प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मस्तिष्कघात सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

२०८०-१२-०९

  • A
  • A-
  • A+
Share

 काठमाडौं, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा उपेन्द्र देवकोटा फाउण्डेसनको आयोजनामा मस्तिष्कघात सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले प्रहरी कर्मचारीहरूको स्वास्थ्य सेवाप्रति प्रहरी अस्पतालको दायित्व रहेको र प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रहरी अस्पतालले विभिन्न प्रहरी युनिटहरूमा स्वास्थ्य जाँच सम्बन्धी कार्यक्रम संचालन समेत गरेको उल्लेख गर्नुभयो ।  

उपेन्द्र देवकोटा फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सोही फाउण्डेसनका डा. धनश्याम खेरल, डा. सुवास फुयाँल र डा. सुरज थुलुङले मस्तिष्कघात सम्बन्धी प्रस्तुतिकरण गर्नुका साथै उपस्थित प्रहरी अधिकृतहरूबाट उठेका जिज्ञासाहरूको निरूपण समेत गर्नुभयो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।   

 



 

सम्बन्धित समाचार
नेपाल प्रहरी श्रीमती संघलाई शैक्षिक सामग्री हस्तान्तरण
२०८१-०४-११

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघलाई KOICA Nepal ले शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा KOICA Nepal को सहकार्यमा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रमबीच ‍शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरिएको हो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले हस्तान्तरण गरिएका शैक्षिक सामग्री नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौंमा अध्ययनरत अमर अशक्त प्रहरी परिवारका सन्तती तथा कमजोर आर्थिक अवस्था भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गरिने बताउनुभयो । साथै न्यानो कपडा नेपाल प्रहरी अस्पतालको कोल्ड वार्डमा उपचारार्थ रहनु भएका घाइते तथा बिरामीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । आगामी दिनमा पनि नेपाल प्रहरी श्रीमती संघ र KOICA Nepal  बीच मानव कल्याण तथा सामाजिक सेवाको क्षेत्रमा समन्वय र सहकार्य रहिरहने विश्वास उहाँले  व्यक्त गर्नुभयो । कार्यक्रममा KOICA Nepal का प्रतिनिधि Gibum Kim ले आगामी दिनमा पनि नेपाल प्रहरी श्रीमती संघसँग समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी कोषाध्यक्ष कल्पना गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, KOICA Nepal का पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०४-०९

काठमाडौं, खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६७ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।२०८० कात्तिक ३ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र  खुलातर्फ २९ जना गरी कुल ९६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् । जसमा ९ जना महिला रहेका   छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ साउन ३ गतेको निर्णयले साउन ९ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ढकालले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आम नागरिकको केन्द्र विन्दुमा रहेर कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो । आगामी दिनमा निष्ठावान्, इमानदार र जवाफदेही भई अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू एवम् प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८१-०४-०६

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कार्कीले गत आर्थिक वर्षको २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धीहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्याको साथै उपत्यका प्रहरी कार्यालय र ७ वटै प्रदेशमा कार्यरत जनशक्ति बारे जानकारी दिनुभयो । प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भैतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरू बारेमा संख्यागत विवरण प्रस्तुत गर्नुभयो । यसैगरी उक्त अवधिमा भएका नयाँ नियुक्तिको लागि सिफारिस, छनौटको क्रममा रहेका पदहरू, नयाँ नियुक्ति/ पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कारको साथै स्वदेश तथा वैदेशिक प्रशिक्षण र प्रहरी कल्याण कोष बारेमा तथ्याङ्क सहितको विवरण प्रस्तुत गर्नुभयो । एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै प्रदेशगत मुद्दा दर्ता, तुलनात्मक अपराध तथ्याङ्क, मुख्य अपराधहरू, फैसला कार्यान्वयन र बालबालिका खोजतलास सन्बन्धी तथ्याङ्क समेत उहाँले विश्‍लेषण गर्नुभयो । सो अवधिमा भएका गम्भीर प्रकृतिका अपराध घटनाहरूको सफल अनुसन्धान, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता, सूचना प्रवाह र प्रहरी सेवा, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, राजस्वमा योगदान, प्रहरी कार्यमा प्रविधिको प्रयोग, नेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाको लक्ष्यगत कार्य प्रगति विवरण, हासिल गरेका मुख्य उपलब्धीहरू बारेमा प्रष्ट पार्नुभयो । साथै उहाँले अपराध नियन्त्रण र अनुसन्धान, भौतिक पूर्वाधार क्षमता अभिवृद्धि र स्रोत व्यवस्थापन योजना, सूचना प्रविधि र सञ्चार, कार्य र स्वास्थ्य सेवातर्फ नेपाल प्रहरीको भावी योजना सम्बन्धी उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । प्रहरी नायव महानिरीक्षक कार्कीले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै आर्थिक अपराधको कारणले अन्य समग्र अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको बताउनुभयो । परम्परागत अपराध तथा आर्थिक अपराधको नियन्त्रण एवम् अनुसन्धान गरी कानूनी दायरामा ल्याउन नेपाल प्रहरी संवेदनशील रहेको उहाँले बताउनुभयो । लागूऔषध नियन्त्रण एवम् रोकथाममा नेपाल प्रहरीले थप सक्रिय भई कार्य गर्दै आइरहेको उल्लेख गर्दै समुदाय-प्रहरी साझेदारी मार्फत विभिन्न चेतना मुलक कार्यक्रम संचालन गरी सामाजिक अपराध न्यूनीकरण गर्न थप क्रियाशिल हुने उहाँले बताउनुभयो ।   सो अवसरमा नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तले आत्महत्या न्यूनीकरण तथा  व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन तथा कार्ययोजना २०८१ सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो क्रममा उहाँले विगत ५ आर्थिक वर्षको अपराध शीर्षक अनुसारको तुलनात्मक कसुर दर्ता विवरण, आत्महत्याको घटना, घर परिवार, नाता सम्बन्ध, इष्टमित्र भित्र आत्महत्या तथा आत्महत्या प्रयासको घटनाको अवस्था, आत्महत्याको प्रयास गरेका व्यक्तिहरूलाई समुदायको व्यवहारको अवस्था, आत्महत्याका कारण सबैभन्दा बढी असर परेको समूह तथा वर्ग लगायतका विषयमा जानकारी दिनुभएको थियो । विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८१-०४-०६

