सम्पर्कविहीनका आफन्तको डिएनए प्रोफाइलिङ नेपाल प्रहरी अस्पतालमा गर्न सकिने
२०८३-०५-१७
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी अस्पतालले रसुवा भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ सुरू गरेको छ । बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारहरूले डिएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अंग एकिन गर्न सक्ने प्रक्रिया अघि बढाउनको लागि नेपाल प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ सुरू गरेको हो ।
नेपाल प्रहरी अस्पतालमा आज १७:०० बजेसम्म सम्पर्कविहीन भएका परिवारका ५ सय ३९ वटा डिएनए प्रोफाइलिङका लागि नमुना संकलन गरिएको छ । नेपाल प्रहरी अस्पतालका प्रहरी प्रवक्ता प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी भन्नुहुन्छ, ‘सम्पर्कविहीन आफन्तहरू आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र २ प्रति फोटो लिएर अस्पताल आई आफ्नो नमुना (Fresh Blood) दिन सक्नेछन् । उनीहरूले अस्पतालमा उपलब्ध फारम भर्नु पर्ने र फारम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गर्ने र तत् पश्चात विशेषज्ञ प्राविधिक टोलीबाट नमुना संकलन गरिने छ । संकलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाउँछौं ।’
नेपाल प्रहरीको Scene of Crime Officer (SOCO) सहितको टोलीले बाढी प्रभावित क्षेत्रहरूमा बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पुरा गर्दै शव व्यवस्थापनमा कार्य गरिरहेको छ ।
फेला परेका शव तथा शवका अवशेषहरू सावधानीपूर्वक संकलन गरिएको छ । शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा Dead Body Bag मा राख्ने, फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने, सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गरिएको छ ।
पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत/कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचान जन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा वैज्ञानिक रूपमा शवको पहिचान गर्न सकिने गरी डिएनए नमूना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको छ ।
फेला परेका शव वा शरीरका अंगको डिएनए परीक्षण मार्फत पहिचान गर्न नजिकको रगतको नाता बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एक जनाको रगतको नमुना आवश्यक पर्नेछ । नमुना दिने व्यक्तिले पासपोर्ट साइजको फोटो २ प्रति सहित नेपाल प्रहरी अस्पताल महाराजगंजस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
यसैगरी हराइरहेका विदेशी नागरिकको हकमा उक्त व्यक्तिको विदेशमै रहेका बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एक जनाले विदेशमा नै डिएनए प्रोफाइलिङ गरी तुलनाको लागि डिएनए प्रोफाइलको सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सक्नेछन् ।