प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहसचिव एकनारायण अर्यालबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

२०८०-१२-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहसचिव एकनारायण अर्यालले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । 

गृहसचिव एकनारायण अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । 

निरीक्षण भ्रमणका क्रममा गृहसचिव अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै उहाँले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित “भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन” पुस्तक विमोचन गर्नुभयो । 

कार्यक्रममा गृहसचिव अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक कार्य गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतिहरूको समाधानका लागि सबै प्रहरी कर्मचारीहरूको पूर्ण सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो । 

नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको बताउनुहुँदै गृहसचिव अर्यालले भन्नुभयो, “समग्र गृह प्रशासनलाई समसामाहिक हिसाबमा रूपान्तरण गर्नुपर्ने छ । अहिले भएका कार्यसम्पादनबाट हामी आफै पनि सन्तुष्टि छैनौं । जनताहरू पनि सन्तुष्टि भएका अवस्था छैनन् । हाम्रा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने छ र अबका दिनहरूमा गृह प्रशासनमा नयाँ ढंगले काम गर्नुपर्छ भन्ने आफ्नो मन र मस्तिष्कमा राख्नुहोला ।”  

गृहसचिव अर्यालले मुलुकको आन्तिरक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाएको खण्डमा नागरिकहरूले स्वतन्त्रता पूर्वक आफ्नो व्यक्तित्व निर्माण गर्नका लागि शान्तिपूर्ण वातावरण सिर्जना भई आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्ति विकासमा सांगठनीक प्रणाली अन्तर्गत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको पिरमर्का, गुनासोहरूको सम्बोधनको लागि सम्बन्धित कार्यालय प्रमुखहरू क्रियाशील हुनुपर्ने उहाँले बताउनुभयो । नागरिकसँग सम्बन्धित ऐन, कानूनको अध्ययन गरी सेवाग्राहीलाई सोही अनुरूपमा सेवा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

गृहसचिव अर्यालले शून्य सहनशिलताको नीतिलाई अबलम्बन गर्नुपर्ने, चेन अफ कामण्डको उचित कार्यान्वयन गर्नुपर्ने बताउनुहुँदै तस्करी नियन्त्रण एवम् राजश्व चुहावट नियन्त्रणमा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै थप सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । नैतिकवान् र प्रविधियुक्त प्रहरी आवश्यक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “राम्रो काम गर्नलाई डराउनुपर्दैन । व्यावसायिक, उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुहोस् ।” 

कार्यक्रममा गृहसचिव एकनारायण अर्याल समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना, २०८०, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८०/०८१, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग-१ र भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन पुस्तक प्रदान गर्नुभयो । 

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यका प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै न्यायपूर्ण व्यवस्था कायम गर्न तालुक गृह मन्त्रालयको प्रत्यक्ष सुपरिवेक्षणमा रही समृद्ध, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणमा, समग्र नेपाल प्रहरी संगठन र आबद्ध सकल दर्जा कटिबद्ध रहेको बताउनुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको छ र नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा गृह सचिवज्यूबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत व्यक्त गर्नुभयो ।  

निरीक्षण भ्रमणको क्रममा गृहसचिव अर्याल समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना, अपेक्षा र प्रहरी समायोजन लगायतका विषयमा नेपाल प्रहरीको सांगठनिक प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
गृहमन्त्री रमेश लेखकबाट अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ
२०८२-०३-२९

