प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेतको उच्च पदस्थ अधिकारीहरूको टोलीद्वारा अनुगमन

२०८१-०१-०६

  • A
  • A-
  • A+
Share

इलाम, निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेतको उच्च पदस्थ अधिकारीहरूको टोलीले आसन्न प्रतिनिधिसभा सदस्य उप-निर्वाचन इलाम क्षेत्र नम्बर २ को बिहीबार अनुगमन गरेको छ । 

उप-निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको ताजा अवस्थाका सम्बन्धमा जानकारी लिने क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृह सचिव एक नारायण अर्याल, रक्षा सचिव किरण राज शर्मा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, नेपाली सेना युद्ध कार्य महानिर्देशनालय उपरथी प्रेमध्वज अधिकारी र प्रमुख सेनानी मणिराम थापा समेतको टोलीले अनुगमन गरेको हो । 

उच्च पदस्थ अधिकारीहरूको उक्त टोलीले जिल्ला प्रशासन कार्यालय इलाम पुगेर जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, निर्वाचन व्यवस्थापनको तयारी, दल तथा उम्मेदवारहरूको चुनावी कार्यक्रम र जिल्लाको वस्तुस्थिति बारेमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा अन्तरक्रिया समेत गरेको थियो । 

उक्त अवसरमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृह सचिव एक नारायण अर्याल समेतबाट निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न गराउन, सम्पूर्ण दलहरूको इलाम केन्द्रीत गतिविधिका कारण उत्पन्न हुने सम्भावित सुरक्षा चुनौतीलाई रोक्न निरन्तर समन्वय, सहकार्य गरी उपनिर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन समेत भएको थियो ।

सम्बन्धित समाचार
गृहमन्त्री रमेश लेखकद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
२०८१-०४-०२

काठमाडौं, गृहमन्त्री रमेश लेखकले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री लेखकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले कानूनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवम् नियन्त्रण गरी मुलुक वा समाजलाई न्याय दिने र सशस्त्र द्वन्द्वको क्रममा जीवनको पर्वाह नगरी निर्भिकतापूर्वक आफ्नो कर्तव्य पालना गर्ने सवालमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गरेको चर्चा गर्नुभयो । गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको उल्लेख गर्दै सीमित साधन स्रोतका वावजूद पनि शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपद्को समयमा उद्दार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । लोकतन्त्रको आधारभूत मान्यता विधिको शासनलाई लागू गर्नु नेपाल प्रहरीको पहिलो काम रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, ‘तपाईहरूले गर्नुभएको काम जनताले अनुभूति गर्ने विषयसँग जोडिन्छ । त्यसतर्फ यथेष्ट ध्यान रहनेछ भन्ने आग्रह गर्न चाहन्छु । निष्पक्षता, पारदर्शिता र व्यावसायिकतामा कुनै हालतले कमि हुनु भएन र यससँग सम्झौता हुन सक्दैन ।’ प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउँदै उहाँले यसका लागि जे जति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले मानिसलाई कुनै पनि विपद् वा समस्या परेको बेला सबै भन्दा पहिला प्रहरीकोमा पुग्ने चर्चा गर्दै  पीडामा भएका व्यक्तिहरूको समस्या सम्बोधनका लागि प्रहरी थप सक्रिय हुन निर्देशन दिनुभयो । प्रहरी संगठनलाई थप व्यवस्थित, क्रियाशील र सुदृढ बनाउनका लागि प्रहरीसँग सम्बन्धित ऐनको समसामयिक संशोधन र परिमार्जनलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनुभयो ।  सो अवसरमा गृहसचिव एकनारायण अर्यालले प्रहरीले सीमित स्रोत र साधनका वावजूद अपराध नियन्त्रण, अनुसन्धान तथा विभिन्न प्राकृतिक प्रकोपका घटनाहरूमा अग्रपंक्तिमा रही निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रहरीले कर्तव्य पालनाको सिलसिलामा भोग्नुपरेका समस्याहरूको समाधानका लागि सरोकारवाला मन्त्रालयहरूसँग समन्वय गरिरहेको र प्रहरी ऐनमा समेत समयसापेक्ष परिमार्जन गर्न मन्त्रालय कटिवद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको बताउँदै गृहसचिव अर्यालले भन्नुभयो, ‘प्रहरी भनेको राज्य हो, राज्यले भेदभाव गर्न पाइँदैन । प्रहरीले स्वतन्त्र हिसाबले काम गरे मात्र संगठन अझ मजबुत हुन्छ ।’ प्रहरीको सक्रियताले अपराध नियन्त्रण तथा अनुसन्धान थप प्रभावकारी र राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको चर्चा गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रविधिको प्रयोग गरी उच्च मनोबलका साथ व्यावसायिक ढंगले कार्यसम्पादन गर्न निर्देशन समेत दिनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्रीज्यू एवम् गृहसचिबज्यूबाट व्यक्त भएको सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि संगठन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराधको नियन्त्रण तथा अनुसन्धान र जनधनको सुरक्षा गर्ने मूलभूत दायित्व वहन गर्ने जिम्मेवारीलाई विषम परिस्थितिहरूमा समेत संगठनका सदस्यहरूले सफलतापूर्वक निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । आगामी दिनहरूमा उत्पन्न हुन सक्ने चुनौतिपूर्ण र असहज परिस्थितिहरूको सामना गर्न र आम नागरिकलाई शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नविनतम चुनौतिका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानवबेचबिखन, साइबर एवं विद्युतीय कसूर, अवैध हातहतियार ओसारपसार, बहुमूल्य सामग्रीहरूको ओसारपसार, आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिवद्ध रहेको बताउनुभयो । अपराधका नयाँ प्रवृत्तिहरूको पहिचान गर्दै तिनलाई निस्तेज गर्न नेपाल प्रहरीले आफ्नो क्षमता विस्तारका साथै अन्तर्राष्ट्रिय प्रहरी निकायहरू सँगको समन्वयलाई पनि प्राथमिकतामा राखेर कार्य गर्दै आएको उहाँले बताउनुभयो ।निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लेखक समक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धि, भावी योजना, चुनौति, अपेक्षा र प्रहरी समायोजन लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम सम्पन्न
२०८१-०३-१२

काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम २६ जुन २०२४ नेपाली सेनाको मुख्यालय जंगी अड्डाको रिपुमर्दिनी सभामण्डपमा बुधबार सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा गृहमन्त्री लामिछाने, गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयका पदाधिकारीहरू, सुरक्षा निकायका अधिकारीहरू, स्काउट, विभिन्न क्याम्पस तथा विद्यालयका विद्यार्थीहरू एवम् सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न चेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली भृकुटीमण्डप, भद्रकाली हुँदै उक्त सभामण्डपमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले गृह मन्त्रालयद्वारा प्रकाशित ‘सुरक्षित जीवन’ नामक जर्नल २१औँ संस्करणको लोकार्पण गर्नुभयो । उहाँले दिवसलाई सफल पार्न सहयोग गर्ने नेपाली सेना, नेपाल प्रहरी संगीत विद्यालय, सशस्त्र प्रहरी बल सांगितिक बाद्यबाधन गुल्म, नेपाल स्काउट, प्याब्सन लगायतका विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गर्नुको साथै  आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट हुन सफल नयाँ जीवन पुनर्स्थापना केन्द्र बागलुङ र सियान रिह्‍याबिलेशन हेटौंडालाई प्रमाणपत्र प्रदान गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछानेले लागूऔषध प्रयोग तथा बेचबिखन आजको समाजको प्रमुख समस्या रहेको उल्लेख गर्दै यसको समाधानमा सरोकारवाला चार वटै मन्त्रालय एकै ठाउँमा उभिएर देशको युवा बचाउन लागि पर्ने बताउनुभयो । उहाँले सीमित स्रोतका बावजुद धेरै जिम्मेवारी बोकेको प्रहरीलाई कर्तब्यनिष्ठ भएर लागूऔषध कारोबारीलाई कानूनको दायरामा ल्याउन निर्देशन दिनुभयो । दुर्व्यसनीलाई समाजमा पुनर्स्थापित गराउन सबैले मदत गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।  उक्त अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले आ-आफ्नो विचार व्यक्त गर्दै लागूऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा आफू र आफ्नो मन्त्रालय कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।  उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका अध्यक्ष तथा गृह मन्त्रालयका निमित्त गृह सचिव झक्क प्रसाद आचार्यले देशको चिन्ताको रूपमा रहेको लागूऔषध नियन्त्रण र नियमनको मुख्य जिम्मेवारी बोकेको गृहमन्त्रालयले जिम्मेवारी निर्वाह गर्न गैरसरकारी संघसंस्था, नागरिक समाज लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी समाजको साझा उद्देश्य प्राप्ती र सुखी समाज निर्माणमा आफ्ना गतिविधिहरू निर्देशित र केन्द्रीकृत गर्ने बताउनुभयो । गृह मन्त्रालयका सह-सचिव ई. गोगन बहादुर हमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेसफाडा नेपाल, रिकभरिङ नेपाल, एफडिडिआरका प्रतिनिधिहरूले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘लागूऔषध दुरूपयोग विरुद्ध लडौं रोकथाममा जोड दिऔं’ भन्ने मूल नाराकासाथ सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले सङ्गीत प्रस्तुती गरेको थियो भने लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रदर्शनी गरिएको थियो । साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले लागूऔषध सम्बन्धी सचेतनामूलक कार्यक्रम तथा नृत्य प्रस्तुती गरेका थिए ।   गृह मन्त्रालयका निमित्त गृह सचिव झक्क प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, निमित्त सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाज, संचारकर्मीहरू, विद्यार्थी, अभिभावक एवम् आमन्त्रित महानुभावहरूको समेत उपस्थिति रहेको थियो ।  

