अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-१९
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गा चेक प्वाईन्टबाट अवैध लागूऔषध १ सय ३ ग्राम खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र ४ ग्राम सेतो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित भारत मोतिहारी बस्ने २० वर्षीय दिपेन्द्र कुमार भगतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख २०१९ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी बुढानिलकण्ठ नगरपालिका-७ हात्तिगौडा बस्ने गोरखा सिरानचोक गाउँपालिका-७ घर भएका ३४ वर्षीय निरज भन्ने तुल बहादुर ढकाललाई नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार २० एम्पुल, नुर्फिन ८ सय ५५ एम्पुल र फेनारगन ८ सय ५० एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ । ढकाल लगायतका मानिसहरुले लागूऔषधको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनको कोठा तलसी गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कानूनी कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।