प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै नेपाल प्रहरी

२०८३-०६-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषता बोकेको विविधतामा एकता झल्काउने नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल सम्वत् र छठपर्व’ लगायतका पर्वहरूलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ लागू गरेको छ । चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवम् प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउन उक्त सुरक्षा योजना लागू गरिएको हो । चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा साँस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला, बालबालिका, अपाङ्ग एवम् जेष्‍ठ नागरिकको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको हो । 

चाडपर्वको अवधिमा देशभर समग्र सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी सुरक्षा योजना अवलम्बन गरिएको छ । सो अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुन सक्ने दंगा लुटपाट वा अन्य अप्रिय घटनाहरू, एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीहरू प्रति विशेष रूपमा सचेत भई नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको छ । चाडपर्वमा हुन सक्ने  ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू नियन्त्रण तथा न्यूनीकरण गर्न प्रभवाकारी रूपमा प्रहरी परिचालित हुनेछन् । अन्तर्राष्‍ट्रिय खुला सीमा नाकाहरूबाट अवैध हातहतियार, पटका, बिस्फोटक पदार्थ, लागूऔषध लगायतको ओसारपसार तथा तस्करी नियन्त्रणमा समेत विशेष सुरक्षा व्यवस्था अपनाइएको छ । 

चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी लगायत ७ वटै प्रदेश प्रहरी कार्यालयहरूबाट ५० हजार ४ सय ५८ जनशक्ति परिचालन हुनेछन् । जसमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ७६६८, कोशी प्रदेश अन्तर्गत ८१३३, मधेश प्रदेश अन्तर्गत ७२३०, बागमती प्रदेश अन्तर्गत ४४९९, गण्डकी प्रदेश अन्तर्गत ५१८८, लुम्बिनी प्रदेश अन्तर्गत ७९२१, कर्णाली प्रदेश अन्तर्गत ५३१४ र सुदूरपश्चिम प्रदेश अन्तर्गत ४५०५ जना जनशक्ति परिचालन हुनेछन् । साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउन नागरिक-प्रहरी सहकार्यलाई विशेष प्राथमिकतामा राखेर स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायसँग निरन्तर सहकार्य तथा समन्वय गरिने छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘चाडपर्वको समयमा भरपर्दो सुरक्षा व्यवस्थाको लागि परम्परागत शैली भन्दा पनि प्रविधिमा आधारित सुरक्षा निगरानीलाई विशेष प्राथमिकतामा राखिएको छ । लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई विशेष मध्यनजर गरी नेपाल प्रहरीबाट यात्रुको सुरक्षा तथा सडक सुरक्षा व्यवस्थापन गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौं उपत्यका लगायतका देशभरका प्रमुख शहरहरूमा चाडपर्वको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना अनुरूप प्रभावकारी रूपमा प्रहरी परिचालित हुनेछन् । नेपाली समुदायहरूको महान् चाडपर्वको अवधिमा चुस्त एवम् दुरूस्त रूपमा परिचालित हुन नेपाल प्रहरी सदैव कटिवद्ध छ ।’

काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनहरूको सम्बन्धमा बाहिरिनु भन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र चेकजाँच, मादक पदार्थ एवम् लागूपदार्थ सेवन चेकजाँच, सिट क्षमता अनुसार यात्रु राखे नराखेको चेकजाँच, TCA (Traffic Communication Application) को प्रयोग गरी लामो दूरीको सवारी साधनहरूमा २ जना चालक भए नभएको चेकजाँच गर्ने र प्रत्येक सवारी साधनहरूको मेकानिकल टेष्ट गरेको प्रमाणपत्र समेत चेकजाँच गरिनेछ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरूबाट १ हजार १  सय ६५ जनशक्ति परिचालन गरी देशभरका विभिन्न स्थानमा ४ सय ८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । साथै अन्तर्राष्‍ट्रिय सीमा नाकाका १ सय ८ स्थानमा हेल्प डेस्क स्थापनामा गरी थप ७ सय ५ जनशक्ति परिचालन भएका छ्न् । यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गर्ने, हराएका/भेटिएका व्यक्ति तथा सामान सम्बन्धी समन्वय गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता गर्ने, यात्रुहरूको गुनासो तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पठाउने र शंकास्पद गतिविधिको सूचना संकलन गरी आवश्यक रूपमा प्रहरी परिचालन गरिनेछ । 

