प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ६७औं प्रहरी दिवस २०७९ सम्पन्न

२०७९-०६-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित विशेष समारोहबीच ६७औं प्रहरी दिवस २०७९ सम्पन्न भएको छ । 

प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो ।

विशेष समारोहमा प्रधानमन्त्री देउवाले ‍अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०७९” को लोकार्पण समेत गर्नुभयो । 

समारोहमा प्रधानमन्त्री देउवाले अर्घाखाँची सन्धिखर्क नगरपालिका-२ का अमर प्रहरी हवल्दार हेमन्त बहादुर जिसीको छोरी रञ्जु जिसी र दाङ घोराही उपमहानगरपालिका-१५ का अमर प्रहरी जवान निमशरण थापाको छोरा सन्दिप थापालाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार छात्रवृत्ती प्रदान गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक सन्तोष खड्कालाई मोतिलाल बोहोरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गर्नुभयो । 

समारोहमा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) २०७९ अन्तर्गत अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) २०७९ तर्फ सर्वोत्कृष्ट हुन सफल १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई प्रहरी व्याटन प्रदान गर्नुभयो । 

विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले स्थापना काल देखि विभिन्न आरोह-अवरोहबीच शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी राष्ट्र र नागरिक सेवामा कटिवद्ध नेपाल प्रहरीको योगदान अत्यन्त उल्लेखनीय रहेको बताउनुभयो । आपत-विपत् परेका, निर्वल, अशक्त, असहाय, जोखिममा परेका, अपराधबाट पीडित व्यक्तिहरूको साथी नेपाल प्रहरी भएकोले समस्त नागरिकको विश्वास र भरोसाको केन्द्र बनि गौरवमय र महत्वपूर्ण कार्यसम्पादन गर्न निर्देशन दिँदै प्राकृतिक तथा मानव सिर्जित विपद्हरूमा नागरिक सेवामा पहिलो पङ्क्तिमा रहेर प्रहरीले हालसम्म निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको मूल दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रहरीले आफ्नो मूल दायित्व ईमानदारिपूर्वक बहन गरेमात्र देशको शान्ति सुरक्षा मजबुत हुन जान्छ ।” निष्ठावान एवं पूर्ण व्यावसायिक भई प्रचलित कानुनबमोजिम कसैको दबाब र प्रभावमा नपरी प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्न उहाँले निर्देशन दिनुभयो । नेपाल प्रहरीले देश भित्र र बाहिर समेत कार्यसम्पादनमा हालसम्म प्रदर्शन गर्दै आएको उच्च व्यावसायिकताकले नै नेपाल प्रहरीको क्षमताको अन्तर्राष्ट्रियस्तमा समेत प्रशंसा हुँदै आएको चर्चा गर्दै संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाल प्रहरीको सहभागितालाई अझ बढावा दिन नेपाल सरकार सकारात्मक रहेको बताउनुभयो । विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा अपराधका नयाँ प्रवृत्ति र शैलिहरुविरूद्ध लड्न प्रविधिको माध्यमबाट प्रहरीलाई आधुनिकरण गर्ने कार्यलाई नेपाल सरकारले सदैव प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रहरी दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले शहादत प्राप्त शहीद, अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरु प्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै उनीहरूको योगदान र निष्ठाको नेपाल सरकारले उच्च मूल्याङ्कन गर्ने बताउनुभयो । 

समारोहमा विशेष अतिथि गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी नागरिकको जीवन रक्षाको साथै शान्ति सुरक्षा सुव्यवस्था वहाल गर्न, देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन अंग्रपक्तिमा रहेर कर्तव्य निष्ठ रहदै आएको चर्चा गर्नुभयो । बाढी, पहिरो तथा प्राकृतिक विपद्‌ तथा कोभिड-१९ को महामारीको समयमा उद्दार, राहत र व्यवस्थापनका लागि अग्रपंक्तिमा रही नेपाल प्रहरीले आम नागरिकको जीवन रक्षाका लागि निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुहुँदै गृहमन्त्री खाणले आगामी दिनमा नेपाल सरकार अझै प्रहरीमैत्री हुने र सम्पूर्ण प्रहरी कर्मचारीको मनोवल विकासका लागि प्रतिवद्ध रहेको बताउनुभयो । 