काठमाडौं, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोह बिच अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गर्नुभएको छ ।  सो अवसरमा गृहमन्त्री लेखकले ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री रूपमा संचालन गर्न योगदान पुर्‍याएका Trileaf Technology प्रालि र ज्ञानबजार प्रालिलाई प्रशंसापत्र प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीले आफ्नो कार्य एवम् क्षेत्राधिकार भित्र नयाँ प्रविधिको प्रयोग गरेको कार्य अत्यन्तै सराहनीय भएको चर्चा गर्दै यस प्रविधिको प्रभावकारी रूपमा निरन्तरताको शुभकामना समेत व्यक्त गर्नुभयो । ट्राफिक नियम उल्लङ्घन गर्दा भौतिक रूपले ट्राफिक कार्यालयमा पुगि सचेतना कार्यक्रम लिनुपर्ने अवस्था रहेकोमा प्रविधिको प्रयोग गरी नागरिक एप मार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सकिने व्यवस्था भएको र यो नेपाल प्रहरीमा प्रविधिको प्रयोगमा नयाँ आयम थप भएको समेत उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले नेपाल प्रहरी जनताका बिचमा लोकप्रिय बन्दै गएको तथा नागरिकको प्रहरी प्रतिको विश्वास एवम् भरोसा बढेको चर्चा गर्दै नागरिकालाई केन्द्रविन्दुमा राखेर शिष्ट व्यवहार एवम् आचरणका साथ आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । शान्ति सुव्यवस्था, अपराध अनुसन्धान एवम् रोकथाम लगायतका कार्यमा सीमित साधन स्रोतमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै नेपाल प्रहरी एक पछि अर्को प्रविधिमा प्रवेश गरी राखेको र प्रहरीलाई निरन्तर प्रविधियुक्त बनाई राख्न नेपाल सरकार सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । प्रविधिको प्रयोगले कहिले काँही जोखिम र जटिलता निम्त्याउन सक्ने हुनाले प्रविधिको प्रयोग गर्दा थप सचेत भई आगामी दिनमा अझ सक्रिय भएर ट्राफिक व्यवस्थापन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले आजको दिनमा नागरिकको सेवा र सुरक्षाको विविध क्षेत्रमा प्रविधिको प्रयोग नजर अन्दाज गर्न नसकिने र नेपाल प्रहरीले सामाजको गतिलाई हृदयगमन गर्दै आफ्नो सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई सदैव संगठनको प्रमुख प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउनुभयो । नेपाल प्रहरीले दिने सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने चरणको अर्को अध्याय स्वरूप नै यो अनलाइन ट्राफिक सचेतना कक्षाको शुरू गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि नागरिकको सेवा र सुरक्षाका विविध विषयहरूको पहिचान र डिजिटल प्रणालीको विकास गरी सेवा प्रवाहलाई विस्तार गर्दै लगिने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले पछिल्लो समयमा अनुशरण गरेका प्रविधिहरूले सडक दुर्घटना रोकथाम र न्यूनीकरणमा प्रभावकारीता ल्याउनुका साथै कार्यक्षमतामा अभिवृद्धि र सेवा प्रवाहमा सुधार भएको बताउनुभयो । अनलाइन ट्राफिक सचेतना कक्षा सेवाग्राहीलाई सहज हुने भएकोले सेवाग्राहीहरूको पनि पर्‍याप्त सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । अनलाइन माध्यमबाट हुने यस किसिमका कक्षाहरूमा सेवा प्रयोग कर्ताबाट हुन सक्ने लापर्वाहीलाई नकार्न नसकिने हुँदा त्यसतर्फ पनि पर्‍याप्त सजगता अपनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ज्ञान बजार प्रालिका कार्यकारी निर्देशक ऋतिक बाबु श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।    कार्यक्रममा प्रतिनिधि सभा सदस्य अन्जनी श्रेष्ठ, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रधानमन्त्रीज्यूका सूचना प्रविधि विज्ञ, गृहमन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थितिका साथै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

११ बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ सम्पन्न
२०८२-०२-३१

काठमाडौं, अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको शुक्रबारदेखि काठमाडौंमा सुरू भएको दुई दिवसीय तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ शनिबार ११ बुँदे घोषणापत्र जारी गरी समाप्त भएको छ ।सम्मेलन समापनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले सम्मेलनले फौजदारी न्यायको विषयमा सहभागीहरूबीच सार्थक र साझा निष्कर्षमा पुग्न सहयोग गर्नुका साथै आगामी दिनहरूका लागि महत्वपूर्ण प्रतिबद्धता सहित मार्गनिर्देशन गर्न सफल भएको बताउनुभयो । समय र प्रविधिको विकाससँगै नयाँ-नयाँ चुनौति र फरक शैलीका अपराधहरू वृद्धि भइरहेको सन्दर्भमा त्यसलाई सामना गर्न नयाँ पद्दतिको अवलम्बन गरी बयानमूखी अनुसन्धान भन्दा वैज्ञानिक अनुसन्धान तथा अभियोजनमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री लेखकले प्रहरीको अनुसन्धान क्षेत्रको व्यापकता बढ्दै गएको तथा सीमित स्रोत र साधनबीच निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरी सेवालाई वर्गीकृत र विशिष्टिकृत गरी विशेष खालका तालिम, ज्ञान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका उदाहरणहरूको अवलम्बन गरी विज्ञ अनुसन्धानकर्ता तयार गर्नुपर्ने जरूरी रहेको बताउनुभयो ।   समारोहमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले कार्यसम्पादनका क्रममा आइपरेका समस्याहरूलाई सम्बोधन गर्न र भावी कार्यदिशा कोर्न तथा फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउन सम्मेलन सफल भएको विचार व्यक्त गर्नुभयो । सो अवसरमा महान्यायाधिवक्ता रमेश बडालले फौजदारी न्याय प्रणालीको क्षेत्रमा भइरहेका अभ्यासहरूलाई समायानुकुल परिवर्तन गर्न सम्मेलन प्रभावकारी भएको बताउनुभयो । विधिविज्ञान प्रयोगशालाबाट हुने परीक्षणमा सुधार, विकास र विस्तार गर्नुपर्ने जोड दिँदै उहाँले थप लगानी आवश्यक रहेको बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै अपराध अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग, नयाँ कानूनी व्यवस्था र अभ्यासका बारेमा अनुसन्धानकर्ता, अभियोजनकर्ता र सम्बन्धित विज्ञ तथा विशेषज्ञहरूबीच गहन अन्तर्क्रिया, ज्ञान र अनुभव आदानप्रदानका विषयमा सम्मेलन प्रभावकारी भएको बताउनुभयो । सम्मेलनमा भएका गहन छलफल र विषयगत मन्थन पश्चात पारित घोषणापत्रले आगामी दिनमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको लागि थप पेशागत मार्ग प्रशस्त हुनुका साथै फौजदारी न्याय प्रणाली अझ सुदृढ हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गर्दै समस्याहरूको पहिचान गर्न, सुधारका क्षेत्रहरू पहिल्याउन, एकआपसमा समन्वय र सहकार्यको संस्कृतीको निर्माण हुनुका साथै   अनुसन्धान र अभियोजनमा देखिएका समस्या र चुनौतिहरू सम्बोधन गर्न सम्मेलन कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।   नेपाल बार एशोसियसनका महासचिव केदार प्रसाद कोइरालाले सम्मेलनको महत्व र प्रभावकारिताबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल र प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले सम्मेलनमा पारित घोषणापत्रको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा सम्मेलनमा भएका छलफलका विषयको महत्व र प्रभावकारिताबारे सहभागी अभियोजनकर्ता सरकारी वकीलकोतर्फबाट उपन्यायाधिवक्ता मुना पौडेल र अनुसन्धानकर्ता प्रहरीकोतर्फबाट प्रहरी नायव उपरीक्षक हिमा थोकरले मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन पीडितको सम्मान’, भन्ने अवधारणा सहित २ दिनसम्म संचालन भएको उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू, अभियोजनकर्ता सरकारी वकीलहरू, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, मुद्दा चल्ने इकाईका प्रमुखहरू तथा सरकारी वकीलहरूको भर्चुअल सहभागिता रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन शुभारम्भ
२०८२-०२-३०

