मोबाइल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८०-०१-१५
- A
- A-
- A+
तनहुँ, व्यास नगरपालिका-२ जनजागृतीमार्ग बस्ने लक्ष्मी श्रेष्ठको घरबाट २ थान मोबाइल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा व्यास नगरपालिका-४ बागबजार बस्ने २२ वर्षीय ताईरे भन्ने सौरब दरै र म्याग्दे गाउँपालिका-१ गुणादी बस्ने १९ वर्षीय शैलेस परियार रहेका छन् । वैशाख १० गते राति भएको उक्त चोरीमा संलग्न रही फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले व्यास नगरपालिका-३ बाट चोरी भएका २ थान मोबाइलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी व्यास नगरपालिका-४ बस्ने सैलेन्द्र पण्डितको डेराबाट मोबाइल तथा नगद समेत चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-५ सागे बस्ने २२ वर्षीय सुनिल थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैशाख ५ गते बिहान भएको उक्त चोरीमा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले व्यास नगरपालिका-२ भोर्लेटारचोकबाट चोरी भएको मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।