प्रहरीको व्यावसायिकता अभिवृद्धि गरी अपराध नियन्त्रण र अनुसन्धान एवम्  शान्ति सु-व्यवस्था मार्फत् जनतालाई सरल र सहज सेवा पुर्‍याउने सुनिश्चितताका लागि नेपाल प्रहरीलाई समयसापेक्ष प्रविधिमैत्री र साधनस्रोत सम्पन्न बनाई नयाँ चुनौतीको सामान गर्न सक्षम बनाउन नेपाल सरकार र गृह मन्त्रालय सदैव तत्पर रहेको उल्लेख गर्नुभयो ।  उहाँले राज्यले सुम्पिएको दायित्व निर्वाह गर्ने क्रममा आफ्नो प्राण उत्सर्ग गर्ने अमर तथा वीर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्यपालनका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।  

उक्त अवसरमा गृहमन्त्री बालकृष्ण खाण, महान्यायाधिवक्ता, मुख्य सचिव, प्रधान सेनापति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरु, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । 

समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्र र नागरिकको सेवा गर्दाकै बखत वीरगति प्राप्त अमर प्रहरीहरूको अभाव संगठनले सदैव महसुस गर्ने बताउनुभयो । अच्युतमिना छात्रवृत्ती एवम् मोतिलाल बोहोरा सर्वोत्कृष्ट अनुसन्धान पुरस्कार कोष गठन गरी प्रहरी कर्मचारीको मनोवल अभिवृद्धि र अमर प्रहरी परिवारको कल्याणको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूको साथ र सहयोग निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूमा उच्च मनोवलको वृद्धि गर्न वृत्ति विकास एवम् सुविधा अभिवृद्धिमा संगठनको प्राथमिकतामा रहेको बताउनुभयो । प्रहरी सेवा प्रवाह थप सशक्त र उपलव्धिमूलक बनाउने उद्देश्यले प्रहरी कर्माचारीको मनोवल तथा कार्य प्रवाह सुदृढीकरणका लागि उच्च प्राथमिकतायुक्त क्षेत्रहरु पहिचान मार्फत् ८ वटा लक्ष्य राखि नेपाल प्रहरीको कार्य योजना-२०७९ लागू गरिएको उहाँले बताउनुभयो । संयुक्त राष्ट्रसंघीय मिसनमा गत ४ वर्षदेखि रोकिएको नेपाल प्रहरीको एफपीयूको पुन: सहभागिता सम्बन्धि तयारीलाई नेपाल प्रहरीले तिव्रता दिएको बताउँदै  इन्टरनेस्नल एक्सपोजरबाट संगठनको व्यावसायिकीकरण अभिवृद्धिमा थप योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले आगामी मंसिर ४ मा सम्पन्न हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन उच्च मनोवलका साथ स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारी कटिवद्ध रहको बताउनुभयो । संगठनलाई स्रोत साधनयुक्त बनाई गतिशिल बनाउन र संगठनले गरेको सत्प्रयासलाई सार्थक तुल्याउन तालुक गृह मन्त्रालयबाट निर्देशन र सहयोग सदैव प्राप्त भईरहनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । 

समारोहमा ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ २०७९ द्वारा सम्मानित प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहले अवार्डका निमित्त सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै आफूले पाएको अवार्ड विभिन्न समय र परिस्थितीमा नेपालको संविधान, ऐन, कानुन र नेपालीको सुरक्षाको लागि आफ्नो प्राणको आहुती दिने वीर सहिद, आफ्नो कर्तव्य क्षेत्रमा काम गर्दा साथ, सहयोग र निर्देशन दिनुहुने अग्रज र सहकर्मीहरूमा समर्पण गर्न चाहेको बताउनुभयो ।  

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कृतज्ञताको चिनो समेत प्रदान  गर्नुभयो ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले अमर प्रहरीका परिवारहरुलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।  

