अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०५-३०
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेस्थित होटलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित म्यानमारकी नागरिक २९ वर्षीया ZIN ZIN PHYO लाई आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरणबाट खटिएको प्रहरीले होटलको उनी बसेको कोठा तलासी गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा रिसिभ गर्न गोरखपुरबाट काठमाडौं आई उक्त होटल पुगेका भारत उत्तर प्रदेश गोरखपुर घर भएका ३० वर्षीय BARKATULLAN र २५ वर्षीय YUSUF KHAN लाई समेत प्रहरीले पक्राउ गरेको छ ।
झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६२ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २२ वर्षीय कुरबान शेखलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मुसहरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१७ बस्ने २७ वर्षीय हेम राई र ४४ वर्षीय जय बहादुर खड्गी रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको को.३१ प ८८८५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रौतहट, चन्द्रपुर नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३० ट्याब्लेट सहित सोही नगरपालिका-१० बालचनपुर बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्राम सहित सोही महानगरपालिका-२० हरपतगंज बस्ने २० वर्षीय आजात अन्सारी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले ग.८ प ७०४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ७ सय ८० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने १९ वर्षीय प्रिन्स शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ जाँदै गरेको भे.१ ख ४१६० नम्बरको बस जाँच गर्दा उक्त पदार्थ फेला पारी बसका सहचालक प्रिन्सलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ राप्ती सोनारी गाउँपालिका-१ बस्ने २८ वर्षीय लाहुराम थारूले दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले लाहुराम समेत २ जनालाई नेपालगंजबाट पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।