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित विशेष समारोहबीच अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ को शुभारम्भ भएको छ । सो अवसरमा प्रमुख अतिथि ज्यूले सम्मेलन विशेषाङ्कको विमोचन समेत गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धानको क्षेत्रलाई प्रविधिको प्रयोग सहित प्रभावकारी बनाई अभियोजनलाई प्रमाणका आधारमा अकाट्य ढंगले प्रस्तुत गरी अपराधीलाई कानुन बमोजिम कारवाही र पीडितलाई न्याय दिलाउन तथा सुशासन र सुव्यवस्था प्रभावकारी बनाउन यो सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले विभिन्न प्रविधिको प्रयोगबाट सिर्जित अपराधहरू चुनौतिको रूपमा देखिएको उल्लेख गर्दै  प्रहरीलाई यस्ता समस्याहरूसँग जुध्न आधुनिक प्रविधि जडित उपकरण उपलब्ध गराउन, स्रोत साधन सम्पन्न गराउन, उचित तालिमको व्यवस्था गरी क्षमतावान बनाउन र समयानुकुल पारिश्रमिकको व्यवस्था गरी प्रहरी सेवालाई निष्पक्ष बनाउन सरकार गम्भीर रहेको बताउनुभयो ।समारोहमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान र अभियोजन फौजदारी न्याय प्रणालीको महत्वपूर्ण आयाम रहेको चर्चा गर्दै व्यवहारिक र कानूनी जटिलताहरूलाई सम्बोधन गर्न यस सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । लोककल्याणकारी राज्यको पूर्वसर्त भनेको न्याय रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले फौजदारी न्यायको केन्द्रमा पीडित रहने हुँदा पीडितलाई न्यायको अनुभूति गराउन थप क्रियाशील भई अगाडि बढ्नुपर्ने बताउनुभयो । अपराधमा विज्ञान तथा प्रविधिको प्रयोग बढिरहेको उल्लेख गर्दै प्रविधिको सहि प्रयोग गरी प्रमाणमुखि अनुसन्धान एवम् अभियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले फौजदारी न्यायप्रणालीको सान्दर्भिकता र प्रभावकारीताका सन्दर्भमा नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयबीचको गहन तथा रचनात्मक सहकार्यले मात्र न्यायको प्रत्याभूति र कानुनी शासनको प्रत्याभूति हुने उल्लेख गर्नुभयो । साथै यस सम्मेलनबाट प्राप्त हुने निष्कर्षले आगामी दिनहरूमा अनुसन्धानकर्ता र अभियोजनकर्ताहरूका लागि थप पेशागत दक्षता अभिवृद्धि गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । महान्यायाधिवक्ता रमेश बडालले धन्यवाद तथा समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्र राज ढकाल, नेपाल बार एशोसियसनका अध्यक्ष प्रा.डा विजय मिश्रले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अनुसन्धानकर्ता र अभियोजनकर्ताहरू एकै स्थानमा जम्मा भई अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्न तथा नयाँ कानुनहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्नका लागि महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयद्वारा संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिताको संशोधन सम्बन्धी प्रस्तावित विधयेक तथा यसको सान्दर्भिकता, सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको वर्तमान अवस्था तथा सुधारका क्षेत्रहरू, नेपालमा साइबर अपराध, अनलाइन स्क्यामिङ लगायतका अपराधको प्रवृत्ति तथा देखिएका चुनौतिहरू, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान, अपराध अनुसन्धानमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, सरकारीवादी फौजदारी मुद्दामा न्यायिक दृष्टिकोण एवम् सुधारका क्षेत्र लगायतका विविध विषयमा सम्मेलनमा विस्तृत छलफल हुनेछ ।‘प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन पीडितको सम्मान, भन्ने अवधारणा सहित २ दिनसम्म संचालन हुने उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू, अभियोजनकर्ता सरकारी वकिलहरू, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, मुद्दा चल्ने इकाईका प्रमुखहरू तथा सरकारी वकीलहरूको भर्चुअल सहभागिता रहेको छ ।