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा योग विज्ञान शिविर कार्यक्रम सम्पन्न
२०८१-०३-०५

काठमाडौं, दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।   कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम्   व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताउनुभयो । स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबै भन्दा महत्वपूर्ण हुने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौं हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौं, हाम्रो एकाग्रता, सोंच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजको लागि महत्वपूर्ण हुन्छ । स्वस्थ मानिसकताका साथ आगाडि बढ्न सक्यौं भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।’ गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने चर्चा गर्दै त्यसका लागि शरीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको बताउनुभयो । संगठनको प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण हुने बताउनुहुँदै कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने विचार उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्वपुर्ण हुने उल्लेख गर्नुभयो । देश र जनाताको सेवामा दिन रात खटिने नेपाल प्रहरीका सदस्यहरूलाई व्यस्त, चुनौतिपूर्ण र कठिन जीवनशैलीमा योग अभ्यासले शारीरिक र मानसिक रूपले थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्‍याई सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने विचार उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिबृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको विश्वास व्यक्त गर्नुभयो । एकै दिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उहाँले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले निश्चित आसन, विधि र पद्धतिको अवलम्बनद्वारा गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोंचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्नुका साथै स्वअनुशासन र आध्यात्मिक अनुशासनतर्फ डोर्‍याउन समेत मद्दत पुग्ने बताउनुभयो । मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गरी शारीरिक, मानसिक र आध्यात्मिक अनुभूतिलाई सन्तुलनमा राखी मानव जीवनलाई शान्त, रचानात्मक र उत्पादनमूलक बनाउन योग प्रभावकारी सिद्ध भएको र यसले समाजमा अपराधका घटनाहरू समेत न्यूनिकरण हुने अपेक्षा लिएको उहाँले बताउनुभयो । शान्त, धैर्यवान भई विवेकपूर्ण निर्णय गर्नुपर्ने प्रहरी अधिकृत तथा जवानहरूको मन एवम् मस्तिष्क स्थिर हुन जरूरी रहेको उल्लेख गर्दै उहाँले नेपाल प्रहरीमा नियमित योगसँग अभ्यस्त गराउने उद्देश्यका साथ तालिम प्रदायक निकायहरूमा संचालित तालिम कार्यक्रममा योगलाई अनिवार्य समावेश गराउँदै आएको बताउनुभयो ।  सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्र, पतंजली युवा नेपाल समितिका केन्द्रीय संयोजक लोकनाथ खनाल र महिला पतंजली योग समिति नेपालका सह केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । साथै सोही अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले योग शिक्षाका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो ।   कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।

ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउनुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने
२०८१-०३-०१

काठमाडौं, ३२ जेठ उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले उक्त कार्यालयमा रहेको सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै सो सम्बन्धी काम र अवस्थाकाबारे जानकारी समेत लिनुभयो । निरीक्षण पश्‍चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका वावजूद ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको र ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिवद्ध रहेको बताउनुभयो । युनिफर्म लगाएको प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो कामप्रति जवाफदेही हुनुपर्ने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘युनिफर्म लगाएको प्रहरीलाई देखेर नागरिकलाई लागोस् कि यो मेरो मान्छे हो । यसको लागि प्रत्येक प्रहरी कर्मचारीले नागरिकसँग गर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ ।’ ट्राफिक प्रहरीले प्रचलित कानून कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै  गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘ट्राफिक नियम मिच्नेलाई छुट दिन हुँदैन, एउटाले नियम मिच्दा अर्काको ज्यान जान सक्छ, त्यसैले चेकिङलाई अझ प्रभावकारी बनाई लापसे, मापसे र लेन अनुशासनमा कसैलाई छुट नदिनुहोस् ।’ फरक क्षमता भएका व्यक्तिहरू, वृद्धवृद्धा एवम् बालबालिकालाई विशेष ध्यान दिएर ट्राफिक प्रहरीले उत्कृष्ट रूपमा कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रतिकूल अवस्थाका वावजूद सडकमा खटिँदा ट्राफिक प्रहरीले भोग्नुपरेका शारीरिक र मानसिक समस्या सम्बोधनको लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले ट्राफिकले भोग्नुपरेको समास्या निराकरणको लागि मन्त्रालय सदैव कटिवद्ध रहेको बताउँदै ट्राफिक प्रहरीले सडकमा खटिँदा घाम पानी नभनि विभिन्न समस्या झेल्दै कार्य गर्दै आइरहेकोमा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनमा थप सहजता ल्याउन सकिने बताउनुभयो । ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगले दुर्घटना न्यूनिकरण र मानवीय क्षति कम गर्न सहयोग पुग्ने हुँदा ट्राफिक प्रहरीलाई प्राविधिक रूपमा सुसम्पन्न गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । ट्राफिक व्यवस्थापनमा सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी सेवा प्रवाह गर्न उहाँले निर्देशन दिनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको काम कारबाही, जनशक्ति परिचालन, ट्राफिक व्यवस्थापनका लागि चालिएका कदमहरू, दुर्घटनाको अवस्था, दुर्घटना न्यूनिकरणको लागि चालिएका कदमहरू, सेवा प्रवाहका क्रममा भोग्नुपरेका समस्याहरू र सुधार गर्नुपर्ने पक्षहरूको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, गृहमन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायण प्रसाद भट्टराई, वरिष्ठ प्रहरी अधिकृतहरू, उपत्यकास्थित ट्राफिक प्रहरी युनिटका कार्यालय प्रमुखहरू लगायत प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो । 

