अवैध लागूऔषधसहित पक्राउ
२०८०-०१-२४
- A
- A-
- A+
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलीग्रामसहित सोही गाउँपालिका-६ मैनापोखर बस्ने १८ वर्षीया आस्मा चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
झापा, कन्काई नगरपालिका-३ सुरुङ्गाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित बाह्रदर्शी गाउँपालिका-४ बस्ने ३९ वर्षीय बुधना आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर भंसार ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित गौरीगंगा नगरपालिका-८ बस्ने १९ वर्षीय राममाया कुस्मीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउन सुगरसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ८० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-२ मोतीपुर बस्ने २६ वर्षीय सागर घिमिरे र सोही नगरपालिका बगौरा बस्ने ३३ वर्षीय प्रेम सुनार रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सागरलाई करिब २ ग्राम १७० मिलिग्राम र सुनारलाई करिब ९ सय १० मिलिग्राम गरी जम्मा ३ ग्राम ८० मिलिग्राम उक्त ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।