गृहमन्त्री रमेश लेखकद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०२-२१

काठमाडौं, गृहमन्त्री रमेश लेखकले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team र विशिष्टिकृत उद्दारकर्ता समूहको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले नेपालको भूगोल अत्यन्त जोखिमपूर्ण रहेको र हरहमेसा विपद्को सम्भावना रहेको हुँदा नेपाल प्रहरी जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्‍ने, अपराधको नियन्त्रण तथा अनुसन्धानका साथै विपद् व्यवस्थापन पनि प्रहरीको महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्दै विपद्को समयमा कुनै पनि गुनासो नआउने गरी नागरिकको उद्दारमा अत्यन्त क्रियाशीलताका साथ खटिन उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले नेपाल प्रहरी विपद्को समयमा पहिलो पंक्तिमा रहेर उद्दारमा खटिने उल्लेख गर्दै विपद्‍मा आम नागरिकको उद्दार तथा राहतका लागि स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर नागरिकको विश्वास जित्ने गरी उच्च मनोबलका साथ खटिनुपर्ने बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले विपद्का सम्भावित चुनौतिहरूको सामना गर्न नेपाल प्रहरी चौकी स्तरसम्म अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा तत्काल परिचालन हुन सक्ने अवस्थामा रहेको बताउनुभयो । विपद्का घटनामा उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षक एवम् वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

विपद् व्यवस्थापनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने - गृहमन्त्री रमेश लेखक
२०८२-०२-२०

काठमाडौं, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले सूचना संकलन एवम् पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्व तयारीको निरीक्षण र निर्देशन सम्बोधन कार्यक्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा उहाँले विपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन एवम् विपद् उद्दार सामाग्रीहरूको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताउनुभयो । विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्ने गरी उत्कृष्ट कार्य गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्वपूर्ण हुने चर्चा गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । आम नागरिकले संकटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो । विगतका अनुभवहरूलाई विश्लेषण गरी विपद् व्यवस्थापनमा थप प्रभावकारी रूपमा परिचालित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्न, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले आफ्नो क्षमता र उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गरी कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएको बताउनुभयो । सबै किसिमका आपतकालिन घटनामा अग्रपंक्तिमा रहेर प्रहरीले बहुआयामिक भूमिका निर्वाह गर्दै आएको र निरन्तर गरिरहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले विपद् व्यवस्थापनमा परिकल्पना भन्दा बाहिरका परिस्थिति र सुरक्षा चुनौति देखा पर्न सक्ने हुनाले पूर्व तयारीलाई पहिलो प्राथमिकतामा राखेर विपद्का सम्भावित चुनौतिहरूको पूर्व आकलन र ती चुनौतिहरूको सामना गर्न उपलब्ध जनशक्ति र स्रोतसाधनलाई तयारी हालतमा राखिएको बताउनुभयो । साथै विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरी उच्च मनोबलका साथ तयारी हालतमा रहन प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशी, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले विपद् व्यवस्थापन पूर्व तयारी सम्बन्धी आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा निमित्त सशस्त्र प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरू एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०२-०९

धनुषा, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रमबीच मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ धनुषामा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालय र गृह, संचार तथा कानून मन्त्रालय मधेश प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा गृहमन्त्री लेखकले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवम् चुनौतिलाई समाधान गर्न यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने उल्लेख गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन सबै सुरक्षा निकायहरूले विशेष ध्यान दिई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरूलाई नियन्त्रण गर्न सबै सरोकारवाला निकायहरू सक्रिय भएर अगाडि बढ्नुपर्ने बताउँदै सीमा क्षेत्रमा हुने चोरी निकासी पैठारी एवम् सीमावर्ती अपराधहरू नियन्त्रणमा थप सचेत भई काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताउँदै विपद्‍ व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो ।सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्री राज कुमार लेखी, मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले खुला सीमाना भएको यस प्रदेशमा सीमा अपराध, तस्करी, लागूऔषध दुर्व्यसन तथा ओसारपसार, सवारी दुर्घटना र साईबर अपराध मुख्य चुनौतिको रूपमा रहेको उल्लेख गर्दै उपलब्ध स्रोत साधन, जनशक्ति तथा प्रविधिको अधिकतम प्रयोग गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न, अपराध नियन्त्रण एवम् अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न आवश्यक रणनीति तयार गरी सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय एवम् सहकार्य गरी अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी नागरिक केन्द्रित सेवा प्रवाहमा थप सक्रिय भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्रालयका सचिव विमल प्रसाद बराल लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेश प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा मधेश प्रदेश अन्तर्गतका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।