नेपाल पुलिस स्कुल साँगाको ४०औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न
२०८०-११-१२
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४०औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।
उक्त अवसरमा सङ्घकी अध्यक्ष कुँवरले विद्यालयको वार्षिक म्यागजिन ‘दीपिका’ ३३औं अङकको लोकार्पण गर्नुका साथै विद्यालयका पूर्व प्राचार्यहरू तथा पूर्व समादेशकहरूलाई सम्मान समेत गर्नुभयो ।
सो अवसरमा सङ्घकी अध्यक्ष कुँवरले विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरू, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै उहाँले विद्यार्थीहरूले निर्माण गरी प्रदर्शनीमा राखेका विभिन्न विज्ञान तथा कला प्रदर्शनीको अवलोकन समेत गर्नुभयो ।
कार्यक्रममा सङ्घकी अध्यक्ष कुँवरले प्रहरी स्कुल साँगाले विगतमा शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप र खेलकुदमा उल्लेखनीय उपलब्धी हासिल गरेको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी, लक्ष्यभेदी र उपलब्धीमूलक कार्यक्रम संचालन गरी उज्यालो र सुनौलो भविष्य रचना गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि विद्यालय हर तरहबाट खट्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
नेपाल पुलिस स्कुल साँगाको व्यवस्थापन समितिका अध्यक्ष नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले धन्यवाद ज्ञापन गर्नुको साथै विद्यालयमा स्थापित २३ वटा अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा ५९ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभयो ।
नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू एवम् अभिभावक लगायतको उपस्थिति रहेको थियो ।