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५२औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार २२ जना र प्रहरी जवान ३८ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । 

नेपाल पूर्व प्रहरी कलाकार संघको विधिवत् उद्‌घाटन
२०८१-०४-०६

काठमाडौं, अवकाश प्राप्त प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार आयोजित कार्यक्रम बिच नेपाल पूर्व प्रहरी कलाकार संघको विधिवत् उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा कलाकार मिथिला शर्मा बोहराद्वारा स्थापित २०८१ को गोपाल योञ्जन सङ्गीत साधना पुरस्कार प्रसिद्ध संगीतकार शिला बहादुर मोक्तानलाई, चेतन कार्की गीति वाङ्‍मय पुरस्कार प्रसिद्ध गीतकार श्रीपुरूष ढकाललाई, हाडा एन्ड पाल हास्य वाङ्‍मय पुरस्कार प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरियो ।   उक्त संघका अध्यक्ष राम बहादुर थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघकी वरिष्ठ सल्लाहकार मिथिला शर्मा बोहराले स्रष्टा सम्मान कार्यक्रमको बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै उक्त संघका संस्थापक संरक्षक क्षेत्र बहादुर गुरूङले स्वागत मन्तव्य व्यक्त तथा कोषाध्यक्ष गीता गुरूङले संघको उद्देश्य बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी अधिकृतहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, नेपाली संगीत, साहित्य तथा वाङ्‍मय विधामा उल्लेखनीय योगदान पुर्‍याउनु भएका महानुभावहरूको उपस्थिति रहेको थियो । 

वैवाहिक जीवनमा भावनात्मक सम्बन्ध विषयक कार्यशाला गोष्ठी सम्पन्न
२०८१-०४-०४

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा सिप्रदी टाटा मोटर्स प्रालिको सहकार्यमा ‘वैवाहिक जीवनमा भावनात्मक सम्बन्ध’ विषयक एक दिवसीय कार्यशाला गोष्ठी नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा शुक्रबार सम्पन्न भएको  छ । गोष्ठीमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले नेपाल प्रहरी कर्मचारीका परिवार (श्रीमती) हरूलाई वैवाहिक जीवनमा भावनात्मक सम्बन्ध विषयमा जानकारी हासिल गर्न र पारिवारिक जीवनमा आईपर्ने विविध चुनौतीहरूलाई सकारात्मक भावले सुमधुर रूपमा समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गराउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताउनुभयो । आफ्नो ब्यक्तिगत, पारिवारिक तथा वैवाहिक जीवनमा सकारात्मक प्रभाव पर्ने गरी शारीरिक र मानसिक समस्या एवम् चुनौतिहरूको समाधान गरी सफल, खुसी र सुखी वैवाहिक जीवन यापन गर्न गोष्ठीले टेवा पुर्‍याउने अपेक्षा लिएको उहाँले बताउनुभयो ।नेपाल प्रहरी श्रीमती संघकी उपाध्यक्ष श्रीमती विन्दु अधिकारी ढकालले स्वगत मन्तव्य व्यक्त गर्नुको साथै गोष्ठी सम्बन्धी जानकारी दिनुभएको उक्त अवसरमा प्रशिक्षक किशु झाले सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, सिप्रदी टाटा मोटर्स प्रालि थापाथली काठमाडौंका दिपेश पौडेल लगायतको उपस्थिति रहेको थियो ।