अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०६-१५
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ५१ ग्राम ६ सय ८० मिलिग्राम सहित रामेछाप मन्थली नगरपालिका-१२ घर भएका ३१ वर्षीय बाबुराम खड्कालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.५१ प १८९१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका-४ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय भरत डम्बर पाल समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ बस्ने १९ वर्षीय सेरे भन्ने सुरेश भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले सुरेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेबजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूवी भ्याली गाउँपालिका-५ बस्ने २१ वर्षीय जुन तामाङ र नीलकण्ठ नगरपालिका-१२ बस्ने २१ वर्षीय बासुदेव नेपाली रहेका छन् । अस्थायी प्रहरी पोष्ट खहरेबाट खटिएको प्रहरीले रूवी भ्यालीबाट धादिङबेसीतर्फ जाँदै गरेको बा.९३ प ५१७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।