक्त घर सम्म पुग्न सफल भयो ।  उक्त घरमा प्रवेश गरे पछि फेला परेको शव नजिक थप शव हुनसक्ने आशंकामा खोजी गर्ने क्रममा अन्य २३ वटा शव समेत फेला पर्‍यो । फेला परेका शव मध्ये १ बालिका, ११ वटा पुरूष र १२ वटा महिलाको शव रहेको छ । शवको मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको छ । दलदले हिलोका कारण उक्त स्थानमा शव व्यवस्थापनको लागि हेलिकप्टर नै आवश्यक रहेको हुँदा निकै कठिनाई भइरहेको छ । उक्त क्षेत्रमा नेपाल प्रहरीले स्थानीय तह, एवम् अन्य सुरक्षा निकायको समन्वयमा निरन्तर रूपमा खटिई उद्दार तथा खोज कार्य गरिरहेको छ । 

विनाशकारी बाढीमा उद्दार तथा खोज कार्यको लागि हालसम्म ७ हजार ८९४ जना प्रहरी परिचालित
२०८३-०५-१४

काठमाडौं, भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ८ सय ९४ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा विभिन्न टोली परिचालन गरिएको  छ ।  प्रहरी नायव महानिरीक्षक सुदर्शन कोईरालाको कमाण्डमा नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापित ‘विपद् प्रतिकार्य समन्वय केन्द्र’ मार्फत विपद् व्यवस्थापन, उद्दार, खोजी, राहत वितरण, शव संकलन एवम् व्यवस्थापन लगायत सम्रग कार्यको प्रभावकारी समन्वय भइरहेको छ । यसैगरी प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाको कमाण्डमा रहेको शिक्षण अस्पताल महाराजगंजको कमाण्ड पोष्ट मार्फत विभिन्न अस्पतालहरूसँग समन्वयमा घाइतेको उद्दार, उपचार र शव व्यवस्थापन कार्य भइरहेको  छ । बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली समेत प्रभावित जिल्लाहरूमा परिचालन गरिएको छ ।बाढी प्रभावित क्षेत्रमा आवश्यकता अनुरूप विपद् व्यवस्थापनको लागि प्रहरी कर्मचारीहरूलाई परिचालन गरिदै आएको  छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘ विपद्को समयमा नागरिकको जीउ धनको सुरक्षा गर्नु नै नेपाल प्रहरीको प्रमुख दायित्व हो । सोही अनुरूप नेपाल प्रहरीले प्रभावित क्षेत्रमा उद्दार एवम् खोज कार्यमा कुनै पनि त्रुटि एवम् कमि कमजोरी हुन नदिन उपलब्ध साधन स्रोतका उच्चतम् प्रयोग गरी नागरिकको जीउ धनलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । बाढी प्रभावित क्षेत्रहरूमा उद्दार एवम् खोजको लागि स्थानीय तह एवम् अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रहरीले कार्य गरिरहेको छ ।’  बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको उद्दार पश्चात मेडिकल सहायताका लागि नेपाल प्रहरी अस्पतालबाट मेडिकल टिम परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा उद्दार एवम् खोजीको लागि ड्रोन एवम् कुकुर सहितको Search and Rescue टोली छुट्टाछुटै स्थानमा परिचालन गरिएको छ । कानुनी सहायता तथा घटनास्थल सम्बन्धी मुचुल्का टोली परिचालन गरिएको छ । काठमाडौं, नुवाकोट र धादिङका विभिन्न स्थानहरूमा २२ वटा होल्डिङ सेन्टरहरूको व्यवस्था गरी प्रभावित क्षेत्रका घाइतेहरूको उद्दार तथा राहत वितरणलाई व्यवस्थित गरेको छ । शव संकलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको छ । शव व्यवस्थापनमा शवको फोटो, भिडियो सहितको अभिलेखिकरण गरी DNA, Fingerprint को नमुना समेत संकलनको लागि थप फरेन्सिक विशेषज्ञहरूसँगको समन्वयमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ भने पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ (पहिलो संशोधन, २०८३) बमोजिम स्थानीय तहसँग आवश्यक समन्वय गरी कार्य गरिरहेको छ । साथै फेला परेका शवहरूको सनाखतको लागि शवहरूको तस्विर ट्याग सहित नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा राखिएको छ ।