उक्त विशेष समारोह पश्चात प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व प्रहरी महानिरीक्षकहरु लगायत पूर्व वरिष्ठ प्रहरी अधिकृतहरुबीच पुनर्मिलन कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ २०७९ द्वारा सम्मानित प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहको बारेमा तयार पारिएको संक्षिप्त वृत्तचित्र प्रस्तुत गरिएको थियो । साथै उक्त कार्यक्रममा नेपाल प्रहरीका कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुती समेत दिनुभएको थियो ।

६७औं प्रहरी दिवस २०७९ सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहत समेतमा विविध कार्यक्रमहरुका साथ मनाइएको   छ ।


सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट कदरपत्र तथा पुरस्कार वितरण
२०७९-०६-३१

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ६७औं प्रहरी दिवस २०७९ का अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा योगदान पुर्‍याएबापत प्रहरी नायव उपरीक्षक अनिल कुमार घिमिरेलाई पूर्ण शान्ति पुरस्कार र साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी निरीक्षक दिपक थापालाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्यांङ्कन (Police Baton) २०७९ अन्तर्गत आ-आफ्नो विधामा उत्कुष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइराला, मधेश प्रदेश तालिम केन्द्र राजविराजका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र केसी, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुरका प्रहरी उपरीक्षक रन्जित सिंह राठौर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी उपरीक्षक दिलिप घिमिरे, प्रहरी वृत्त महाराजगंजका प्रहरी नायव उपरीक्षक अंगुर जिसी, ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीका प्रहरी निरीक्षक जयदेव माझी, प्रहरी प्रभाग सानेपाका प्रहरी निरीक्षक उमेश गुरूङ श्रेष्ठ र प्रहरी चौकी चौघडा मकवानपुरका प्रहरी नायव निरीक्षक रामशरण दुलाललाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।   प्रहरी महानिरीक्षक सिंहले उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर र प्रहरी नायव निरीक्षक मदन राज स्याङ्बो, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक नरेश शाही, उत्कृष्ट विपद् उद्दारक प्रहरी नायव निरीक्षक सूर्य सिंह थापा, सपोर्टिभ समूह (प्राविधिक)तर्फ प्रहरी उपरीक्षक पुस्कर राज भट्ट, प्रहरी निरीक्षक सर्मिला भट्ट, प्रहरी वरिष्ठ नायव निरीक्षक कृष्ण बानियाँ, प्रहरी नायव निरीक्षक मणी भुषण कुमार झा, प्रहरी नायव निरीक्षक कोपिला केसी, प्रहरी हवल्दार राम बहादुर गुरूङ, प्रहरी हवल्दार तुलाराज मुक्तान, प्रहरी हवल्दार बिश्णु सुवाल र प्रहरी कार्यालय सहयोगी बालकुमारी पुनलाई कदरपत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।  यसैगरी जोखिमपूर्ण कार्यतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी वरिष्ठ हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट खेल प्रशिक्षक तथा खेलाडीतर्फ प्रहरी सहायक हवल्दार राकेश महर्जन, प्रहरी जवान कमला पुन, प्रहरी जवान चन्द्रकला लामगादे र नेपाल प्रहरी पुरूष क्रिकेट टिमका खेलाडी दिपेन्द्र सिंह ऐरी, उत्कृष्ट आन्तरिक तथा बाह्‍य प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्का र प्रहरी हवल्दार महेन्द्र खत्री क्षेत्री र उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक किरण तामाङलाई कदरपत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।  यसैगरी प्रहरी महानिरीक्षक सिंहले प्रहरी द्वैमासिक पत्रिकामा गत १ वर्षभित्र प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे र सर्वसाधारणतर्फ काठमाडौं चाबहिलका अच्युत प्रसाद पौडेल चिन्तनलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने १५ जना जग्गादाताहरु र नेपाल प्रहरी स्मारक गुठिका १२ जना  आजिवन सदस्यहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।    यसैगरी नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्‍याएबापत राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सिंहदरवार, नेपाल टेलिकम केन्द्रीय कार्यालय, एनसिएल अक्षता लिमिटेडका प्रतिनिधिहरू, केल्ली स्पोर्टस प्रालिका मेनेजिङ डाईरेक्टर उत्तम न्यौपाने, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजका मेडिकल डाईरेक्टर डा.रोमन किदवाई, जनकपुर उपमहानगरपालिका-८ बाल्मिकिनगरका अमर चन्द्र अनिललाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले सम्माननीय राष्ट्रपति ज्यूबाट वि.सं. २०७७ र २०७८ को संविधान दिवसको अवसरमा प्रहरी कर्मचारीहरूलाई प्रदान गरिएको नेपाल प्रताप सुभूषण ३७ जना, नेपाल प्रताप आभूषण २५ जना, नेपाल प्रताप भूषण २० जना, राष्ट्र सेवा पदक प्रथम श्रेणी १ जना र विरता पद २ जनालाई प्रदान गर्नुभयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक सिंहले पुरस्कृत हुनु विशुद्ध निष्ठा र कर्तव्यपरायणताको मूल्याङ्कन भएकोले आगामी दिनहरूमा अझै बढी लगनशील र कर्तव्यनिष्ठ भई अनुकरणीय कार्यसम्पादन हुनुपर्ने बताउनुभयो । पुरस्कार प्रोत्साहन भएको र पुरस्कृत नहुँदैमा बिचलित हुन नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले संगठनको गरिमा उचो बनाउन व्यावसायिक निष्ठा प्रदर्शन गर्नुहुने अन्य उत्कृष्ट प्रहरी कर्मचारीहरूले कर्तव्यपालनामा तल्लीन र धैर्यता राखेमा भविष्यमा पुरस्कृत हुने अवसर पाउने बताउनुभयो । प्रहरीलाई शान्ति-सुरक्षा र सुव्यवस्था कायम गर्ने क्रममा विभिन्न विधामा सहयोग गरी समग्र संगठनलाई गुन लगाउनु भएका सहयोगीजनप्रति कृतज्ञता व्यक्त गर्दै ती सहयोगबाट नेपाल प्रहरीलाई आफ्नो लक्ष्य प्राप्ती गर्न ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले आम सर्वसाधारणको प्रहरीप्रति सहयोग र विश्वास हुनुपर्ने उल्लेख गर्नुहुँदै प्रहरी कर्मचारीमा भएको असल चरित्रहरूलाई अझ प्रगाढ बनाउन संगठन सदैव प्रयासरत रहेको उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।   

