चाडपर्वको अवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी थप सचेत भई परिचालित
२०८३-०७-०९
- A
- A-
- A+
काठमाडौं, सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो जनधनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक, मापसे, लापसे लगायतका कारणबाट हुने दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना हुन नदिन तथा यात्रुहरूलाई आवगमनमा सहजता प्रदान गर्न नेपाल प्रहरी थप सचेत भई परिचालित भइरहेको छ ।
यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १ सय २४ जनाको मृत्यु भएको छ । तीमध्ये ८३ जना पुरूष, ३९ जना महिला, ७ बालक र ५ बालिका रहेका छन् । ती दुर्घटनामा परी २ हजार ९८८ जना घाइते भएका छन् । घाइते मध्ये ४ सय ३७ जना गम्भीर र २ हजार ५५१ जना सामान्य घाइते भएका छन् ।
चाडपर्वको अवधिमा दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धमा चालिएको कदम बारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्ने भएकाले नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरूको सुरक्षा तथा सहजताको लागि प्रभावकारी व्यवस्थापन गरेको छ । सवारी छुट्ने स्थानमै चालकहरूको सवारी चालक अनुमति पत्र चेकजाँच, मादक पदार्थ एवम् लागूपदार्थ सेवन चेकजाँच, सिट क्षमता अनुसार यात्रु राखे/नराखेको चेकजाँच, TCA (Traffic Communication Application) को प्रयोग गरी लामो दूरीको सवारी साधनहरूमा २ जना चालक भए/नभएको चेकजाँच गर्ने र प्रत्येक सवारी साधनहरूको मेकानिकल टेष्ट (चेकजाँच) गर्दै सवारी साधनलाई सुरक्षित रूपमा गन्तव्य तर्फ पठाउने व्यवस्था मिलाईएको छ ।’
सो अवधिमा देशका विभिन्न स्थानमा १ हजार ३३९ वटा सवारी दुर्घटनाका घटनाहरू भएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा १७१ वटा, कोशी प्रदेशमा ३९७ वटा, मधेशमा ८० वटा, बागमतीमा ११२ वटा, गण्डकीमा ९७ वटा, लुम्बिनीमा १६१ वटा, कर्णालीमा १७१ वटा र सुदूरपश्चिममा १५० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा मोटरसाइकल १ हजार ५५२ वटा, जिप\कार ३३७ वटा, टेम्पो २०७ वटा, ट्रक\ट्याङ्कर ७१ वटा, माइक्रोबस ६४ वटा, बस ५४ वटा, ट्याक्टर ३८ वटा, टिपर १५ वटा, डोजर\स्काभेटर\लोडर १० वटा र अन्य १३३ वटा गरी जम्मा २ हजार ४८१ वटा सवारी साधनहरू संलग्न रहेका छन् । तथ्यङ्कको विश्लेषण गर्दा सबै भन्दा बढी दुर्घटना कोशी प्रदेशमा र सबै भन्दा कम मधेश प्रदेशमा भएका छन् भने सबै भन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । गत वर्षको दसैंको अवधिमा कुल १ हजार ४ सय ९२ वटा सवारी दुर्घटनाका घटनाहरू भएका थिए ।
ट्राफिक नियम उल्लङघन गर्ने ५ हजार ७०३ सवारी साधन कारबाही :
दसैंको अवधिमा देशभरबाट ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरिएको छ । जसमध्ये मादक पदार्थ सेवन अन्तर्गत २ हजार ७९४, सिट क्षमता भन्दा बढी १ हजार ८८२, तीव्र गति ७४६, यान्त्रिक परिक्षण कारबाहीतर्फ ८८, छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लापसे ५३ र TCA तर्फ ९ वटा गरी ५ हजार ७०३ सवारी साधनलाई कारबाही गरिएको हो । प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘प्रहरीले कारबाही गर्ने भन्दा पनि यात्रु एवम् चालकहरूको सुरक्षालाई विशेष प्राथमिकतामा राखी दुर्घटना हुन सक्ने स्थानको पहिचान गरेर नियमित तथा आकस्मिक रूपमा चेकजाँच गर्ने गर्छ । सुरक्षित र मर्यादित सडकको प्रयोग एवम् सवारी आगमनलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीले विभिन्न प्रविधिहरूको समेत प्रयोग गरी कार्य गरिरहेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाएको देखेमा, पाइएमा नजिकको प्रहरी कार्यालय वा १००/१०३ मा खबर गर्नुहुन आम नागरिकमा अनुरोध छ ।’
नेपाल प्रहरीले दुर्घटना न्यूनीकरणको लागि ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत संचालन गर्दै आइरहेको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत यस वर्षको दसैंको अवधिमा देशभर ४ सय ८ वटा यात्रु सहायता कक्ष, अन्तर्राष्ट्रिय सीमा नाकाका १ सय ८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरी दुर्घटना न्यूनीकरणमा विशेष सतर्कता अपनाई कार्य गरिएको थियो । साथै नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘दिपावली, नेपाल सम्वत् र छठपर्व’ लगायतका पर्वहरूलाई केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले सवारी दुर्घटना न्यूनीकरणमा विशेष योजना अवलम्बन गरी कार्य गरिरहेको छ ।