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ सम्पन्न
२०८१-०२-२८

मोरङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच दुई दिवसीय  कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी,२०८१ मोरङको विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा उक्त गोष्ठी आइतबारबाट शुरू भएको थियो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम गर्नको लागि गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छलि, राजस्व चुहावट जस्ता गतिविधि नियन्त्रण गर्न सबै जिम्मवार निकायहरूले आ-आफ्नो स्थानबाट सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वर्दी लगाएको प्रहरी जहाँ उभिन्छ त्यहाँ सरकारको प्रतिनिधित्व भइरहेको हुने चर्चा गर्दै उहाँले नागरिकलाई समस्या परेको बेला सबै भन्दा पहिला प्रहरी समक्ष पुग्ने र उनीहरूको गुनासो सुनुवाई प्रहरीले गर्नुपर्ने बताउनुभयो । लागू पदार्थ दुर्व्यसन तथा कारोबार नियन्त्रणमा विशेष अभियान, सचेतानमूलक कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।सो अवसरमा गृह सचिव एकनारायण अर्यालले गोष्ठीमा भएको प्रस्तुतीकरण एवम् छलफलले एक आपसमा भएका असल अभ्यासको आदान प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह भएको उल्लेख गर्नुभयो । प्रदेशमा देखिएका सुरक्षा चुनौतिको निराकरण र समाधान गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले  आफ्नो अधिकारको प्रयोग गर्न कुनै बाधा व्यावधान नपर्ने उहाँले बताउनुभयो । मानब बेचबिखन, लागूऔषध ओसारपसार जस्ता गतिविधि नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले मन, वचन र कर्मले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्र सेवक कर्मचारीले सेवाग्राहीको समस्या, गुनासोलाई सुनुवाई गरी समयमै सामाधान गर्न समेत उहाँले निर्देशन दिनुभयो ।  उक्त अवसरमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारी र कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुत बनाई व्यावसायिक तथा सक्षम प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले कानूनी राज्यको सुनिश्‍चितता गर्न प्रहरी सेवा अपरिहार्य रहेको चर्चा गर्दै विद्यमान कानूनी क्षेत्रहरूमा समयानुकूल परिमार्जन गर्दै लैजान र प्रहरीलाई कानूनी अधिकारहरूले सुसज्जित गर्न समय सान्दर्भिक रहने बताउनुभयो । विधिको शासनलाई अझ सशक्त बनाउने, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउने, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्‍चित गर्ने एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्दै समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । सो अवसरमा नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल क्षेत्री, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सह-सचिवहरू नारायण प्रसाद भट्टराई, डा. भीष्म कुमार भूसाल र थानेश्‍वर गौतम तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतिकरण गर्नुभएको थियो । साथै कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, कोशी प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न
२०८१-०२-२७

मोरङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबीच राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी-२०८१ मोरङको विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री लामिछानेले राजस्व वृद्धि भएमा राज्य बलियो हुने उल्लेख गर्दै राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणका लागि सवै सरोकारवाला निकायले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । राजस्व चुहावट लगायतका समस्या समाधान गर्न संयुक्त रूपमा अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र राजस्व सचिव डा. राम प्रसाद घिमिरेले गोष्ठीको महत्वबारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्दै सीमा नाकामा आधूनिक प्रविधिको प्रयोगलाई प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो । गोष्ठीमा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।  उक्त अवसरमा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख र कोशी प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्नो कार्यालयको तर्फबाट प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेश केन्द्रित राजस्व अभिवृद्धि तथा चुहावट सम्बन्धी छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।गृह सचिव एकनारायण अर्यालको अध्यक्षता आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कोशी प्रदेश अन्तर्गतका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरू, भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरू एवम् पदाधिकारीहरूको सहभागिता रहेको थियो ।