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ६६औं प्रहरी दिवस २०७८ सम्पन्न
२०७८-०६-२०

काठमाडौं,  प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६६औं प्रहरी दिवस २०७८ सम्पन्न भएको छ ।  प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो । विशेष समारोहमा प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने यस वर्ष घोषित ३३ जना अमर प्रहरीमध्ये ७ जना अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०७८” को लोकार्पण समेत गर्नुभयो । समारोहमा प्रधानमन्त्री देउवाले नुवाकोट विदुर नगरपालिका-२ का अमर प्रहरी प्रहरी जवान मनोज कुमार हमालका छोरा हार्दिक हमाल र दोलखा लामिडाँडा-८ का अमर प्रहरी प्रहरी सहायक निरीक्षक राम बहादुर खड्काकी छोरी सन्जीवनी खड्कालाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार तथा वैतडी शिवनाथ-२ का अमर प्रहरी शेर सिंह साउदको छोरा अनिल साउद र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ का अमर प्रहरी प्रहरी जवान राम बहादुर चौधरीकी छोरी नीमृत चौधरीलाई अच्युत-मिना अमर प्रहरी परिवार छात्रवृत्ति प्रदान गर्नुभयो । विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी अपराधको संजाल र अवाञ्छित गतिबिधि निस्तेज गर्न दृढ संकल्पित रहेको चर्चा गर्नुभयो । हालको परिस्थितिको कुनै पनि प्रवाह नगरी संगठनका प्रत्येक सदस्यहरु पेशागत कर्तव्य पालनामा अझ उच्च मनोबलका साथ कार्य सम्पादनमा खटिने अपेक्षा लिएको उहाँले उल्लेख गर्नुभयो । निष्पक्ष अनुसन्धान र कानून कार्यान्वयन कानूनी राज्यका आधार भएको तथा निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुका साथै राज्यमा दण्डहिनताको अन्त्य गर्न समेत मद्दत पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “कुनै पनि स्वार्थ तथा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु ।” प्रहरी संगठनले थालेका सुधारका रचनात्मक कार्यलाई सफल तुल्याई नेपाल प्रहरीको संस्थागत विकास मार्फत प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रवाह गर्न उहाँले विशेष आग्रह गर्नुभयो । विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा संगठित एवं विद्युतिय संजालमा आधारित भएर विश्वभर फैलिरहेको अपराधका नयाँ प्रवृत्ति र शैलिहरुप्रति नेपाल प्रहरी ज्यादै चनाखो र प्रभावकारी हुनु जरुरी रहेको समेत उहाँले बताउनुभयो ।  प्रहरी दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले शहादत प्राप्त शहीद, अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरु प्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।  समारोहमा विशेष अतिथि गृहमन्त्री बालकृष्ण खाणले नेपाल सरकारको एउटा अभिन्न अंगको रुपमा रहेको नेपाल प्रहरीले नागरिकको जीवन रक्षाको साथै शान्ति सुरक्षा सुव्यवस्था वहाल गर्न, देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन अंग्रपक्तिमा रहेर कर्तव्य निष्ठ रहदै आएको चर्चा गर्नुभयो । अपराध नियन्त्रण र अनुसन्धान एवम्  शान्ति सु-व्यवस्था कायम गर्न सबै सुक्षा निकायहरुलाई आधुनिकिकरण गर्न, साधनस्रोत सम्पन्न बनाई नयाँ चुनौतीको सामान गर्न सक्षम बनाउन वर्तमान सरकार ज्यादै संवेदनशील र गम्भीर रहेको उहाँले बताउनुभयो । बाढी, पहिरो तथा प्राकृतिक विपद् उद्दार, राहत र व्यवस्थापनका लागि तथा कोभिड-१९ को महामारीको समयमा संक्रमणको प्रवाह नगरी