चाडपर्वको समयमा सुरक्षाको लागि उपलब्ध आधुनिक प्रविधिहरू जस्तै सिसिटिभि क्यामेरा, Body-Worn Camera, ड्रोनको प्रयोग, तालिम प्राप्त कुकुरहरू परिचालन तथा प्रहरी सञ्चार प्रणालीमार्फत Real Time सूचना आदानप्रदान गरिनुका साथै सामाजिक सञ्जालहरूको निगरानी गरी सामाजिक सञ्जालमा प्रवाह हुने डिजिटल सूचनाको विश्लेषण गरी सुरक्षा व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन आवश्यक रूपमा प्रहरी परिचालन गरिने छ ।

चाडपर्वको अवसरमा विभिन्न आकर्षक उपहार दिने भन्दै हुनसक्ने नक्कली अनलाइन सपिङ, अनलाईन ठगी, बैंकिङ ठगी, OTP, PIN तथा Password मागेर हुन सक्ने फिसिङ लगायतको डिजिटल आपराधिक गतिविधि नियन्त्रण गर्न आमनागरिकहरूलाई OTP, PIN, Password, Banking Credential तथा गोप्य विवरण कसैलाई पनि नदिन, शंकास्पद Link, QR Code, Lottery वा Online festival Offer मा विश्वास नगर्न, AI बाट बनाइएको आवाज/भिडियो वा आफन्त/अधिकारीको नाममा आएको असामान्य रकम माग्ने सन्देशलाई तुरून्त विश्वास नगर्न र सचेत रहन विशेष सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ । 

काठमाडौं उपत्यका लगायतका प्रमुख शहरमा सुरक्षा व्यवस्था मजबुद बनाउन मुख्य बजार तथा Shopping Mall/Mart, बैंक तथा वित्तीय संस्था, बसपार्क तथा सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक स्थल, पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक तथा चोक, शहरका प्रवेश/निकास नाका, सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखी प्रहरी परिचालन गरिनेछ । चाडपर्वको जोखिम र स्थानीय सुरक्षा संवेदनशीलताको आधारमा कमाण्ड पोष्ट, क्यूआरटी परिचालन हुनेछन् । सीमानाकामा हुने अवैध गतिविधि, तस्करी र अवाञ्छित क्रियाकलाप रोक्न पैदल तथा मोबाईल गस्ती, ग्रामीण गस्ती, लोक मार्गमा क्रस पट्रोलिङलाई अझै प्रभावकारी बनाउँदै लगिनेछ । 

साथै लामो समय घर छोडेर जाँदा झ्यालढोका, ग्यास तथा विद्युत् राम्रोसँग जाँच गर्न, घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, भीडभाडमा नगद, गरगहना तथा महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउन आम नागरिकलाई विशेष अनुरोध गरिएको छ । मादक तथा लागूपदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई भीडभाडमा एक्लै नछोड्न, जुवातास, अवैध सट्टेबाजी तथा लागूऔषधबाट टाढा रहनका साथै कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न समेत नेपाल प्रहरी विशेष अनुरोध गर्दछ ।

चाडपर्वलाई सुरक्षित बनाउन नेपाल प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिक, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायहरूको समेत साझा जिम्मेवारी हो । नागरिकबाट समयमै प्राप्त हुने सूचना अपराध रोकथाम तथा अनुसन्धानका लागि महत्वपूर्ण भएकाले शंकास्पद गतिविधि भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आधिकारिक सम्पर्क माध्यममा जानकारी गराउन अनुरोध गरिन्छ । 

