शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-१०-२०
- A
- A-
- A+
कास्की, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशको समग्र शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयको शनिबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा प्रदेश मातहत कार्यालयका प्रमुखहरू र गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले प्रदेश प्रहरी कार्यालयको परिसर, संरचना, सवारी साधन, शाखाहरूको निरीक्षण तथा अनुगमन, कार्यालयको बस्तुस्थिती एवम् संक्षिप्त प्रस्तुतिकरणमा सहभागी हुनु भई गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षा सम्बन्धमा जानकारी समेत लिनुभयो ।
सो अवसरमा गृहमन्त्री श्रेष्ठले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन र नेपाल सरकार तथा विभागीय नीति निर्देशन समेतलाई मध्यनजर राखी आ-आफ्नो जिम्मेवारी त्रुटिरहित तवरबाट सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । आत्महत्या, महिला तथा बालबालिका विरूद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उहाँले उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्री ज्यूबाट प्राप्त निर्देशनले आगामी दिनमा प्रहरी थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनालले सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।