अग्रपंक्तिमा नेपाल प्रहरीले आम नागरिकको जीवन रक्षाका लागि निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुहुँदै गृहमन्त्री खाणले आगामी दिनमा नेपाल सरकार अझै प्रहरीमैत्री हुने र प्रहरीको क्षमता वृद्धिका लागि प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले आफ्नै जीवनलाई समेत जोखिममा पारी राज्यले सुम्पिएको दायित्व निर्वाह गर्ने क्रममा आफ्नो प्राण उत्सर्ग गर्ने अमर तथा वीर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्यपालनका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।आफ्नो दायित्व निर्वाह गर्ने क्रममा सबै प्रहरी कर्मचारीहरु उत्कृष्ट रुपमा प्रस्तुत हुन र राष्ट्र एवम् जनताको हक हित रक्षाको लागि अझै  संवेदनशील र गम्भीर हुन उहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।  उक्त अवसरमा गृहमन्त्री बालकृष्ण खाण, महान्यायाधिवक्ता, प्रधान सेनापति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरु, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी गतिशिल संगठन भएकोले यसको समुचित कार्य बिशिष्टिकरण प्रहरीको ध्येय हुनुपर्ने चर्चा गर्नुभयो । समाजले प्रहरीबाट धेरै अपेक्षा र विश्वास गरेको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “हाम्रो कर्मक्षेत्र पनि समाज र नागरिक नै हो । यो कर्तव्यबाट नत हामी विमुख हुन नै सक्छौ न समाजले हाम्रो बिकल्प  नै खोज्न सक्छ । यो अनन्त : र अटुट सम्बन्धलाई प्रगाढ र विश्वसनीय बनाउनु हाम्रो व्यवसायिक धर्म हो ।” प्रहरी प्रधान कार्यालयसँग आन्तरिक लिखतको रुपमा ‘नेपाल प्रहरीको कार्ययोजना २०७७’ रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फिल्ड तहका प्रहरी कर्मचारीको मनोबल तथा प्रहरी कार्य प्रवाह सुदृढिकरण गरी प्रहरी सेवाको विश्वसनीयता अभिवृद्धि गर्न उच्च प्राथमिकतायुक्त बेन्चमार्क क्रियाकलापहरु अगाडि बढाइएको बताउनुभयो । प्रहरी हवल्दार तथा प्रहरी जवानको मनोबल र उत्प्रेरणा अभिवृद्धिका क्षेत्र पहिचान गरी सोही बमोजिम क्षेत्रगत रुपमा तत्कालिन र दीर्घकालिन योजना बनाइएको बताउँदै नेपाल प्रहरीलाई प्रणालीगत रुपमा सञ्चालन गर्न १३ वटा नयाँ कार्यादेश कार्यान्वयनमा ल्याइएको, प्रचलनमा रहेका प्रशिक्षणलाई नागरिक मैत्री बनाउन ७ वटा पाठ्यक्रमहरु परिमार्जन गरिएको, १० वटा नयाँ पाठ्यक्रमहरु स्वीकृत गरिएको तथा १ सय ३३ वटा कार्यदेश, निर्देशिका र मापदण्ड तर्जुमा गरिएको उहाँले बताउनुभयो । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कृतज्ञताको चिनो समेत प्रदान गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले यस वर्ष घोषित ३३ जना अमर प्रहरीमध्ये ७ जना अमर प्रहरीका परिवारहरुलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।   उक्त विशेष समारोह पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व प्रहरी महानिरीक्षकहरु लगायत पूर्व वरिष्ठ प्रहरी अधिकृतहरुबीच पुनर्मिलन कार्यक्रम समेत सम्पन्न भएको थियो । ६६ औं प्रहरी दिवस २०७८ सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहात समेतमा विविध कार्यक्रमहरुका साथ मनाइनुका साथै यस वर्ष घोषित ३३ जनामध्ये २६ जना अमर प्रहरीका परिवारहरुलाई पायक पर्ने प्रदेश प्रहरी कार्यालयहरुमा कदरपत्र प्रदान गरिएको छ । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट कदरपत्र तथा पुरस्कार वितरण
२०७८-०६-२०