नेपाल प्रहरीले चाडपर्वको समयमा नागरिकको सुरक्षा, सहज आवागमन तथा शान्तिपूर्ण वातावरण कायम गर्न ‘सूचना-प्रविधि-प्रहरी परिचालन-नागरिक सहकार्य’ लाई मुख्य आधार बनाउँदै सुरक्षा व्यवस्था मिलाएको छ ।

“ढुक्क भएर चाडपर्व मनाउनुहोस्, नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव तपाईहरूको साथमा छ ।”

सम्बन्धित समाचार
प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन
२०८३-०६-२१

चितवन, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी शिक्षालय भरतपुरमा बुधबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१८०औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८०औं समूहका प्रशिक्षार्थीहरूद्वारा तयार पारिएको “ASI Basic 2-180th Batch : A MEMOIR” पुस्तक समेत विमोचन गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जिवनको शुभकामना समेत व्यक्त गर्नुभयो । आधारभूत तालिम कुनै पनि प्रहरी अधिकृतको समग्र सेवाकालको प्रमुख आधारस्तम्भ भएको चर्चा गर्दै तालिमका दौरानमा सिकेका व्यावसायिक सीपले कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा पनि सही निर्णय लिन सक्षम बनाउने बताउनुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले व्यक्ति भन्दा माथि सधै संगठन रहने मूल मन्त्रलाई आत्मसात् गर्दै जस्तोसुकै परिस्थितिमा पनि व्यक्तिगत स्वार्थ, लोभ र पूर्वाग्रह भन्दा माथि उठेर संगठनको साख, मर्यादा र राष्ट्रहितलाई सदैव सर्वोपरि मानी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । उक्त कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद मन्तव्य समेत व्यक्त गर्नुभएको थियो ।तालिम संयोजक प्रहरी नायव उपरीक्षक लोक बहादुर जिसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८२ भदौ २२  गतेदेखि संचालित उक्त तालिममा ४३ जना महिला सहित कुल ३ सय १० जना प्रशिक्षार्थीहरू दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।  समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, प्रदेशस्थित सुरक्षा निकायका पदाधिकारीहरू विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, प्रशिक्षार्थीहरूका अभिभावक तथा परिवारजनहरू, समाजसेवी, संचारकर्मीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा विधि विज्ञान प्रयोगशाला सञ्चालन
२०८३-०६-२०

मकवानपुर, बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापित नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । यो नेपाल प्रहरीको चौथो विधि विज्ञान प्रयोगशाला हो । काठमाडौं, धरान र नेपालगंजमा समेत नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाहरू रहेका छन् । अपराध अनुसन्धानलाई छिटो, छरितो, वैज्ञानिक, विश्वसनीय र प्रमाणमुखी बनाउन उक्त प्रयोगशाला भदौ २२ गते देखि सञ्चालनमा आएको हो । यस प्रयोगशालामा लागूऔषध परीक्षणका साथै बायोलोजी, सिरोलोजी र डीएनएका नमुना परीक्षणहरू समेत सुरू गरिएको छ । प्रयोगशाला सञ्चालनमा आएसँगै हाल सम्म विभिन्न घटनाबाट संकलित १ सय ५० वटा भन्दा बढी नमुनाहरूको परीक्षण गरिएको छ । भोटेकोशी बाढीसँग सम्बन्धित १५ वटा नमुनाहरूको परीक्षण गरी प्रतिवेदन समेत तयार गरिएको छ । लागूऔषधको हकमा अधिकतम १० दिनभित्र परीक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने कार्यतालिका बनाइएको छ । प्रयोगशालामा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुली तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही जिल्लाहरूबाट शव पहिचान तथा अन्य फरेन्सिक परीक्षणका लागि नमुनाहरू प्राप्त हुन्छन् । अपराध अनुसन्धानमा प्रमाणको सुरक्षित व्यवस्थापन तथा वैज्ञानिक परीक्षणसँगै अपराधसँग सम्बन्धित तथ्यको विश्लेषणमा प्रयोगशालाले विशेष भूमिका निर्वाह गर्दछ । वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणले अनुसन्धानलाई थप विश्वसनीय बनाउन तथा अदालतमा बलियो प्रमाण प्रस्तुत गर्ने प्रक्रियामा समेत मद्दत गर्दछ ।

