अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०६-१०
- A
- A-
- A+
काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १८ हजार ३ सय ट्याब्लेट, डाईजेपाम ७ सय ८२ एम्पुल, फेनारगन ७ सय ८२ एम्पुल, बुप्रेनोर्फिन ७ सय ८२ एम्पुल र नगद ५ लाख ६० हजार ४ सय रूपैयाँ सहित ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-६ बस्ने ३४ वर्षीय विक्रम घले, मकवानपुर घर भएका २४ वर्षीय बिजय तामाङ, ३३ वर्षीय ललित बहादुर स्याङ्तान, काभ्रे घर भएका ३४ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ३२ वर्षीय रत्न तामाङ रहेका छन् । प्रहरी वृत्त थानकोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ नैकाप बस्ने ३४ वर्षीय बिक्रम घलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ४ सय ५० ट्याब्लेट, अवैध लागूऔषध पोलेन १ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ १० मिलिग्राम र नगद २ लाख ७९ हजार रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध लिन आएका मकवानपुर थाहा नगरपालिका-१२ घर बताउने २४ वर्षीय बिजय तामाङ गोलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नगद १६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको छ ।
उदयपुर, बेलका नगरपालिका-९ भचुवा बस्ने ३२ वर्षीय युवराज राईलाई अवैध लागूऔषध गाँजा १२ किलोग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
झापा, हल्दिबारी गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-८ बस्ने २७ वर्षीय महमत सुलेमानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले बनियानिबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.२ प ७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बेलबारी नगरपालिका-१ पानी ट्याङकी बस्ने २३ वर्षीय जके भन्ने बामदेव दर्जी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले बामदेवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
रौतहट, यमुनामाई गाउँपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ सय ५० ग्राम सहित दुर्गा भगवती गाउँपालिका-१ पिपरा टोल बस्ने २६ वर्षीय पुजन साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरीले बीआर ३० टि ५०९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।