काठमाडौं,  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ का अवसरमा बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरु एवम् उत्कृष्ट लेखकहरुलाई कदरपत्र तथा पुरस्कार वितरण गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई पूर्ण शान्ति पुरस्कार २०७८ र साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक सुमेश पाण्डेलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गर्नुभयो ।सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ्‍ग, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव उपरीक्षक फनिन्द्र प्रसाई, प्रहरी निरीक्षक मणिराम थापा, प्रहरी नायव निरीक्षकद्वय सन्तोष थापा मगर र कृष्ण राज सेढाई, उत्कृष्ट अनुसन्धानकर्ता सोकोतर्फ प्रहरी सहायक निरीक्षक मच्छेन्द्र नाथ, उत्कृष्ट व्यवस्थापकीय कार्य गर्ने प्रहरी नायव उपरीक्षक जनक बहादुर शाही, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक सुनिल कार्की, उत्कृष्ट विपद् उद्दारक प्रहरी जवान संजिव कुमार साह, सपोर्ट समूह (प्राविधिक)तर्फ प्रहरी नायव उपरीक्षक उदयजङ्ग बहादुर राणा, प्रहरी निरीक्षक ई.चिरञ्जिवि प्रताप महतो, प्रहरी नायव निरीक्षकहरू शान्ति शाक्य, रमण बहादुर पल्ली मगर, सन्तोष लामा, प्रहरी हवल्दारहरू राजन भण्डारी, पूर्ण बहादुर खत्री र पुरुषोत्तम माझीलाई कदरपत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभयो । यसैगरी जोखिमपूर्ण कार्य गर्ने प्रहरी नायव उपरीक्षक डा. जयन्ति ढुङ्गाना, प्राविधिक प्रहरी निरीक्षक निरुषा महर्जन, प्रहरी कार्यालय सहयोगीद्वय सर्मिला भुलेज र सुरज देउला, उत्कृष्ट खेलाडी तथा खेल प्रशिक्षकतर्फ प्रहरी नायव निरीक्षक केदार बहादुर सिङ्खडा, प्रहरी जवानहरू कुशल भुर्तेल, सुशिला थापा, रोशन कार्की र निरु थापा, उत्कृष्ट आन्तरिक तथा बाह्‍य प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, प्रहरी जवानद्वय सम्झना रायमाझी तथा बिमला चौधरी र पुरस्कार पाउने अन्य प्रहरी कर्मचारीतर्फ प्रहरी नायव निरीक्षक नविन कुमार गिरी तथा प्रहरी कार्यालय सहयोगी निराजन श्रेष्ठलाई कदरपत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभयो । यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने स्थानीय तह अन्तर्गत काठमाडौं महानगरपालिका, संघ संस्थातर्फ नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, एपी १ टेलिभिजन,  टुडालदेवी जेष्ठ नागरिक समिति, भक्तपुर उद्योग वाणिज्य संघ, शैक्षिक संस्थातर्फ सारदा मावि भक्तपुर नगरपालिका-२, ईन्द्रेश्वरी मावि सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११, संस्थागततर्फ आसरा सुधार केन्द्र रानीबारी काठमाडौं, फ्रिडम किड व्याग सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-५ लाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी द्वैमासिक पत्रिकामा २०७७ मा प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी निरीक्षक घन बहादुर थापा र सर्वसाधारणतर्फ काठमाडौं बबरमहलका गम्भीर बहादुर हाडालाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो भने नेपाल प्रहरीका