भोटेकोशी बाढी प्रभावित प्रहरी कर्मचारीहरूका परिवारलाई विशेष राहत योजना
२०८३-०६-१३

काठमाडौं, गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारीहरू तथा परिवारजनप्रति लक्षित गर्दै नेपाल प्रहरीले विशेष राहत तथा कल्याणकारी निर्णय गरेको छ । सोमबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिहरूलाई प्राथमिक तहदेखि स्नातकोत्तर (Masters Level) तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ । यसका साथै समितिले प्रभावित प्रहरी परिवारका अन्य सदस्यहरूको जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनाका लागि विशेष ध्यान दिँदै उनीहरूलाई आवश्यकता अनुसारका सीपमूलक तथा व्यावसायिक तालिमहरू प्रदान गरी रोजगारीको समेत उचित व्यवस्था मिलाउने ऐतिहासिक निर्णय  गरेको छ । जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा समर्पित प्रहरी कर्मचारीहरूको त्याग र समर्पणको उच्च मूल्यांकन गर्दै यो कदम चालिएको हो ।

भारी वर्षाको जोखिमलाई ध्यानमा राखी तयारी अवस्थामा नेपाल प्रहरी
२०८३-०६-०८

काठमाडौं, असोज ९ गतेदेखि १२ गते सम्म देशभरका अधिकांश स्थानमा मेघगर्जन सहित भारी वर्षा हुन सक्ने नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचनालाई मध्यनजर गरी नेपाल प्रहरीको विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८३ बमोजिम जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले आवश्यक पूर्वतयारी गरेको    छ ।  यस अवस्थालाई मध्येनजर गरी भारी वर्षाको अवधिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) मा कमाण्ड पोष्ट स्थापना गरी २४ सै घण्टा सबै सुरक्षा निकायका प्रतिनिधि उपस्थित भई उद्धार, परिचालन र समन्वयको व्यवस्था समेत गरिएको छ । तत्काल परिचालन हुन सक्ने गरी नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् मातहत, प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरू समेत आवश्यक उपकरणहरू सहित तत्काल परिचालित हुनसक्ने गरी १० हजार ८५ जनाको जनशक्ति तयारी अवस्थामा राखिएको छ । यस्तै नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट १ प्लाटुन लुम्बिनी प्रदेश र १ प्लाटुन गण्डकी प्रदेशको लागि आवश्यक विपद् उद्धारका उपकरण र ड्रोन सहितको प्रहरी जनशक्ति परिचालन गरिएको छ भने उद्धार एवम् व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र सात वटै प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूमा ५ सय जना र नेपाल प्रहरी विशेष सुरक्षा गण, सात वटै प्रदेश प्रहरी गण, उपत्यका प्रहरी विशेष सुरक्षा गण, नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ र काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ बाट समेत गरी जम्मा २ हजार १ सय २५ जनाको प्रहरी जनशक्ति आवश्यकता अनुसार तत्काल वा चरणवद्ध रूपमा परिचालन गर्न सक्नेगरी २४ सै घण्टा स्ट्याण्डबाई अवस्थामा रहेका छन् ।  