उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी राष्ट्र हितमा काम गर्न सक्रिय हुनुपर्ने - प्रहरी महानिरीक्षक कुँवर
२०८०-१२-१९
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले राष्ट्र र संगठनको हितको लागि इमानदार र निष्ठावान रहँदै उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरले विगतको तुलनामा राजस्व संकलन लक्ष्यभन्दा माथि रहेको उल्लेख गर्दै अबका दिनमा समेत फरार प्रतिवादी पक्राउ गर्न, राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व संकलन वृद्धिका लागि प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन आवश्यक रहेको बताउनुभयो । संगठनको कार्यसम्पादन गुणस्तर बढाउन र लक्ष्य प्राप्त गर्न विशुद्ध रूपमा निष्ठापूर्वक काम गर्न उहाँले निर्देशन दिनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले संगठनको प्राथमिकताबारे सबैलाई जानकारी भएको चर्चा गर्दै सोही अनुरूप आन्तरिक शुद्धिकरण, स्थायित्व र सुशासनका सन्दर्भमा आफू रूपान्तरण हुने र सकारात्मक उत्प्रेरणाका साथ नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रत्येक प्रहरी कार्यालयहरूको काम र गतिविधिको संगठनले समीक्षा गरिरहेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरूले आफ्नो संयन्त्र राष्ट्र हितमा प्रयोग गर्दै माटोको पहिचान गरी संगठन र राष्ट्रको लक्ष्य हासिल गर्न राष्ट्र सेवकको रूपमा सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।