अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८३-०५-२२
- A
- A-
- A+
झापा, झापा गाउँपालिका-५ सिमलडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-६ शरणामती बस्ने २५ वर्षीय प्रेम प्रसाद खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शरणामती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय सागर दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले मे.१ ह २४४३ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक सागरलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम सहित बिर्तामोड नगरपालिका-२ बस्ने २१ वर्षीय जनक माझीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१४ जनकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय २० मिलिग्राम र नगद २५ हजार ४ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१४ पहली बस्ने २६ वर्षीय बसन्त खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय २० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २७ वर्षीय राजेश कुमार थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, कानेपोखरी गाउँपालिका-५ बाँसबारी बस्ने २४ वर्षीया जमुना चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले जमुनाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका- ९ पृथ्वीचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ सय एम्पुल, प्रोमेथाजाइन ५ सय एम्पुल र बुप्रेनोर्फिन ५ सय एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय आलम परवेज र २१ वर्षीय हुसेन अंसारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले युपी ५६ बिसि ५५४८ नम्बरको कारमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।