सो सन्दर्भमा सम्भावित बाढी, पहिरो, डुबान लगायतका विपद्जन्य घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण, जोखिममा रहेका नागरिकको समयमै उद्धार तथा सुरक्षित स्थानान्तरण एवं प्रभावकारी प्रतिकार्यका लागि जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी, जनशक्ति तथा उद्धार टोली परिचालन, आवश्यक उद्धार सामग्रीको व्यवस्थापन, जोखिम क्षेत्रको निगरानी, माइकिङ तथा जनचेतनामूलक कार्यक्रम, आवागमन व्यवस्थापन, तटीय क्षेत्रमा गस्ती तथा अन्य सम्बन्धित निकायसँगको समन्वय लगायतका काम कारबाही र विपद् प्रतिकार्यमा गरिनुपर्ने अन्य आवश्यक कार्यहरू गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूलाई निर्देशन समेत दिइएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘भारी वर्षाको जोखिमलाई ध्यानमा राखी अन्य सुरक्षा निकायहरू तथा स्थानीय तह र विभिन्न संघसंस्थाको समन्वयमा जनधनको क्षति न्यूनीकरणको लागि उद्धार सामग्रीहरू सहित वृहत्त रूपमा प्रहरी परिचालन गरिएको छ । विपद् उद्धार सम्बन्धी तालिम प्राप्त दक्ष प्रहरी कर्मचारीहरू जोखिम युक्त प्रदेशहरू पठाइएको छ भने प्रहरीका विशिष्टकृत इकाईहरूको रूपमा रहेका नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाईन कार्यालयको जनशक्ति समेत तयारी अवस्थामा राखिएको छ ।’  यस्तै सवारीसाधन तथा पैदलयात्रीहरूको सुरक्षालाई दृष्टिगत गरी जोखिमयुक्त सिद्धिचरण लोकमार्ग-सोलुखुम्बु, टोखा छहरे सडक खण्ड-नुवाकोट, कान्ति राजमार्ग, भैंसे-भीमफेदी-देउराली-कुलेखानी हुँदै काठमाडौं जाने सडक-मकवानपुर, बिपी राजमार्ग सबै-सिन्धुली र काभ्रे, पृथ्वी लोकमार्ग-धादिङ, नारायणगढ-मुग्लिन सडक खण्ड-चितवन, राप्ती राजमार्ग-दाङका विभिन्न स्थान, मदन भण्डारी राजमार्ग-रोल्पा लगायतका राजमार्ग एवं सडक खण्डहरूमा अत्यावश्यक बाहेक रात्रीकालीन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको छ । यसैगरी भारी वर्षा हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी भारी वर्षाले बाढी, पहिरो र डुबान निम्त्याउन सक्ने हुँदा विशेष गरी जोखिमयुक्त सडक र नदी आसपासका बस्तीहरूमा थप सावधानी अपनाउन नेपाल प्रहरीले माईकिङ तथा जनचेतनामूलक कार्यक्रम गरी स्थानीयहरूलाई सतर्क समेत गराई सक्रिय रूपमा कार्य गरिरहेको छ । 

२९ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८३-०६-०७

काठमाडौं, नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले २९ जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ४० औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले विपद् उद्दारकर्मीको रूपमा खटिँदा संवेदनशील र सुरक्षित भई तालिममा प्राप्त ज्ञान र सीपको विवेकपूर्ण ढंगले प्रयोग गरी आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक देबेन्द्र कुमार मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै साउन ४ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २३ जना गरी कुल २९ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । सो अवसरमा प्रशिक्षार्थीहरूबाट विपद् उद्दार अभ्यास सम्बन्धी विभिन्न कलाहरू समेत प्रस्तुत गरिएको थियो । 

प्रहरी सहायक निरीक्षक तथा प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८३-०६-०२

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ११ जना र प्रहरी कार्यालय सहयोगी पदका लागि भान्छेतर्फ ८३ जना, हजामतर्फ १५ जना र कुचीकारतर्फ २५ जना गरी जम्मा १ सय २३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।   प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । यसैगरी प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदको लागि असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।