अवकाश प्राप्त जेष्ठ सदस्यहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो । यसैगरी जग्गादाताहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ नारायणस्थानका दिर्ग कुमारी खतिवडा, नुवाकोट पञ्चकन्या गाउँपालिका, कारागार सुरक्षा गार्ड नुवाकोट, नुवाकोट किस्पाङ गाउँपालिका-५ का वीरेन्द्र बहादुर गुरुङ, बिष्णु घले, जितेन्द्र तामाङ मोक्तान, नुवाकोट साबिक दानसिङ गाविस-५ हाल तारकेश्वर गाउँपालिका-१ का मान बहादुर तामाङ, सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका, सिन्धुपाल्चोक जगल गाउँपालिका-५ का वीर बहादुर श्रेष्ठ, खड्क बहादुर श्रेष्ठ, मधुकर श्रेष्ठ, हस्त बहादुर श्रेष्ठ, काभ्रे मण्डनदेउपुर नगरपालिका, काभ्रे रोशी गाउँपालिका-७ का मान कुमारी गौतम र शिवनारायण श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले ६६ औं प्रहरी दिवसको उपलक्ष्यमा नेपाल प्रहरी बिद्यालय साँगा काभ्रेद्वारा आयोजित राष्ट्रव्यापी चित्रकला प्रतियोगितातर्फ प्रथम स्थान हासिल गर्ने रिपुमर्दनी सैनिक सेकेन्डरी स्कुल काठमाडौंकी ईन्दिरा थापा, द्वितिय स्थान हासिल गर्ने काठमाडौं युनिभर्सिटी हाईस्कुल काभ्रेका प्रशान्त मकाजु श्रेष्ठ र तृतीय स्थान हासिल गर्ने जेन्युन सेकेन्डरी स्कूल भक्तपुरका सुबिज्ञा प्रधानलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसैगरी समाजसेवी महालक्ष्मी नगरपालिका-५ टिकाथलीका पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी, काठमाडौं महानगरपालिका-१० दयावती रावल तथा प्रहरी कार्य तथा अनुसन्धान कार्यमा सहयोग गर्ने १२  जनालाई कदरपत्र प्रदान गर्नुभयो । सम्मानीय राष्ट्रपतिज्यूबाट २०७६ साल संविधान दिवसका दिन घोषितमध्ये ४५ जना प्रहरी कर्मचारीहरु तथा २ जना पूर्व प्रहरी कर्मचारीहरुलाई अलंकार तथा पदकहरु प्रदान गर्नुभयो । कार्यक्रममा सफल अनुसन्धान, अभिभावकत्व, आत्महत्या, घरेलु हिंसा, जबरजस्ती करणी, बालबालिका हराएमा वा भेटिएमा, सवारी दुर्घटना तथा साइबर क्राइम सम्बन्धी जनचेतनामूलक सन्देश सहितको Public Service Announcement (PSA) मध्ये एक प्रतिनिधिमूलक भिडियो प्रसारण गरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले PSA को शुभारम्भ समेत गर्नुभयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कृत हुनु कर्मको फल भएको र पुरस्कार नपाउने पनि कर्मयोगी नै हुने बताउनुभयो । पुरस्कार प्राप्त गर्नेले प्राप्त पुरस्कारको लाज राख्न आगामी दिनहरूमा अझ उत्साही भई कार्यसम्पादन गर्नुपर्ने र पुरस्कार प्राप्त नगरेका अन्य कर्मचारीहरुले आगामी दिनमा पुरस्कार पाउने दृढ विश्वास एवं उच्च मनोवलका साथ कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सुरक्षा संयुक्त जिम्मेवारीको विषय भएकोले आम सर्वसाधारणको प्रहरीप्रति सहयोग र विश्वास हुनुपर्ने उल्लेख गर्नुहुँदै स्थानीय तहसँग बढी विस्तारित भएको प्रहरीले त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । प्रहरी कर्मचारीमा भएको असल चरित्रहरूलाई अझ प्रगाढ बनाउन संगठन सदैव प्रयासरत रहेको उहाँले चर्चा गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

६६औँ प्रहरी दिवस २०७८ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
२०७८-०६-१९

कपिलवस्तु, २०७८ असोज १९ गते ६६औँ प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा सोही कार्यालयको प्राङ्गणमा एकदिने बृहत रक्तदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी कपिलवस्तुका जिल्ला शाखाका मन्त्री सन्तोष श्रीवस्तवले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गरिएको थियो । रक्तदान कार्यक्रममा प्रहरी उपरीक्षक दान बहादुर कार्की समेत ५५ जना प्रहरी कर्मचारी र पत्रकार महासंघ कपिलवस्तुका जिल्ला सचिव जानु पाण्डे गरी जम्मा ५६ जनाले रक्तदान गर्नुभएको थियो ।  

६६औं प्रहरी दिवस २०७८ तथा विश्व अहिंसा दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
२०७८-०६-१७

काठमाडौं, २०७८ असोज १७ गते  ६६औं प्रहरी दिवस २०७८ तथा विश्व अहिंसा दिवसको अवसरमा बसन्तपुर डबलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना महिला र १ सय ३३ जना पुरुष गरी जम्मा १ सय ६४ जना महानुभावहरुले रक्तदान गर्नुभएको थियो ।काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, प्रहरी अधिकृत, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत आम नागरिकको सहभागिता रहेको थियो ।महानगरीय प्रहरी परिसर काठमाडौं र लैङ्गिक हिंसा नियन्त्रण संजाल जिल्ला समिति काठमाडौंको संयुक्त आयोजनामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

६६औं प्रहरी दिवस २०७८ को अवसरमा विभिन्न कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न
२०७८-०६-१५

काठमाडौं, २०७८ असोज १५ गते काठमाडौं, ६६औं प्रहरी दिवस २०७८ को अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा आयोजित उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय, उक्त अस्पताल लगायत उपत्यकास्थित विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरु ६४ जना पुरुष र १० जना महिला गरी जम्मा ७४ जनाले रक्तदान गरेका थिए ।मकवानपुर, ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी हेटौंडा शाखासँगको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।मोरङ, ६६औँ प्रहरी दिवस २०७८ को अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत ६० जना प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।